पाल्पामा नेकपाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, प्रगतिशील संयुक्त सरकार बनाउन सहमत

पाल्पामा नेकपाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, प्रगतिशील संयुक्त सरकार बनाउन सहमत

 

पाल्पाः नेपाल कम्युनिस्ट पार्टी, जिल्ला समिति पाल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादका लागि जनमत संग्रह विषयक अन्तरक्रिया कार्यक्रम पाल्पाको सदरमुकाम तानसेन उद्योग वाणिज्य संघको सभाहलमा राखेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चनले मौखिक रुपमा यसको आवश्यकता र महत्त्व बारेमा जानकारी गराएका थिए । जानकारीसँगै उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा लिखित वैज्ञानिक समाजवादी व्यवस्थाका विशेषताहरु र पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? भन्ने बुकलेट वितरण गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले उठाएको एजेन्डा र उक्त दुई पुस्तकका बारेमा लगत्तै वक्ताहरुले आआफ्ना धारणा राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य धनेन्द्र घिमिरेले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको मुलभूत एजेन्डा वैज्ञानिक समाजवादी व्यवस्था अख्तियार गर्ने विषयमा अब भिन्नता नभएको कारणले उक्त पार्टीले अगाडि सारेको प्रगतिशील संयुक्त सरकारको आवश्यकता बोध भएको र उक्त सरकारमा नेकपा (एमाले) सहभागी हुन तयार रहेको बताएका छन् । वर्तमान अवस्थामा नेपालका सबै कम्युनिस्ट पार्टीको रणनीतिक वैज्ञानिक समाजवादी व्यवस्था र यसलाई प्राप्त गर्ने बाटो शान्तिपूर्ण रुपमा जनताको जनमत नै भएको हुँदा नेकपाले भनेको प्रगतिशील संयुक्त सरकार निर्माण गरि जनमतसंग्रहमा जान एमाले तयार रहेको समेत बताएका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कार्यलय सदस्य मधुरा ढकालले अहिले आफ्नो पार्टीमा बौद्दिक बहस र व्यवहार नभएको कता कता कम्युनिस्ट पार्टी नै होइन कि भन्ने लाग्ने गरेको बताउदै कम्युनिस्ट पार्टीको आन्दोलन सफल बनाउन पार्टीहरु नै पहिला समाजवादी हुनुपर्ने त्यसपछि बल्ल कार्यदिशा अनुसरण गर्दै रणनीति चुम्नु पर्ने बताए । उनले भने, `नेकपाले अहिले यो अगाडि सारेको प्रगतिशील संयुक्त सरकार र यसको नेतृत्वमा हुने जनमत संग्रह कार्यनीति भित्रको कुटनीति हो कि भन्ने लाग्छ त्यसैले अहिले व्यवस्था र अवस्थामा कम्युनिस्ट बन्ने र उदेश्य अनुरुप लक्ष्य चुम्न अपनाउन अगाडि सारिएको हो भने यो सहि छ जुन नेकपाले गरेको कामले निकै खुशी लागेको छ हामी सहभागी भएर साथ दिएर अगाडि बढ्न चाहन्छौँ ।`

यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोम कार्कीले नेकपाले अगाडि सारेको प्रगतिशील संयुक्त सरकार निर्माण गरि उक्त सरकारले गर्ने जनमत संग्रहमा आफुहरुको सर्मथन रहने बताएका छन् ।
यस्तै बुद्धिजीवी निर्मल श्रेष्ठले आन्दोलन सफल बनाउन इतिहासलाई पनि हेरिनुपर्ने र त्यसको सिंवालोकन गरेर अगाडि बढ्नुपर्ने बताए । राप्रपाका अध्यक्ष ढुल बहादुर कुँवरले सहि मुद्दा उठानका विषयहरुमा आँफुहरुले प्रतिबन्धका बेलामा समेत नेकपालाई विभिन्न ठाउँहरुमा पुगेर छलफल अन्तरक्रिया गर्ने गरेको बताए साथै उनले उक्त कार्य गर्दा प्रहरीले हैरान समेत गरेको बताए ।

उनले भने, `अहिलेको व्यवस्था जुन ढंगले आइरहेको छ जो मैले कल्पना समेत गरेको थिएन यति अराजक, भ्रष्ट होला भनेर हामी जस्ता व्यक्तिले यो व्यवस्था अगाल्न निर्वाचनमा उठ्न नसक्ने भयौं ताकि टिकट र भोट पैसाको बिटोले किन्नुपर्ने भएको छ ।`
यस्तै बार एसोसिएसनका अध्यक्ष विनोद कार्कीले नेकपाले सारेको वैज्ञानिक समाजवादी व्यवस्थाका विषयमा ल्याएको कानुनी प्रस्तावना सही भएको बताए । उनले उक्त पुस्तकको अंश नै पढेर वाचन गरि सहि भएको ठोकुवा गरे । यसकारण अहिलेको संविधानमा समाजवादी भनेर उल्लेख गरिएता पनि कार्यवन्यन पुरानै तरिकाबाट हुने गरेको बताए । जसका कारणले अहिलेको व्यवस्थाको न्यायलय जस्तो क्षेत्रमा समेत आन्दोलन हुन थालेको बताए । यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का लिला श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिदै प्रमुख अतिथि बास्तोलाले आफुहरुलाई शान्ति प्रक्रिया छाडेर आएको भन्ने कुरा गलत भएको बताए । आफुहरुको लडाइँ जारी रहेको भन्दै यो लडाइँ नै असफल व्यवस्था परिवर्तन गर्न जनताहरुलाई संगठित गरेर ऐतिहासिक बिद्रोह गर्दै जनताको प्रगतिशील संयुक्त सरकार निर्माण गरि सडक आन्दोलनबाट घोषणा गर्ने समेत उनले बताए । अहिले असफल संसदीय व्यवस्थाका नाईकेहरुले एमसीसी पास गर्न सदन खोलेको बताउदै यसलाई कुनैपनि हालतमा रोक्ने हाम्रो अनवरत यो लडाईमा सहभागी हुन समेत आग्रह गरे ।

कार्यक्रमको सभाअध्यक्ष पाल्पा जिल्ला सचिव भुवन जिसीले गरेका थिए भने अतिथिहरु नवलपरासी जिल्ला सचिव धिरज राना, पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज धिरेन्द्रा उपाध्याय, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समिति कोषाध्यक्ष मुक्ति गैरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिवालय सदस्य मीन बहादुर आलेले गरेका थिए भने अन्तरक्रिया कार्यक्रम सकिए लगत्तै उक्त पार्टीको पालिका इन्चार्ज र सेक्रेटरीहरुलाई केन्द्रीय सचिवालय सदस्य बास्तोलाले प्रशिक्षण समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :