![](https://eratokhabar.com/wp-content/uploads/2017/05/1.-Sandesh-Poudel.jpg)
केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज
“इमानदार र बहादुर छोराछोरीहरू आमाको गर्भबाट होइन, वर्गसङ्घर्षको भट्टीबाट जन्मिन्छन् ।” – क.माओ
संक्षिप्त जीवनी
सहिद रामवृक्षको वास्तविक जीवन वर्गसङ्घर्षबाटै सुरु भयो र सहादत पनि वर्गसङ्घर्षको बीचबाटै भयो । रामलखन यादव र सम्पत्तिदेवी यादवको कोखबाट २००३ सालमा कमरेड रामवृक्ष यादवको जन्म भएको हो । मध्यम वर्गीय किसान परिवारमा जन्मिएर पनि उहाँले निकै अभाव र कष्टकर जीवन बिताउनुभयो । सामाजिक तथा राजनीतिक कार्यमा आफ्नो पैतृक सम्पत्ति बेच्दै जाँदा गरिब किसान वर्गमा बदलिनुभयो । तराई मधेसमा हुने सामन्ती उत्पीडन र त्यसको प्रभावविरुद्ध किशोर अवस्थादेखि नै उहाँमा घृणा देखिन्थ्यो । क्रान्तिकारी राजनीतिक जीवनमा प्रवेश गर्नुअघि २०२५ सालमा बर्मझियाकै प्राविमा प्राधानाध्यापक भई शिक्षण पेसामा रहनुभयो । त्यतिबेला उहाँ हिन्दूवादी चिन्तनमा आधारित किर्तन मण्डली (सांस्कृतिक टोली) मा क्रियाशील हुनुभयो । पछि त्यही टोलीलाई संगठनको आधार बनाउँदै सामन्ती जमिनदार विरोधी गीत–संगीतको थलो बनाउनुभयो । २०२९ सालमा क्रान्तिकारी योद्धा कमरेड ऋषि देवकोटा (आजाद) सँग सम्पर्क भयो । त्यसपछि उहाँ निरन्तर क्रान्तिकारी पार्टी र आन्दोलनमा क्रियाशील हुनुभयो ।
२०३० सालतिर धनुषा र तराई–मधेसमै पनि सामन्तहरूले कम ज्याला दिएर किसानलाई दिनभरि काम लगाउँथे । किसान झण्डै अर्धदास अवस्थामा थिए । त्यसका विरुद्धमा बनी आन्दोलन (ज्यालादारी आन्दोलन) संचालन गरी सफल पार्नुभयो । त्यस आन्दोलनको अगुवाई गरेको आरोपमा तत्कालीन पञ्चायती सरकारले उहाँलाई जनकपुरबाट पक्राउ गरेर ६ महिनासम्म जलेश्वर जेलमा बन्दी बनायो । त्यहाँबाट छुटे पनि २०३० सालमा तत्कालीन नेकपा (चौम) बाट उहाँले पार्टीको सदस्यता लिनुभयो । २०३४ सालमा शिक्षक पेसामा नै रहेको बेला कमलानदी छेउको बाह्र विघा ऐलानी जमिन सुकुमबासीहरूलाई बितरण गर्नुभयो । त्यही निहुँमा उहाँलाई पुनः गिरफ्तार गरी जेल हालियो । २०३५ सालमा शिक्षण पेसाछोडी पूर्णकालीन कार्यकर्ताको रूपमा क्रियाशील हुनुभयो ।
त्यसपछिका दिनहरूमा पनि सामन्त जमिनदार र पुलिस प्रशासनले उहाँलाई झनै दुःख दिन थाल्यो । राजनीतिक आस्थाकै आधारमा उहाँलाई २०३५ साल पौष १ देखि २०३७ वैशाख ५ सम्म जेलमा राखियो । जनमत संग्रहको बेला मतदानको समयमा उहाँलाई गिरफ्तार गरी दुई दिनसम्म बेपत्ता पारियो । त्यति मात्र होइन, तत्कालीन पञ्चायतका दलाल हेमबहादुर मल्लका लठयतहरूले उहाँको घरमा गई बहुदललाई सहयोग गरेको आधारमा परिवारहरूलाई कुटपिट गरी बीसौं हजारको सम्पत्ति लुटपाट गरे । २०४२ सालमा धनुषा जिल्लाको बर्मझियामा विष सेवन गरी एक जनाको ज्यान गयो । त्यसलाई हत्या गरिएको झुटो आरोप खडा गरी तत्कालीन प्रधानपञ्चका लठैतहरूले उहाँलाई समाती यातना दिए । खुट्टा भाँचिदिए र दुई दिनसम्म प्रधानपञ्चको घरमा थुनेर राखेपछि जनकपुरमा उपचार गराउनेक्रममा उहाँ भाग्न सफल हुनुभयो र भारतमा उपचार गराउनुभयो । त्यसपछिका दिनहरूमा भने उहाँ भूमिगत रूपमा राजनीतिमा क्रियाशील रहनुभयो ।
२०४२ सालको पार्टी विभाजनपछि उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मशाल) मा क्रियाशील हुनुभयो । २०४५ सालको किसान आन्दोलनमा उहाँले सक्रियतापूर्वक नेतृत्व गर्नुभयो । त्यही निहुँमा २०४६ जेठ ६ मा उहाँलाई गिरफ्तार गरी जेल हालियो । जेलभित्र र बाहिर दुबै ठाउँमा उहाँको रिहाइको चर्को आवाज उठिरहँदा पनि उहाँलाई अन्तत २०४९ सालमा मात्रै रिहाइ गरियो । जेलमुक्त भएपछि उहाँले पटेरवाको करिब अढाईसय विघा जमिन किसानहरूलाई बितरण गर्नुभयो । २०५१ भदौ १ गतेको नेपालबन्द कार्यक्रम सफल पारी भोलिपल्ट भदौ २ मा आफ्नो गाउँमा फर्किंदै गर्दा सिभिल डे«सका पुलिस र नेपाली कांग्रेसको केन्द्रीय योजना मुताबिक लठैतहरू लगाई बर्मझियामा नै उहाँको अमानवीय ढंगले हत्या गरियो । त्यसबेला उहाँ नेकपा (माओवादी) को केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
वर्ग र क्रान्तिप्रति निःस्वार्थ : निष्ठा
क. रामवृक्ष यादवका धेरै गुणहरू थिए । मृदुभाषी सरल, शालीन र मिलनसार व्यक्तित्वको धनी हुनुहुन्थ्यो । तथापि उहाँको सबैभन्दा ठूलो र महत्वपूर्ण गुण निःशर्तः वर्ग र क्रान्तिप्रतिको निष्ठा थियो । आज पनि उहाँका सपना साकार पार्न हामी सक्रियतापूर्वक लागिरहेका छौं तैपनि उहाँमा देखिने निःस्वाथर्ः र निःशर्तता सिंगो पार्टीमा र तराई–मधेसमा पनि निकै कमजोर छ । क्रान्तिकारी कम र क्रान्तिप्रेमी बढी हुने । पार्टीमा लाग्ने तर दुःख कष्ट बेहोर्न नपरोस् भन्ने ठान्ने । छोराछोरी राजनीतिमा नजाऊन्, पढाइ नछुटोस्, सम्पत्ति नघटोस्, बन्द–व्यापार चलिराखोस्, पुराना सम्बन्ध नभत्कियोस्, त्याग–तपस्या र बलिदान अरुले गरून् आफू नेता भइराख्नुपाईयोस् जस्ता चिन्तनहरू हावी छन् तर रामवृक्षमा त्यसप्रकारको व्यवहार र चिन्तन दुवै थिएन । त्यसबेलाका उहाँका साथीहरूका अनुसार उहाँ पार्टी र सङ्घर्षको निम्ति आफ्नो सम्पत्ति बेच्दै जाने, परिवार सबैलाई पार्टीकरण गर्दै लैजाने, वर्गसत्रुसँग नझुक्ने, वर्गप्रति गहिरो निष्ठा, भाव र समग्ररूपमा सर्वहारावर्गकरण गर्ने जस्ता कम्युनिस्ट गुणहरू उहाँमा थिए । त्यसको प्रभाव उहाँका परिवारमा प्रस्टसँग देखिन्थ्यो । जतिबेला उहाँको हत्या भएको थियो, त्यसबेला उहाँको घरमा एक गेडा अन्न पनि थिएन र सायद उहाँसित एक रूपैयाँ पनि थिएन, तैपनि उहाँ पार्टी, क्रान्ति र वर्गको लागि निरन्तर क्रियाशील रहनुभयो ।
परिवारको पार्टीकरण र सर्वहाराकरण
आज धेरै कम्युनिस्ट नेताहरूको परिवारमा पार्टी र आन्दोलनप्रति नराकात्मक प्रभाव विकास हुँदै गएको छ । नेता–कार्यकर्ताका परिवार पार्टी र क्रान्तिमा क्रियाशील नहुने भए पनि समर्थक मात्र हुने गरेका छन् । त्यति मात्र होइन, नेता कार्यकर्ता आफैँले आफ्नो परिवारलाई पार्टी र क्रान्तिमा योजनाबद्ध ढंगले नलिने, अझ कतिले त म लागेँ तर तिमीहरू नलाग भन्ने । घर वा डेरामा पार्टी नेता वा कार्यकर्ता नलाने, लगिहाले पनि परिवारका सदस्यहरूलाई नचिनाउने जस्ता काम गरेको देखिन्छ । कम्युनिस्ट आन्दोलनभित्र एउटा खतरनाक प्रकृतिको रूपमा प्रचण्ड स्कुलिङ विकास भएको छ । क्रान्ति र पार्टीेको नाममा व्यक्तिगत सम्पत्ति थुपार्ने आलिसान जीवन बिताउने जस्ता गैर–सर्वहारा र घृणित कार्यशैली विकास भइरहेको छ । पार्टी र क्रान्तिमा आफ्नो निजी सम्पत्तिबाट कुनै योगदान नगर्ने यतिसम्म कि एक दिन पार्टीकाममा हिँड्दा पनि पेट्रोल मागिहाल्ने र दुई–चार कल फोन गर्नुपरेपछि रिचार्जकार्ड मागिहाल्नुपर्ने मानसिकता निकै हावी देखिन्छ । अर्कोतिर पार्टीको स्रोत–साधन र अवसरका वितरणमा निकै असमानताहरू छन्; जसले गर्दा त्यसको नकरात्मक असर पार्टी र आन्दोलनमा पनि देखापरेको छ । यतिसम्म कि कैयाँै नेताहरूको वर्गोत्थानसमेत भएको छ ।
क. रामवृक्ष यादव भने विल्कुल फरक हुनुहुन्थ्यो । उहाँले सिंगो परिवारलाई पार्टी र क्रान्तिबारे बुझाउनुभयो । दाजुभाइ, छोराछोरी, श्रीमतीलाई पार्टीको काममा लगाउनुभयो । वर्गदुश्मनबारे बताउनुभयो । पार्टीप्रति विश्वास दिलाउनुभयो र क्रान्तिमा सँगसँगै होमिनुभयो । जसले गर्दा उहाँका परिवारका तीनजना सदस्यहरूले क्रान्तिमा बलिदान गरे । परिवारका सदस्यहरूको पार्टीप्रतिको विश्वास र बलिदानी भावनाले त्यो कुरा पूर्णरूपले प्रमाणित गरिसक्यो । आज पनि बाँचेका परिवारका सदस्यहरू कुनै न कुनै रूपमा आन्दोलन वरिपरि क्रियाशील छन् ।
क. रामवृक्ष आफू मध्यमवर्गीय किसान परिवारको हुनुहुन्थ्यो । उहाँले वर्गसंघर्ष र त्यसलाई संचालन गर्नेक्रममा आफ्नो पैतृक सम्पत्ति बेच्दै जानुभयो र गरिब किसानमा बदलिनुभयो । साथै, जागिर पनि छोड्नुभयो । साथी र पार्टीलाई आर्थिक सहयोग गर्न हिच्किचाउनुभएन । वास्तवमा उहाँ वर्गसङ्घर्षको भट्टीबाट खारिएको सर्वहाराकृत नेता हुनुहुन्थ्यो ।
अलराउन्डर नेता
क. रामवृक्ष यादव तराई मधेसको एक मात्र चौतर्फी प्रतिभाशाली नेता हुनुहुन्थ्यो । उहाँ वैचारिक राजनीतिक रूपले प्रस्ट हुनुहुन्थ्यो । जहिले पनि पार्टीभित्र र बाहिर सबैतिरका गैरसर्वहारा प्रवृत्तिविरुद्धको राजनीतिक वैचारिक सङ्घर्षमा क्रान्तिकारी धारमा दृढतापूर्वक उभिनुभयो । उहाँ भौतिक र मानसिक दुबै रूपले लडाकु हुनुहुन्थ्यो । उहाँ कुशल संगठक पनि हुनुहुन्थ्यो साथै, श्रमजीवी साहित्य र संगीतमा राम्रो दख्खल राख्नुहुन्थ्यो । “पेरुमे लाल झन्डा फहरारे” भन्ने उहाँको चर्चित गीतसँगै उहाँले मैथिली, हिन्दी र नेपालीमा गीत–संगीत रचना गर्ने र गाउने गर्नुहुन्थ्यो । उहाँका पचासवटा जति रचना प्रकाशित छन् भने त्यतिकै संख्यामा अप्रकाशित छन् । उहाँ जनसेवक र जनप्रिय हुनुहुन्थ्यो । गाउँ–समाज आफन्त सबैलाई उहाले सहयोग गर्नुहुन्थ्यो । वास्तवमा क. रामवृक्ष यादव जनताको आँखाको नानी हुनुभयो । समग्रमा उहाँ तराई–मधेस मात्रै होइन, फेरि पनि समग्र क्रान्तिको एक चौतर्फी प्रतिभाशाली नेता हुनुभयो ।
जनयुद्धको प्रेरणा
तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन एक गतेबाट महान् जनयुद्धको पहलकदमी लियो । जनयुद्ध एउटा समग्र युद्ध थियो र त्यो सचेतपूर्वक पार्टीले लिएको पहलकदमी थियो । जनयुद्धको तयारीमा पार्टी तीव्र गतिमा बढिरहेको बेला कमरेड रामवृक्ष यादवलाई हत्या गरियो । उहाँको सङ्घर्षमय जीवन र बलिदानीले पार्टीमा र आन्दोलनमा क्षति भयो तर त्यो शोकलाई पार्टी र क्रान्तिले शक्तिमा बदल्यो । अझ यसो भन्दा अन्यथा हुनेछैन क. रामवृक्षको समग्र क्रान्तिकारी जीवन, विशिष्ट प्रकारको योगदान, उहाँको उच्च प्रकृतिको बलिदानी साथै, जनता तथा कार्यकर्ताहरूको हृदयमा उहाँले पारेको सकारात्मक प्रभावले नै पार्टीले त्यो शोकलाई शक्तिमा बदल्न सम्भव भएको थियो । केन्द्रीय नेताको जनयुद्धको तयारीमा भएको बलिदानले समग्र जनयुद्धलाई अगाडि बढाउन ठूलो प्रेरणाको काम गर्यो ।
क. रामवृक्षको रगतमाथि गद्दारी
तत्कालीन माओवादीको केन्द्रीय सदस्य रहँदा २०५२ भदौ २ गते उहाँको बलिदानी भयो । उहाँको हत्या त्यतिबेलाको कांग्रेस पार्टीको केन्द्रीय योजना र निर्देशनमा स्थानीय प्रशासनसँग मिलेर गरिएको थियो । डा. बाबुरामले कांग्रेसका नेतासँग मात्र होइन, नीतिसँग नै आत्म–समर्पण गरे । खुलारूपले रामवृक्षका हत्यारासँग साँठगाँठ गर्न पुगे । प्रचण्डले रामवृक्षलाई मार्न लगाउने पार्टी र त्यसका हत्यारा नेतालाई प्रधानमन्त्री र मन्त्री बनाउन प्रस्ताव राखे । अहिले माओवादी केन्द्र जसले रामवृक्षको हत्यारालाई प्रधानमन्त्री बनायो जसले हत्यारालाई माला लगायो, स्वागत ग¥यो, अभिनन्दन ग¥यो, तिनैले आज रामवृक्ष यादवको स्मृति दिवस मनाउनु, इतिहासमा सर्वाधिक मजाकको विषय हो । क. रामवृक्ष राष्ट्रघातीहरूलाई घृणा गर्नुहुन्थ्यो र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिनुहुन्थ्यो । साथै साम्प्रदायिक भावनाको विरुद्ध हुनुहुन्थ्यो । भारतीय विस्तारवादविरुद्धको सङ्घर्ष र सामाजिक सद्भाव खलबल पार्नेका विरुद्ध कमरेड रामवृक्ष पार्टीभित्र र बाहिर पनि दृढतापूर्वक सङ्घर्ष गर्नुहुन्थ्यो तर आज भारतीय उत्तर–साम्राज्यवादको सामु आत्म–समर्पण गरेका प्रचण्ड, बाबुराम र विकृत साम्प्रदायिक मनोविज्ञान सिर्जना गरी वर्गसङ्घर्षलाई निस्तेज पार्न उद्यत मातृका यादवजस्ता व्यक्तिहरूले रामवृक्षको नाममा राजनीति गर्नु इतिहासमै क्षम्य नहुने विषय हो । यसरी रामवृक्षको रगतमाथि गद्दारी गर्नेहरूलाई इतिहासले कहिल्यै माफी दिने छैन । एकदिन क. रामवृक्षको रगत ज्वाला बनेर उम्लिनेछ र यी धोकेवाजहरूको बदला लिनेछ ।
क. रामवृक्षको सपना नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै विश्वसाम्यवादमा पुग्ने थियो । रामवृक्षले चाहेको त्यो वैज्ञानिक समाजवादका निम्ति समग्र ढंगले एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास गरी क. विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिरहेको छ । यो पार्टीले नै कमरेड रामवृक्ष यादवको सपनालाई साकार पार्नेछ । नेपाली समाजलाई वैज्ञानिक समाजवादको दिशामा लैजानेछ । कमरेड रामवृक्ष यादव लाल सलाम ! क. रामवृक्ष यादवले देखाएको बाटोमा अघि बढौँ ।
२०७४ भदौ ८ गते ५ : ५८ मा प्रकाशित