रामवृक्षको स्मृतिसभामा आक्रमण

रातो खबर संवाददाता / बर्दिबास : नेपाल कम्युनिस्ट पार्टीद्वारा २ गते धनुषा, बर्मझियामा आयोजित रामवृक्ष यादव स्मृतिसभा प्रचण्ड समूहले आक्रमण गरी भाँडेको छ । मञ्च निर्माण गर्दैगर्दा मातृका यादव, महादेव यादवलगायत माके–नेताहरूले नै आक्रमण गरेका थिए । नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज र नेकपा (माओवादी केन्द्र) का नेता विश्वनाथ साहबीच अलग–अलग स्थान र समयमा सो कार्यक्रम गर्ने सहमति भई सोही सहमतिअनुसार कार्यक्रमको तयारी हुँदै थियो । कार्यक्रमको तयारी भइरहेको र जुलुस आउँदै गर्दा मातृका यादवकै नेतृत्वमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेललाई ‘गौर’ बनाइदिन्छु भन्दै आक्रमण गरे ।

भारतीय संलग्नताको अपराधिक घटनामा मातृकाको समेत संलग्नता भएको रहस्य उनकै भनाइले प्रकट गरेको छ । त्यसपछि प्रहरीले दोषीहरूलाई पक्राउ गर्नुको सट्टा नेकपाका केन्द्रीय सदस्यहरू सन्देश पौडेल, देवनारायण साह, ब्युरो सदस्यहरू राजु कार्की, प्रेमप्रकाश वली, लक्ष्म पौडेल, आइडिएल चौधरीलाई पक्राउ ग¥यो । कार्यक्रममा जान आएका सहभागीको बसलाई बर्दीवासमा नै रोकेर प्रहरीले अघि बढ्न दिएन । अन्य बसहरू पनि कार्यक्रमस्थलमा पुग्न प्रहरीले रोक्यो । सहभागीहरूले अवरोध गरिएकै स्थानमा नाराबाजी गरेका थिए । नेकपाका प्रवक्ता प्रकाण्डले सोही दिन विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्दै बिनाशर्त रिहाइको माग गर्नुभएको थियो । बर्मझियाको कार्यक्रममा माकेको तर्फबाट प्रचण्ड नै जाने पूर्व–तयारी थियो । आफ्नो तर्फको तयारी कमजोर भएको र नजिक–नजिकमा दुईवटा सभा भएका कारण प्रचण्ड नजाने भए । त्यसपछि कृष्णबहादुर महरा जाने प्रचार गरिएको थियो ।

अन्ततः महरा पनि नजाने खबर भएपछि जनमासको उपस्थिति झनै घट्ने निश्चित भयो । त्यसबाट चिड्चिडाहट भएका मातृका यादवले ‘भालुको रिस खनियाँमाथि’ भनेझैँ नेकपाका नेताहरूमाथि आक्रमणमा उत्रिए । नारायणकाजी गुटका नेताहरू धनुषामा कार्यकारी हुनु, उनीहरूसँगै सहमति हुनुका कारण पनि मातृका गुट आक्रोशित थियो । प्रचण्डको गुट संघर्षमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले पनि पार्टीका नेताहरूले गरेको सहमति उल्टाउन मातृका, महादेव गुट उद्यत भएको देखिन्छ । सहिद स्मृति दिवस मनाउने सामान्य कार्यक्रमसमेत प्रहरीको आडमा भाँड्ने सरकारी हर्कतलाई नेकपाले गम्भीरतापूर्वक लिएको प्रकाण्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२०७४ भदौ ७ गते ९ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :