जनताको पार्टी बोल्दा नेपाल बन्द सफल भयो : भुवन जिसी

जनताको पार्टी बोल्दा नेपाल बन्द सफल भयो : भुवन जिसी

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले आजको नेपाल बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । कार्यालय सचिव विकासले दिएको जानकारी अनुसार आफ्नो पार्टी केन्द्रीय समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न, बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न, सुस्तामा १६ विगाहा भूमिमा भारतीय शाषकहरूले हालेको छाप्रो हटाउन, लिपुलेक, लिम्पियाधुरा, कालापानीमा जनगणना गराउने उद्देश्यले नेपाल बन्दको आयोजना गरेको बताएका छन् ।

बन्द कार्यक्रममा पाल्पा जिल्लाका उद्योगी, व्यापारी, यातायात व्यवसायी, शिक्षक, बुद्धिजीवी, विद्यार्थी, पत्रकार, मजदुर, किसान, कर्मचारी सेना प्रहरी सबैसबैलाई धन्यवाद व्यक्त गरेको छ । धन्यवाद दिँदै नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी भुवन जिसिले भने, “जनताको पिरमर्कालाई बुझ्ने एजेन्डा हाम्रो पार्टीले बोल्दा जनताले सहयोग गर्छन् भन्ने कुरा आजको बन्दबाट फेरि पनि पुष्टि भएको छ ।”

नेपाल कम्युनिस्ट पार्टीले पूर्वघोषित कार्यक्रम अनुसार कात्तिक २५ गतेबाट शृङ्खलाबद्ध सङ्घर्षका कार्यक्रम गर्दै आएको थियोे । सोही अनुसार आज नेपाल बन्द भएको थियो । नेपाल बन्द शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको जानकारी दिएका छन् । बन्द बिहान पाँच बजेदेखि छ बजेसम्म एकदिनको लागि गरिएको थियो ।

पाल्पामा एकाध ठाउँमा सडकमा टायर बालिएता पनि बन्दकर्ताहरूले कुनै सार्वजनिक एवम् मानवीय क्षति हुने खालका घटना घटाएका भने छैनन् । यस्तै दाङमा नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ताहरूले आज बन्द कै दिन सडकमा सरसफाई तथा जेब्राक्रसिङ्ग पेन्टिङ गरि रचनात्मक कार्यसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :