जातीय हिंसामा फस्दै अमेरिका

एजेन्सी / काठमाडौं : गोरा जातिवादी आरोप लागेका अमेरिकी जग्गा कारोबारी डोनाल्ड ट्रम्प विजय भएपछि अमेरिकामा जातिवादीहरू झन् उत्साहित भएका छन् । भर्जिनिया राज्यस्थित सार्लोद्सभिलमा अघिल्लो शनिबार नाजी विचारबाट दीक्षित ‘गोरो प्राधिकार समूह’ ले गरेको प्रदर्शनको क्रममा एक जना महिलासहित ३ जनाको मृत्यु भएको थियो । अमेरिकामा युरोपबाट गराएका गोराजाति, अमेरिकी आदिबासी (रेड इन्डियन) र अफ्रिकी मूलका कालाजाति मुख्य तीन समुदाय बस्छन् । अमेरिकामा सानो संख्यामा रहेका यहुदी समुदायको पनि ठूलो आर्थिक–राजनीतिक बर्चस्व छ । संसारभरिका सबैजसो जातिहरू अमेरिकामा बसोबास गर्छन् ।

अमेरिकी संविधानले सबै नागरिकप्रति समान दृष्टिले हेर्दछ तर युरोपबाट गएका आप्रबासी गोराहरूको अमेरिकामा चौतर्फी बर्चस्व छ र उनीहरूले अन्य समुदायमाथि उत्पीडन गर्दै आएका छन् । ट्रम्पको उदयसँगै गोरो ‘सुप्रीमेसी’ उत्साहित भएको देखिन्छ । अघिल्लो शनिबार भएको हिंसालगत्तै गएको शनिबार अमेरिकाको अर्को सहर बोस्टनमा ‘गोरो प्राधिकार समूह’ ले सानो स्तरको प्रदर्शन गरे । सहरमा हिंसा भड्कने त्रासले प्रहरीले उनीहरूलाई छिटो– छिटो कार्यक्रम सकेर अन्यत्र जान दबाब दियो । त्यसलगत्तै जातिवाद विरोधी समूहले बोस्टनमा ठूलो प्रदर्शन गरे ।

प्रदर्शनमा ३० हजार नागरिकले भाग लिएको बोस्टन हेराल्ड अखबारको दावी छ । जातिवादीहरूलाई प्रश्रय दिएको भन्दै प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । प्रहरीले २० जनालाई पक्राउ ग¥यो । भर्जिनिया राज्यस्थित सार्लोद्भिल सहरबाट गृहयुद्धकालका सैनिक जनरल रोबर्ट इलीको सालिक हटाउने निर्णयसँगै गोरा जातिवादीहरू आक्रोशित भएका हुन् । रोबर्ट इली अमेरिकामा दासप्रथा उन्मूलन गर्दा त्यसविरुद्ध रहेका, गोराहरूको हितका लागि दासप्रथा आवश्यक रहेको पक्षमा उभिएका थिए । एकथरी गोराहरूले रोबर्टलाई आदर्श ठान्छन् । उनलाई सामन्तवादका कट्टर समर्थक मानिन्छ । जातिवाद विरोधी अमेरिकीहरूले रोबर्ट इलीलाई जातीय विद्वेषका प्रेरक ठान्छन् ।

२०७४ भदौ ९ गते ८ :०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :