बाढीले माइती नै लग्यो के–को तीज बरीलै

रातो खबर संवाददाता / काठमाडौं : खासगरी सहरी क्षेत्रमा तीजको रमझम सुरु भएको छ । रातो पहिरनमा महिलाहरू बजार र सडकमा देखिएका छन् । भोजभतेर र नाचगान सुरु भएको छ तर देशको अर्को भाग तराईमा भने तीज जति नजिक आउँदैछ, त्यति नै हृदय क्षतविक्षत हुँदै गइरहेको छ । बाढी, डुबान र कटानले सयौंको ज्यान गएको, कैयौं बेपत्ता भएका छन् र घरबास उजाड भएको छ । रौतहट, मानपुरकी शर्मिला चौलागाईं भन्छिन्, “एउटा मात्र भाइलाई बाढीले बगायो । महिलाहरू नाचेको देख्दा पनि कसैले घाँटी थिचेझैँ औडाहा हुन्छ । सधैँका लागि माइती गयो ।” यस्तो पीडा शर्मिलाको एक्लो होइन । एकथरी नारी भोजभतेर र नाचगान गरिरहेको बेला अर्को घरमा यस्तो पीडा छ । उता विराटनगर – ३ का सन्तोष घिमिरेको बाढीले घरका सबै अन्नपात बगाएको छ । धानखेत डुबेर बालीनाली सबै नष्ट भएको छ । गतवर्ष विहे गरिदिएकी छोरीलाई घरमा बोलाउन पनि उनलाई गा¥हो भएको छ । ‘बूढी तीज सम्झेर रोइरहन्छे । भगवान्ले पनि गरिबलाई नै कहर थप्दा रहेछन्’ टोलाउँदै घिमिरे दुःखेसो गर्छन् । बर्दिया, बबई किनारबाट विस्थापित भएर गुलरियाको सरकारी जमिनमा अस्थायी शिविरमा बसेका श्याम विश्वकर्माको पीडा पनि उस्तै छ । ‘भएको एउटा आरन पनि दैवले लग्यो । खाने अन्न छैन । राहतमा पाएको चामल पनि ढुसी परेको छ । न काम छ न आम्दानी, जीवनमा पहिलो पटक बहिनी लिन जान पनि सकिनँ’ आँखामा आँसु टिलपिल गर्दै विश्वकर्मा भन्छन् । उता चाँदनीका ८८ वर्षीय वृद्ध हरिबहादुर कठायतको पीडा झनै पीडादायक छ । उनकी एक मात्र छोरीको विवाह इटहरीमा भएको हो । नातिनीलाई बाढीले खाएपछि छोरी माइती नआउने भएकी छन् । ‘यसपालि छोरी नआउने भइछ । म जानुपर्ने बेलामा भगवान्ले नातिनीलाई लगे । अर्को तीजसम्म त के बाँचिएला र !’ उनको कलेटी परेका ओठ काप्दै गर्दा आँखामा आँसु टिलपिल गर्दै थिए । बाढी तराईमा गएको हो तर बाछिटो पिंढी नाघेर घरभित्र पसेझैं पीडा राजधानीदेखि हिमालसम्मै फैलिएको छ । यस्तो बेला के–को तीज भनेर नाच्नु गाउनु र खै !

२०७४ भदौ ७ गते ९ : १८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :