पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपा दाङद्वारा घोराहीमा मोटरसाइकल र्यालि सम्पन्न

पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपा दाङद्वारा घोराहीमा मोटरसाइकल र्यालि सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले घोराहीमा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । नेकपा दाङले ८ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाको घोराहीमा मोटरसाइकल र्याली गरेको हो । घोराहीका विभिन्न चोकहरु परिक्रमा गर्दै र्याली घोराहीको तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलले आफुहरुले अधुरो क्रान्ति पूरा गर्न पार्टी पुनर्गठन गरेको बताए । उनले प्रचण्ड बाबुरामहरुले महान जनयुद्धका सम्पूर्ण उपलब्धीहरुलाई बेचेर क्रान्तिलाई बिच बाटोमै अलपत्र पारेपछि आफुहरुले बिद्रोहको झण्डा उठाएको समेत जिकिर गरे । नेता शितलले नेपालमा सबैखाले समस्याको कारण संसदीय व्यवस्था भएकाले आफ्नो पार्टीले त्यसको विकल्पमा जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्ष गरिरहेको समेत स्पष्ट पारे । वैज्ञानिक समाजवाद स्थापनाको लागि नेपालमा एक पटक नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताउदै त्यसका लागि नेपालमा संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्ने नेता शितलको भनाइ थियो । उनले पछिल्लो समय माओवादी केन्द्र पार्टी एकताको भ्रामक, गैरराजनीतिक हल्ला फिजेकाले भ्रममा नपर्न आम दाङबासी जनसमुदायलाई अपिल समेत गरे । उनले भनने प्रचण्डहरु पार्टी एकता भनेर होहल्ला गरिरहेका छन्, पार्टी एकता कुनै दल, नेता मात्रै मिल्ने कुरा होइन त्यसका लागि कार्यदिशा, कार्यनीति सबै मिल्नुपर्छ ।

कोणसभामा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज दिपक, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली वलीले ८ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा पार्टीका नेताकार्यकर्ता, शुभचिन्तक तथा आम दाङबासी जनसमुदायलाई शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्दै वक्ताहरुले जनता र राष्ट्रको मुक्तिका लागि बलिदानको कोटा चुक्ता गर्न पनि पछि नहट्ने प्रतिबद्धता जाहेर गरेका थिए । सडकमा बेवारिसे फालिएको क्रान्तिको झण्डालाई फेरि उठाएको दिन भएको बताउदै पार्टी पुनर्गठन दिवस भव्य उत्सवका रुपमा मनाउन आग्रह गरिएको थियो ।
कोणसभाको सञ्चालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।
यस्तै नेकपा दाङले आठौं पार्टी पुनर्गठन दिवसको अवसरमा मंसिर ७ गते भोलि तुलसीपुरको अरनिको मैदानमा अतिरिक्त खेलकुद क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता, घैलो फोड प्रतियोगिता, फुटबल प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
बिहान ८ बजे तुलसीपुरको अरनिको मैदानमा सम्पूर्ण खेलहरुको उद्घाटन हुने नेकपा दाङका सेक्रेटरी प्रदिपले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :