नेपालमा संसदीय व्यवस्था असफल भयोः अपेक्षा

नेपालमा संसदीय व्यवस्था असफल भयोः अपेक्षा

पाल्पाः पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी, पाल्पाले रिब्दिकोट गाउँ पालिकाको हार्थोक बजारमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले नेपालमा संसदीय व्यवस्था असफल भएको बताइन् ।
उनले भनिन्, `संसदीय व्यवस्था असफल भएर अहिले देशमा न्यायलयदेखि लिएर सबै ठाउँहरुमा झगडा, झपड, भ्रष्टाचार, अराजकता मौलाएको छ, जसलाई हेरी साध्य छैन्, यति मात्रै होइन् नेपालमा राजा र विदेशीको मध्यस्थतामा संसदीय व्यवस्था नेपाली नेता भनाउँदाहरुले आत्मसर्पण गरि स्थापना गरेका कारण उनीहरु साम्राज्यवादीहरुको एजेन्ट भएर काम गरिरहेका छन्, जसका कारणले नेपाल र नेपालीहरुलाई संसदीय व्यवस्था जनताको व्यवस्था हो भनेर ढाँटेर शासन गर्दै देश बेच्ने काम गरिरहेका छन् । जो व्यवस्थामा यिनीहरु आँफै अनुसरण समेत गर्न नसकेर भद्रगोल अवस्थामा पुगेका छन् ।`

यो व्यवस्थाले सिंहदरबार गाउँगाउँमा ल्याउने भनेर पिटिएको नाराले अहिले गाउँगाउँ, बजारबजारमा, गल्लिगल्लिमा, कार्यलय कार्यलयमा भ्रष्टाचार, अराजकता, महङ्गी, हत्या, बलत्कार, हिंसामार्फत अशान्ति ल्याएको र कर बृद्धिले जनताको ढाड भाँचिएको उनले बताइन् ।

यो संसदीय व्यवस्थामा पुँजीपती र पहुँच हुनेवालाहरुको मात्रै हालीमुहाली भएको तर दक्ष इमानदार गरिब जनताको सडक छाप भएको र यो संसदीय व्यवस्था विदेशी शासकको एजेन्ट व्यवस्था भएको दाबी गर्दै उनले भनिन्,`यसकारणले गर्दा धर्मभक्त माथेमादेखि कालापानी नालापानीसम्म हजारौं शहिदहरुको बलिदान भयो, लाखौं घाइते भए र केटाकेटी बृद्ध बुवा आमाले समेत पानी नखाएर लडे, हाम्रो पुर्खाहरुले कहाँ गएर लडेनन् शासकहरुका विरुद्ध तर शासकहरुले सम्झौता गरेका छन् ।शासकहरुले विदेशीको इच्छामा महाकाली सम्झौता गरे बेरोजगार अन्त्य हुन्छ, समृद्धि आउँछ भन्थे खोई समृद्धि आएको ?`

सोही प्रसंगमा शासकहरुले यस्तै फेरि भ्रम हालेर राष्ट्रघाती सम्झौता एमसीसी ल्याएको बताइन् । यो सम्झौता अमेरिकी शासकको योजनामा गरिबी निवारणको आर्थिक प्रोजेक्ट भनिए पनि सारमा यो उत्पीडित राष्ट्र र त्यहाँका जनतालाई खरिदबिक्री गर्ने साम्राज्यवादी रणनीति भएको र यो ईन्ड्रोप्यासेफिक सैन्य रणनीतिक भएको दाबी गरिन् । विश्वमा आफ्नो साम्राज्यवादी हैकम कायम राख्न अमेरिकाले महाशक्तिका रुपमा उदयमान छिमेकी देश चीनलाई हान्ने योजनामा नेपाल आउन यो एमसीसी सम्झौता अगाडि सारेको बताइन् । साथै उनले विश्वमा सबैभन्दा बढी मुल्य पर्ने युरेनियम धातु मुस्ताङ लगायतका विभिन्न ठाउँमा भएकाले उक्त धातु कब्जा गरेर उत्खनन गरी लैजाने उदेश्यले पनि अमेरिका एमसीसी प्रोजेक्टको बाहानामा आउन लागेको समेत उल्लेख गरिन् ।
यदि नेपालमा यो पास भयो भने अमेरिकी सेना आएर चीन विरुद्ध लडाइँ शुरु गर्ने भूमिको रुपमा नेपाललाई प्रयोग गर्दा नेपालमा अशान्ति छाई अमेरिकी युद्ध चौकी स्थलका रुपमा नेपाल परिणत हुने समेत जिकिर गर्दै उनले भनिन्, `त्यसैले यो नेपाली राष्ट्रघाती सम्झौता हो, पास हुन दिदैनौं शासकहरु पास गरे देशबाटै लखेट्छौँ ।`

त्यसैले अबको विकल्प भनेको नेपालका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक लगायत सबैखाले समस्याको एक मात्र समाधान व्यवस्था बदलेर मात्र हल हुने त्यस्तो अवस्थाको शासकीय स्वरुप र अवधारणासहित आफ्नो नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादी भएको व्यवस्था भएको जिकिर गरिन् ।

यसका लागि आफ्नो पार्टीले संसदीय सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार गठन गरेर त्यही सरकारको नेतृत्वमा जनतालाई व्यवस्था चुन्ने अधिकार दिन जनमतसंग्रह गर्नुपर्ने कार्यनीति लिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :