बेलायती साम्राज्यको आधिपत्य समाप्त गर्दै बारबाडोसमा गणतन्त्र स्थापना, सेन्ड्रा मेसन प्रथम राष्ट्रपति

बेलायती साम्राज्यको आधिपत्य समाप्त गर्दै बारबाडोसमा गणतन्त्र स्थापना, सेन्ड्रा मेसन प्रथम राष्ट्रपति

काठमाडौँ:
एजेन्सी, क्यारेबियाली देश बारबाडोसले बेलायती साम्राज्यको चार सय वर्ष पुरानो आधिपत्य तोडेको छ । बारबाडोसले आफूलाई स्वतन्त्र गणतन्त्र घोषणा गरेको छ । उसले सोमबार राती बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई आफ्नो राष्ट्रप्रमुखबाट त्यागेर आफूलाई एक नयाँ गणतन्त्र घोषित गरेको हो । सेन्ड्रा मेसन बारबाडोसकी प्रथम राष्ट्रपति घोषित भएकी छिन् । बेलायती साम्राज्यवादबाट मुक्त भएपछि बारबाडोसमा खुसीयाली मनाइएको छ । बेलायतकी महारानीलाई आजसम्म सम्प्रभु मान्ने बेलायतका पूर्वऔपनिवेशिक मुलुकहरूलाई बारबाडोसको यो कदमले गम्भीर झड्का दिएको छ ।

आफूलाई गणतन्त्रात्मक मुलुक घोषणा गरी बारबाडोसले बेलायती साम्राज्यवादसँगको आफ्नो ४ सय वर्षपुरानो औपनिवेशिक सम्बन्ध समाप्त पारेको हो । सेन्ड्रा मेसनले राष्ट्रपति पदको शपथ लिइसकेकी छिन् । यो क्यारेबियाली द्वीपमा पहिला अङ्ग्रेजी जहाज ४ सय वर्षअघि पुगेको थियो । इङ्ल्यान्डसँग बारबाडोसको उसको सम्बन्ध सन् १६२५ देखि रहँदै आएको छ । किङ्स जेम्स प्रथमको जहाज यो द्वीपमा पुगेपछि यो बेलायती साम्राज्यवादको कब्जामा परेको थियो ।

रोयटर्सका अनुसार राजधानी ब्रिजटाउनको चेम्बरलेन ब्रिजमा सोमबार मध्यरातमा नयाँ गणतन्त्र जन्मिएकोमा बारबाडोसबासीले उत्सव मनाएका छन् । हिरोज स्क्वायरमा २१ तोपको सलामी दिएर बारबाडोसको राष्ट्रिय गीत गाइएको थियो ।
बेलायती महारानी एलिजाबेथको शाही परम्परा त्यागेर गणतन्त्र बारबाडोस घोषणा हुँदै गर्दा बेलायती राजतन्त्रका उत्तराधिकारी प्रिन्स चाल्र्स भने त्यहाँ उपस्थित थिए । प्रिन्स चाल्र्सले आफ्नी आमा र महारानी एलिजाबेथको बधाई साझा गर्दै भने, ‘यो गणतन्त्र बन्नु एक नयाँ सुरुआत हो ।’

पहिलो राष्ट्रपति पदको शपथ लिँदै सेन्ड्रा मेसनले भनिन्, ‘हामीले गणतन्त्र बाराबाडोसको आत्मा र उसको अस्तित्वलाई कुनै पनि हालतमा पेस गर्नुपर्छ । हामीले यसको भविष्यको आकार दिनुपर्छ । हामी एकअर्काको र आफ्नो देशका रक्षक हौँ । हामी बारबाडोसका जनता हौँ ।’
‘हाम्रो अतीतको कालो दिन र गुलामीको भयानक अत्याचार सधैँ हाम्रो इतिहासमा दागजस्तै रहनेछ तर यसको ठीक विपरीत यो द्वीपका मानिसले असाधारण दृढताका साथ आफ्नो भिन्न मार्गप्रशस्त गरेका छन्’, उनले भनिन् ।
बारबाडोसले महारानी एलिजाबेथ द्वितीयलाई राष्ट्र प्रमुखबाट त्यागे पनि उनी अहिलेसम्म ब्रिटेन, अस्ट्रेलिया, क्यानाडा, जमैकालगायत १५ देशकी महारानी हुन् ।
प्रधानमन्त्री मिया मोटलीले बारबडियन गायिका रिहानालाई राष्ट्रिय हिरो घोषित गरेकी छिन् । बारबाडोसले ५५ वर्षअघि स्वतन्त्रता पाए पनि ब्रिटेनकी महारानी त्यस देशकी राष्ट्र प्रमुख थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :