कहाँ कस्तो पर्यो नेपाल बन्दको प्रभाव ? बन्दमा कहाँबाट को–को गिरफ्तार ?

कहाँ कस्तो पर्यो नेपाल बन्दको प्रभाव ? बन्दमा कहाँबाट को–को गिरफ्तार ?

काठमाडौँ : बन्दको दिन प्रहरीले देशका विभिन्न ठाउँबाट नेकपाका सयौँ नेता–कार्यकर्ता गिरफ्तार गरेको छ । बन्दको दिन प्रहरीले चितवनको लायन्सचोकबाट नेकपाका जिल्ला इन्चार्ज सन्देश पौडेलसहित ९ जना, पूर्वीचितवनबाट ३ जना र चौबीसकोठीचोकबाट ५ जनालाई गिरफ्तार गरेको छ ।

बन्दको क्रममा सिन्धुलीबाट नेपाल कम्युनिस्ट पार्टीका २६ जना नेता–कार्यकर्ता गिरफ्तार परेका छन् । गिरफ्तार हुनेहरूमा नेकपाका सिन्धुली सेक्रेटरी गोपाल ब्लोन, विशेष समिति सदस्य शशी राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तेज लामा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिम ऐडीलगायत २६ जना छन् ।

उता रुकुममा पनि प्रहरीले नेकपाका १३ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा नेकपाका जिल्ला सचिवालय सदस्य मोतीराम खड्का, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मोतीराम खड्का, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सोमपाल कामीलगायत छन् ।

तनहुँमा पनि नेकपाका नेता–कार्यर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

यता काभे्रबाट नेकपा केन्द्रीय सदस्य आधार, युवा सङ्गठन नेपालकी केन्द्रीय महासचिव विदुषीलगायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यस्तै धनुषाबाट जिल्ला सेक्रेटरी सन्तोष र जनकपुर नगर सेक्रेटरी वीरेन्द्रलाल कर्णलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यस्तै काठमाडौँको दरबारमार्गबाट विद्यार्थी नेताहरू रविन केसी, दिनेश जोशी, गोविन्द बिस्ट, जनक शाही, राजेश रावल, मनीषा बस्नेत, चिरायु भेटवाल, समीर थापा, प्रजिना दर्नाललगायतलाई प्रहरीले गिरफतार गरेको छ । यस्तै नवराज भट्ट, पुष्प न्यौपाने, सुर्खेतबाट प्रेम शाही, काठमाडौँबाट सपना मगर, कपिलवस्तुबाट विज्ञान क्षेत्री, खोटाङबाट निराजन किराँती लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल बन्दका क्रममा नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमलसहित कपिलवस्तुबाट डेढ दर्जन नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सेक्रेटरी कमलसहित १२ जना, चन्द्रौटाबाट नेकपा जिल्ला सदस्य तथा शिवराज नगर इन्चार्ज पावेललगायत ७ जना र गोरुसिङ्गेबाट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य विष्णु राउतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यस्तै अर्घाखाँचीबाट नेकपाका ७ जना नेता–कार्यकर्ता गिरफ्तार भएका छन् । शीतगङ्गा नगरपालिका वडा नं ११ धानखोलाबाट ७ जनालाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेहरूमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरीलगायत रहेको जानकारी पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीमगरले दिए ।

यता उपत्यकाबाट नेकपाका ललितपुर सेक्रेटरी रमेश डङ्गोल, काठमाडौँ कालीमाटीबाट श्रमिक समुदाय मोर्चा काठमाडौँका सदस्य राज गजमेर र जमलबाट अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सदस्य एवम् पशुपति क्याम्पस अध्यक्ष सुवास महतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उपत्यकाबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् उपत्यका जिल्ला अध्यक्ष डीबी चन्द, केन्द्रीय सदस्य दयाराम लुहार, इन्जिनियरिङ जिल्ला इन्चार्ज/संयोजक प्रेम सिँजापति, जिल्ला सचिव प्रजित विक, जिल्ला सदस्य सरस्वती कार्की, महेश सुनार, क्याम्पस जिल्ला सदस्य प्रदीप बोम्जनलगायतलाई प्रहरीले भद्रकालीबाट गिरफ्तार गरेको छ ।

नेकपाले पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धि, जनतामाथि निरन्तर थोपरिएको महँगी, तस्करी, कालोबजारी, राज्यका सबै क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको विरोध र राष्ट्रिय स्वाधीनता रक्षा गर्न माग गर्दै मङ्गलबार नेपाल बन्द आह्वान गरेको थियो । नेपालका शासकहरूले विदेशीसामु लम्पसार पर्ने र आफ्नो स्वार्थमा राष्ट्रियता नै धरापमा पार्ने काम गरेकाले राष्ट्रियता झन्झन् खतरामा परेको भन्दै नेकपाले कात्तिक ३० गते नेपाल बन्दसहित आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको थियो । बन्दका कारण मङ्गलबार देशभरिको जनजीवन ठप्प रहेको छ । लामो तथा छोटो दूरीका मालबाहक सवारीसाधनहरू ठप्प रहे भने ठूला उद्योगधन्दा, कलकारखाना तथा व्यापारव्यवसाय ठप्प भए । देशका प्रमुख सहरहरू सुनसान बने । बन्दका कारण विद्यालयहरू बन्द रहे तर अत्यावश्यक सामग्री बोकेका गाडी, प्रेस, एम्बुलेन्स र दमकलहरू भने सञ्चालनमा आएका थिए ।

काठमाडौँ उपत्यकामा पनि बन्दको प्रभाव परेको छ । उपत्यकाका कोटेश्वर, कलङ्की बानेश्वर, बबरमहललगायत मुख्य चोकहरूमा बन्दको प्रभाव परेको छ । काठमाडौँका विभिन्न ठाउँमा बन्दकर्ताहरूले सडकमा टायर बालेका थिए ।

उता पाल्पा र गुल्मीमा पनि बन्दकर्ताहरूले सडकमा टायर बालेका थिए । रूपन्देहीको बुटवलमा पनि नेपाल बन्दको प्रभाव पर्यो । बुटवलमा यातायात, बजार क्षेत्र, औद्योगिक क्षेत्र, शैक्षिक संस्था, होटेलव्यवसायहरू बन्द रहे । नेकपा कार्यकर्ताहरूले बिहानैदेखि पेट्रोलियम पदार्थ र खाद्यवस्तुमा गरिएको चर्को मूल्यवृद्धिविरुद्ध सडकमा निस्केर नारा लगाएका थिए ।

बन्दको प्रभाव अर्घाखाँचीमा पनि परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै गरिएको बन्दमा यातयातका साधन चलेनन् भने बिहानदेखि सडक सुनसान भएको छ । दाङमा बन्दकर्ताहरूले सडकमा टायर बालेर नभई जेब्रा क्रसिङ निर्माण गर्ने र रङरोगन लगाउने काम गरेका छन् । बन्दको बेला सडक खाली भएको समयमा उनीहरूले ट्राफिक सङ्केतहरू व्यवस्थित गर्ने काम गरेका छन् । नेकपाका कार्यकर्ताहरूले झाडु लिई सडकमा निस्केर सरसफाइ गरेका छन् । यस्तै कैलाली कञ्चनपुर, महेन्द्रनगर दिपायलमा पनि बन्दले जनजीवन ठप्प बनेको छ । यस्तै नेपालगन्जमा पनि बन्दको प्रभाव परेको छ ।

यता पोखरा र हेटौँडामा पनि बन्दको प्रभाव परेको छ । यस्तै पूर्वको धरान, इटहरी, विराटनगरलगायत ठूला सहर र जिल्लाहरूमा पनि बन्दको प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :