युवा संगठन बाँकेद्वारा बेरोजगारी समस्या र यसको समाधान विषयक अन्तरक्रिया सम्पन्न

युवा संगठन बाँकेद्वारा बेरोजगारी समस्या र यसको समाधान विषयक अन्तरक्रिया सम्पन्न

बाँकेः राज्य सत्ताको नीतिगत चरित्र गलत भएकाले बेरोजगारी बढेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । विप्लव नेकपा निकट युवा संगठन नेपालले बाँकेले कोहलपुरमा शुक्रबार आयोजना गरेको बेरोजगारी समस्या र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । अन्तरक्रिया कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य विष्णु जिसीले बेरोजगारी समस्या र समधानका विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ११ दसमलव ४४ प्रतिशत बेरोजगारी समस्या विद्यमान रहको बताए ।
उनले प्रस्तुत गरेको कार्यपत्रमाथि अधिकांशले टिप्पणी गर्दै नेपालमा बेरोजगारी समस्या बढ्नुको मुख्य कारण राज्यसत्ताले उत्पादनका साधनहरुको स्वामित्व नलिनु, शिक्षा, स्वास्थ्य निजिकरण गर्नु लगायतका कारण भएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय सदस्य दिपकले व्यवस्थाको कमजोरीले जनतामा बेरोजगारी बढेको दावी गरे ।
उनले दास, भूदास हुँदै अहिले पुजीवादी युगमा आधुनिक दासको रुपमा मानिसहरुलाई पूजी र सम्पतिबाट अलग गराई बेरोजगारी बनाएको बताए । बेरोजगारी समस्याबाट मुक्त हुन दलाल व्यवस्था परिवर्तन गरी वैज्ञानिक समाजवादमा जानुपर्ने बताउदै उनले वैज्ञानिक समाजवाद विना बेरोजगारी समस्या समाधान नहुने ठोकुवा गरे ।
कार्यक्रममा एमाले निकट राष्ट्रिय युवा संघका नेता भरत तिवारीले राजनैतिक अस्थिरता नै बेरोजगारीको मुख्य समस्या भएको बताए । नेकपा (क्रान्तिकारी माओवादी) का युवा नेता हरि न्यौपानेले राज्य सत्ता परिवर्तन नगरि बेरोजगारी समस्या समाधान नहुने बताए ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य डिबी शाहीले युवाहरु बेरोजगारीका कारण लागुऔषध तथा दुव्र्यसनीमा लागेको बताए ।
कार्यक्रममा नेपाली जनतालाई स्वास्थ्य, शिक्षा, जमिन र रोजगारी निशुल्क दिने राज्य व्यवस्थाले मात्र बेरोजगारी हटाउने निश्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :