तीज पर्व र महिला अधिकार

महिलाहरूले मात्र मनाउने चाडहरूमध्ये हिन्दू समाजमा तीज पर्व एउटा प्रमुख पर्व हो । थारु समुदायसहित तराईमा भने जितिया पर्व मनाइन्छ । तीज भदौ ८ गते र जितिया भदौ २८ गते पर्दछ । तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आरधना गरिन्छ भने विवाहित महिलाले शिवस्वरूप पतिको पुजा गर्छन् । अविवाहित महिलाले अपेक्षानुसारको पति पाउँ भनी आरधना गर्छन् । यी पर्वहरू हिन्दू धार्मिक देशहरू नेपाल, भुटान, भारत, बर्मासहित हिन्दू धार्मिक समुदायमा मनाइन्छ ।

पौराणिक ग्रन्थहरूमा तीजको त्यति धेरै उल्लेख भएको पाइन्न । पौराणिक कथाअनुसार हिमालय पर्वतकी छोरी पार्वती शिवसँग विवाह गर्न चाहन्थिन् तर उनको विवाह आर्यमूलका विष्णुसँग गराउन खोजेपछि संगिनीहरूको सहयोगमा विद्रोह गरिन् । महादेव अनार्य (मंगोल) समुदायका थिए । अन्तरजातीय प्रेम विवाह भएको त्यही विद्रोहलाई तीज पर्वका रूपमा मनाउने चलन चल्यो । उसबेला त्यो कदम प्रगतिशील र प्रेरणाप्रद थियो होला । समयक्रममा त्यसलाई पुरुषवादी स्वार्थअनुसार ढालियो । तीज पर्वमा महिला उत्पीडन झन् बढाउने संस्कारहरू थपिए । तीज पर्वमा आज धेरै फरक दृश्यहरू देखिन थालेका छन् । हिजो गाउँघर, चोक, चौतारी, पिंढी– आँगनमा सीमित हुने तीज पर्व आज टेलिभिजन, रेडियो, चलचित्रमा विस्तार भएको छ । होटल, भोजनगृहहरूमा ठूलो खर्च गरिन्छ ।

भड्किला पहिरन, गहना, अर्धनग्न उठबस, मदिरा सेवन र अमर्यादित गीत–सङ्गीत चल्छन् । परिवारका सबै सदस्य एकै ठाउँमा बसेर हेर्ने, सुन्ने अवस्था हुँदैन । तीजलाई व्यापारीहरूले (सञ्चार व्यापारीसमेतले महिलालाई भँड्काएर, अस्वस्थ प्रतिस्पर्धा गराएर सामान बेच्ने अवसरका रूपमा लिएका छन् । हामीलाई स्वतन्त्र भएको जस्तो लाग्ला तर बजारले हामीलाई उपयोग गरिरहेको हुन्छ । कर्तव्य र भूमिका दानवको जस्तो भएद पनि पुरुषलाई पूजा गर्न सिकाइन्छ तर पुरुषले कहिल्यै महिलाको पूजा–आरधना गर्नुपर्दैन । ‘एक रथका दुई पाङ्ग्रा’ भन्ने समानताको कुरा गर्ने तर सधैँ महिलालाई दासी ठान्ने र पुरुषलाई देवता ठान्ने महिला विरोधी पर्वको रूपमा तीज पर्व रहेको छ । चुरा, पोते, सिन्दुर सबै पुरुषको लागि महिलाले भिर्नुपर्ने, महिलाका लागि भने पुरुषले केही पनि गर्नु नपर्ने ? त्यसकारण तीज पर्वको विषयमा नयाँ ढंगले सोच्न आवश्यक छ ।

समाजमा शासक वर्गले वर्षभरि दमन गर्छन् । विद्रोह नहोस भनेर एक दिन नाच्न, गाउन र रिस फेर्न वा आक्रोश पोख्न दिन्छन् । थारु समुदायले फगुवा पर्वमा मालिक र मुखियाको विरुद्ध बोलेझैं महिलाले सासु, ससुरा, सौता, श्रीमान् आदिलाई गाली गर्दै गाउने, नाच्ने, रुने अनि वर्षभरि दासी बनेर जोतिने, फेरि तीज पर्खने गर्दागर्दै हजारौं वर्ष बितेका छन् । विद्रोह रोक्ने उद्देश्यले त्यसो गरिएको हुन सक्छ । आज त्यसप्रकारको रुढीवादी महिला विरोधी शोषणमा उच्छृङ्खलता, यौनकुण्ठा र बजारको स्वार्थ अगाडि आएको छ ।

स्वास्थ्य विज्ञानका दृष्टिले पनि तीज पर्व अवैज्ञानिक, रुढीवादी र हाँसो उठ्दो छ । हरेक दिन नुहाउनु स्वास्थ्यका दृष्टिले राम्रो कुरा हो तर तीजमा एकै दिन ३६५ पटक डुबुल्की मारेर वर्षभरि सफा भइन्छ र ! अझ आजका नदीहरू पौराणिककालका जस्ता सफा भए त हुन्थ्यो ! हरेक दिन दन्त मञ्जन आवश्यक छ तर एकदिन ३६५ वटा दत्तिवन टोकेर दाँत सफा हुन्छ र ? यस्तो उट्पट्याङ कुरा परम्परा भन्दै दौडिंदै गर्ने हामी कसरी सचेत नागरिक हुन सकौंला । तीजको भँड्किलोपनका कारण गरिब, मजदुर र कम आय भएका नागरिकलाई मानमर्दन हुँदै आएको छ । भँड्किलो चाडपर्व मनाउन, प्रतिस्पर्धा गर्न सबै सक्दैनन् । त्यसले गर्दा धनी र गरिबको मनोवैज्ञानिक दूरी झन बढेर गएको छ । शान्तिपूर्ण समाजको लागि यस्तो अवस्था बाधक हुन्छ ।

पौराणिककालदेखि आधुनिक कालसम्म जनताको पक्षबाट थुप्रै बलिदान र विद्रोह भएका छन् । घण्टाकर्ण पर्व, महिला दिवस (८ मार्च, मजदुर दिवस (मई १) यस्ता पर्वहरूलाई शोषकवर्गले आफ्नो हितमा प्रयोग गर्दै, विकृत बनाउँदै आएको छ । तीज पर्व कसरी चल्यो ? मिथक मात्रै हो कि वैज्ञानिक पक्ष पनि छ ? त्यस विषयमा यथार्थ के हो भन्न सकिने अवस्था छैन । तर हरेक जनपक्षीय विषयलाई शोषकवर्गले आफ्नो हितमा मोड्ने गरेको छ । तीजका विषयमा पनि त्यस्तै भएको छ तर हामीले त्यसलाई सही ढंगले बुझ्न सकेका छैनौं । हामी पनि रुढीवादी र पुँजीवादी हावाअनुसार चलिरहेका छौं । यसवर्ष त तराईमा गएको बाढी र पहाडमा पहिरोले धेरैको उठिबास भएको अवस्था छ । परिवारको विछोड भएको छ । चुलो निभेको छ । नाङ्गो आकासमुनि दिन कटाउन बाध्य छन् । यस्तो राष्ट्रिय विपत्तिमा नाचगान, भोजभतेर र तामझाम हाम्रै अर्को भेगका दिदीबहिनीका लागि पीडामाथि पीडा थपे सरह त हुँदैन ? यिनै चिन्ता, चासो, प्रश्न र पीडाका साथ विश्वभरिका दिदी–बहिनीप्रति तीजको अवसरमा हार्दिक शुभकामना !

२०७४ भदौ ८ गते ७ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :