जनमतसङ्ग्रहमा होमियो क्रान्तिकारी ट्रेड युनियन महासङ्घ

मजदुर जागरण अभियान २०७८ सुरु

जनमतसङ्ग्रहमा होमियो क्रान्तिकारी ट्रेड युनियन महासङ्घ

काठमाडौँ : नेकपाका प्रवक्ता प्रकाण्डले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिको मजदुर जागरण अभियान २०७८ उद्घाटन गरेका छन् । उनले दीप प्रज्वलन गरेर अभियान उद्घाटन गरेको महासङ्घले जनाएको छ । महासङ्घले ‘वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारका लागि जनमतसङ्ग्रह’ नाराका साथ अभियान सञ्चालन गरेको हो ।

अभियान उद्घाटनका क्रममा प्रवक्ता प्रकाण्डले मजदुर र श्रमिकहरू समाजका चालक र जीवन्त शक्ति रहेको बताए । उनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सही र सच्चा आधारभूमि भएकाले श्रमिकहरूले त्यसप्रकारको भूमिका निर्वाह गर्नुपर्ने पनि बताए । प्रतिक्रान्तिसँग धेरै जुधेर यो आन्दोलन खडा भएको प्रसङ्ग राख्दै प्रकाण्डले नेपालको राजनीतिमा समेत मजदुर सङ्गठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

प्रकाण्डले प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यनीति आजको सही कार्यनीति रहेको र यसका पक्षमा मजदुरहरूले भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सरकारसँग ३ बुँदे सहमति भएको छ तर राज्य पक्ष त्यसलाई कार्यान्वयन गर्ने कुरामा आलटाल गरिरहेको छ । त्यसो भयो भने राज्यकै लागि त्यो कुरा घातक हुनेछ ।’

प्रकाण्डले देश चौतर्फी सङ्कटमा रहेको र यो सङ्कटको हल क्रान्तिकारी धरातलबाट मात्र हुने पनि प्रस्ट पारे । नेकपाले अघि सारेको कार्यनीति सही र वैज्ञानिक रहेकोमा जोड दिँदै उनले मजदुर सङ्गठनले पार्टीको अपेक्षाअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मजदुर सङ्गठनका फ््र्याक्सन इन्चार्ज मिलनले मजदुर जागरण अभियान २०७८ सफल र परिणाममुखी बनाउनुपर्ने बताए ।

कार्यक्रममा प्रतिबन्धमा जेल–हिरासत परेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने पार्टी–सङ्गठनका नेताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय अध्यक्ष विनोद थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सङ्गठनका उपाध्यक्ष शिशिर थापाले गरेका थिए । कार्यक्रमको सञ्चालन सङ्गठनका महासचिव श्याम सेञ्चुरीले गरेका थिए । सङ्गठनको दोस्रो पूर्ण बैठकले मङ्सिर ९ गतेदेखि ‘वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारका लागि जनमतसङ्ग्रह’ मूल नाराका साथ अभियान आरम्भ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :