विज्ञानमा एकीकृत सिद्धान्तको विकास भएको छ : सुदर्शन, पूर्वी कमाण्ड इन्चार्ज – नेकपा

सन् १९७१ मा माओले ‘दुई लाइन सङ्घर्षको अनुभवबाट हामीलाई सही राजनीतिक कार्यदिशा हुनु वा नहुनुले सबै कुरा निर्धारण गर्दछ भन्ने पुष्टि भएको छ’ भन्नुभएको थियो । आज हामीलाई पनि त्यही अनुभूति भएको छ । क. किरणसँग अलग हुँदा क. विप्लवसँग थोरै मान्छेहरू थिए । आज यत्रो विशाल जनसभा भएको छ । यो कार्यदिशा अझ समृद्ध हुनासाथ क्रान्ति सम्भव हुन्छ भन्ने लागेको छ ।

म रुकुममा हुर्केको मान्छे । हाम्रोतिर काउली र मुलाको बिउ उत्पादन हुन्थ्यो । त्यो बङ्गलादेशसम्म निर्यात हुन्थ्यो । कृषिमा स्नातक गरेको विशेषज्ञले मूलाको बिउ लगाउनुपर्नेमा तोरीको बिउ रोप्यो र काउली रोप्ने स्थानमा कोदोको बिउ रोप्यो । त्यसपछि काउली र मूला होइन तोरी र कोदो उम्रियो । त्यसैले त्यसप्रकारको विशेषज्ञको प्रयोजन भएन । त्यसपछि मैले विद्रोह गरें ।

क. किरणले एकपटक फेरि सिद्धान्तनिष्ठतालाई कायम राख्नुभएको छ । क. किरणको सिद्धान्तनिष्ठता र क. विप्लवको साहसलाई जोडेर लग्न सकियो भने क्रान्ति गर्न सम्भव छ । त्यसलाई जोड् नुपर्छ । नवसंशोधनवादीहरूको हिजोको एकता केही दिनमै छिन्नभिन्न हुनेछ । यो चौरमा नअटाउने जम्बो केन्द्रीय समिति बनाएका छन् । लाग्छ, पञ्चायतकालमा राजाको जन्मोत्सव मनाउन बनाएको आयोजक समिति हो ।

प्रचण्डलाई बादलजीहरू हिजोसम्म लालगद्दार र विस्तारवादका दलाल भन्थे । उनीहरू कसरी रातारात क्रान्तिकारी भए । बाबुराम र प्रचण्ड व्यक्ति फरक छन्, विचार र राजनीति एउटै हो । उनीहरूमा अन्तर छैन । चुनबाङ बैठकमा प्रचण्डले हामी सबै झसङ्ग हुने गरी ‘माक्र्सवादमा द्वन्द्ववादबाहेक अरू सत्य छैन’ भनेका थिए । पछि माओकै विरुद्ध बोल्न थाले । म प्रश्न गर्छु, वर्गसङ्घर्ष सत्य छ कि छैन ? सर्वहारा अधिनायकत्व सही छ कि छैन ? बल प्रयोगको सिद्धान्त सही छ कि छैन ? माक्र्सवाद सत्य होइन भने ज्ञानेन्द्र फेरि सत्तामा आउन हुने कि नहुने ? जनसरकारले रजिस्ट्रेसन पास गरेका जग्गालाई मान्यता दिन नसक्ने, एउटा कर्मचारी हटाउन खोज्दा आफैँ सरकार छोड्नुपर्ने प्रचण्डलाई कसले समाजवाद ल्याइदिन्छ ? कर्मचारीले होइन, प्रधानमन्त्रीले राजीनामा दिनुप¥यो । सत्ता के हो ? त्यसको शक्ति कहाँ हुन्छ ? त्यो कसरी चलेको हुन्छ ? प्रस्ट भएन र ! एउटा राजदूत हटाउँदा सरकारलाई कारण देखाऊ आदेश जारी हुन्छ । त्यसैले सरकारको पछाडि उसलाई नियन्त्रण र सञ्चालन अदालत र फौजले गरिरहेको हुन्छ । त्यसैले प्रचण्डको बाटो दिशाभ्रम हो । जनता र कार्यकर्तालाई भ्रमित पार्ने खेल मात्र हो । प्रश्न आज दलाल राज्यसत्ता विघटित कसरी गर्ने भन्ने हो । 

हेटौँडा महाधिवेशनपछि हामीले केही सैद्धान्तिक प्रश्न उठायौँ । उहाँ बहसबाट लगातार भाग्नुभयो । प्रचण्ड मनमोहनपथमा हुनुहुन्छ । कतिपय बाबुरामका मान्छेले पदार्थको अस्तित्व नै लोप भयो भनेका छन् । त्यो कुनै नयाँ विषय होइन । सन् १९०८ मा मेन्सेभिकहरूले रुसमा उठाएको बासी तर्क हो । किनकि पदार्थको लोप होइन, अझ सूक्ष्म, बहुआयमिक र रूपमा परिवर्तन भएको छ । झन् एकीकृत भएको छ ।
बाबुरामले आर्थिक विकासको नारा दिएका छन् । दलाल राज्यसत्ता कायम राखेर आर्थिक समृद्धि सम्भव छैन । सरकार नै सत्ता होइन । सरकारलाई चाहेर पनि समृद्धितिर जान सत्ताले दिन्न । सरकारमा, पार्टीमा, कर्मचारीमा, व्यापारमा जताततै दलालहरू छन् । सत्ताले दलाललाई संरक्षण गरेको छ । त्यसैले दलाल सत्ताको विरुद्ध लड्नुको विकल्प छैन ।

एउटा सिमेन्ट उद्योग खुल्छ । आईएनजीओहरू पठाएर वातावरणको नाममा अवरोध हुन्छ । गुणस्तरका नाममा विरोध हुन्छ । कुखुरापालन फस्टाउँछ, दलाल प्राविधिकलाई खरिद गरेर बर्डफ्लु हाल्न लगाइन्छ । दलाल सञ्चारलाई भूमण्डलीकृत गर्न लगाइन्छ र त्यसरी राष्ट्रिय उद्योग धराशायी पारिन्छ । त्यसपछि खाली बजारमा भारतीय सामानले भरिन्छ । तसर्थ दलाल सत्ता कायम भएसम्म देश अघि बढ्न सम्भव छैन । क. विप्लवले एकीकृत कार्यदिशा भन्नुभएको छ । यो सामरिक नीति हो । नयाँ जनवादी क्रान्ति हाम्रो लक्ष्य हो । नयाँ जनवादी क्रान्ति हुँदै समाजवादमा जाने हो । विज्ञान र प्रविधिमा आएको विकासले ‘एकीकृत क्रान्ति’ को भौतिक वातावरण सिर्जना गरेको छ । श्रव्य, दृश्य, शब्द, चित्र सम्पर्क सबै कुरा एकै स्थानमा कैद भएका छन् । सहर र गाउँ एउटैजस्तो हुँदैछ । त्यसैले वैज्ञानिक हकिन्सले विज्ञानमा ‘एकीकृत सिद्धान्त’ को आविष्कार गरेका छन् । समाज विज्ञानमा पनि त्यो व्यक्तिकै सत्य हो । यसलाई थप समृद्ध गर्नुपर्छ ।
हामीले भौतिक सत्ता र आदतको सत्ता दुवैको विरुद्ध सुरुदेखि नै लड्नुपर्छ भनेका छौँ । आदतको सत्तामा फसेर प्रचण्ड पछाडि फर्केका हुन् । तसर्थ आदतको सत्ताका विरुद्ध सुरुदेखि नै लड्न जरुरी छ भन्ने हामीलाई लागेको छ । जसलाई माओले निरन्तर क्रान्ति भन्नु भएको थियो ।
(२०७३ जेठ ७ गते सहिद मञ्चको सभामा व्यक्त विचारको सम्पादित अंश)

२०७४ भदौ ५ गते ९ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :