सडकबाटो हरायो भन्दै जनप्रतिनिधिले मागे नेता आदर्शसँग हारगुहार

सडकबाटो हरायो भन्दै जनप्रतिनिधिले मागे नेता आदर्शसँग हारगुहार

रोल्पाः नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चुडामणी वली ‘आदर्श’ लामो समयपछि आफ्नो जन्मस्थल रोल्पाको गंगादेव स्थित झ्याममा बुधबार पुगे । प्रतिबन्धको समयमा जेल हिरासत मुक्त भएपछि गृह जिल्ला फर्केका नेता वली भेटघाटमा व्यस्त छन् ।

बुधबारको भेटघाट कार्यक्रममा नेता वली जन्मस्थल पुग्दा नजिकका शुभ चिन्तक तथा आफन्त मात्रै थिएनन् । त्यहाँ विभिन्न प्रतिपक्ष राजनीतिक दलका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरु समेत उपस्थित थिए ।

अनौठो विषय त के थियो भने, सत्तासिन जनप्रतिनिधि तथा सल्यान जिल्ला क्षत्रेस्वरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नेप बहादुर शाह सडकबाटो हरायो भन्दै फिर्ता गराईदिन बिद्रोही नेता चुडामणी वली ‘आदर्श’को समक्ष हारगुहार गर्दै थिए । उनको भनाई थियो, ‘युद्दको लडाईमा ध्वस्त भएको हाम्रो बस्ती शान्ति कालमा नमुना गाउँ बन्यो, यसलाई लाभान्वित हुनेगरी रेखांकन भएको मदन भण्डारी राजमार्ग आज अन्तैबाट लगिदै छ, त्यसलाई ल्याइदिनुस् ।’

उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को पहलमा भिषण लडाईमा जलेर खरानी भएको सल्यानको गुराँसे बस्तीलाई मध्यनजर गरी लिवाङ–घर्तीगाउँ–सुखाओडार झ्याम दमाचौर हुँदै डडेलधुरा रेखांकन भएको थियो तर सल्यानका सभासद टेक बहादुर बस्नेत लगायतका नेताहरुको मिलेमतोमा बाटो बंग्याएको उनीहरुले आरोप लगाइरहेका थिए ।

झापाको बाहुनडाँगीदेखि आफ्नो गाउँ हुँदै डडेलधुराको रुपाल पुग्ने मदन भण्डारी राजमार्ग अन्तैबाट मोडिए पछि दलका नेता तथा कार्यकर्ताहरु फिर्ता गराउन भनि बिद्रोही नेता आदर्शको साथ खोज्न आएका थिए ।

तिनै नेता तथा कार्यकर्ताहरु प्रायः सल्यान जिल्लाबाट आएका थिए । नेता आदर्श जन्मिएको गाउँबासीहरुको आशा र अपेक्षा पनि उस्तै थियो तर उनको गाउँका विपक्षदलका स्थानीय नेताहरु भने बेपत्ता थिए । सायदै, उनीहरुलाई मदन भण्डारी राजमार्ग आउँदा वा नआउँदा पनि खासै फरक पर्नेवाला थिएन, यस्तैयस्तै आभाष बुझ्न सकिन्थ्यो ।

यता समाजवादी दलका प्रतिनिधि नेता टोप बहादुर चन्दले रोल्पाली नेता वर्षमान पुन र सल्यानी नेता टेक बहादुर बस्नेत, गुलाब जंग शाह लगायतका नेताहरुको साँठगाँठमा मदन भण्डारी राजमार्ग रोल्पाको सुकाओढार हुँदै पातिहाल्ना थारमारेबाट लैजान लागेको गुनासो नेता ओली समक्ष सुनाए ।

माओवादी केन्द्रका प्रतिनिधि रेशम अधिकारी, नेपाली कांग्रेसका प्रतिनिधि शिव कुमार शर्मा, नेकपा एमालेका नेता खडक शाहीले आफ्ना नेताहरुले समेत मदन भण्डारी राजमार्गको रेखांकन विषयमा साथ नदिएको गुनासो बिद्रोही नेता आदर्श समक्ष पोखे ।

युद्दको भयंकर लडाई भित्र जलेको गुराँसे बस्ती हुँदै सुदूरपश्चिम पुग्ने राष्ट्रिय महत्व बोकेको राजमार्ग योजना आफैले भोट हालेर जिताएका नेताहरुले अन्तैबाट लर्काएको थाहा पाएपछि काठमाडौँका मन्त्रालयको ढोका ढकढक्याएको, मन्त्री निवासको ढोका ढकढक्याएको र कैयौं मन्त्री तथा सभासदहरु समक्ष हारगुहार गर्दा पनि कतै सुनुवाई नभएको उनीहरुको गुनासो थियो ।

यस्तो लाग्थ्यो, समृद्ध नेपालको विकास योजना बोकेर सत्ताको बागडोर समाएका सत्ताधारीहरु आफ्नै सत्ताबाट हारेर, न्यायका लागि बिद्रोही नेता कहाँ हारगुहार गरिरहेका छन् ।

त्यसपछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चुडामणी वलीले मदन भण्डारी राजमार्ग झ्याम दमाचौर हुँदै रेखांकन हुनु पर्नेमा जोड दिए । सल्यानका सभासद टेक बहादुर बस्नेत लगायतका उच्च नेताहरुलाई राजमार्ग अन्यत्रबाट नलैजान भन्दै चुनौती दिदै भने, `यदि लगिए बन्दुकको गोली वर्षिनेछ ।`

कसैले राजमार्ग अन्यत्रबाट मोडेर लैजान खोजे भौतिक लडाई लड्न समेत पछि नपर्ने नेता ओलीले बताए । उनले उपस्थित सबैलाई बाटो फर्काइ दिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :