सपाङ्गहरूको लागि प्रेरणादायी घाइते जीवन

व्यक्तिगत जीवनका रंगिन रहरहरू थाँती राखेर सामुहिक जीवनको सुन्दर सपनासहित बन्दुक बोक्ने एउटा होनहार सिपाही हुन् प्रेमबहादुर वयक ‘पर्वत’ । उनले बन्दुकको बलमा टिकेको पुरानो व्यवस्था ढालेर नयाँ जनवादी व्यवस्थाको परिकल्पनासहित जनयुद्धको तुफानी दिनहरूमा आफ्नो शसक्त उपस्थिति जनाए । कैलालीको चुहा–२ घर भएका पर्वत नेकपामा सक्रिय छन् । उनी घाइते तथा अपाङ्ग योद्धा संघका केन्द्रीय अध्यक्षसमेत हुन् । पूर्व जनमुक्ति सेना नेपाल सातांै डिभिजन लिस्ने–गाम स्मृति व्रिगेड अन्तर्गत बटालियन कमाण्डरसम्म पुगेका तिनै पर्वत अहिले शारीरिक रुपमा अपाङ्ग छन् । दुई वटै गोडा चल्दैनन् । अहिले पनि उनको शरीरले ७ वटा छर्रा बोकेको छ । ६ वटा त टाउको मै छन् । पहिलो पटक २०५९ मा रोल्पाको गाममा तत्कालिन शाही सेनासँगको भिडन्तमा घाइते भए । उपचारपछि फेरि पनि जनमुक्ति सेनाकै विन्यासमा फर्किए । २०६१ सालमा कैलालीको लम्कीमा सेनाको रेन्जर बटालियनसँग लडाई भयो र पर्वतको मेरुदण्डमा गोली लाग्यो । घटनाको विवरण सुनाउँदै उनी भन्छन् – ‘हामी शहरमा लडिने लडाई मोर्चाबद्ध युद्ध लडिरहेका थियौं । मलाई मिनि जिपीएमजीको गोली लाग्यो र ढलँे । घाइते भएपछि उपचारको लागि पार्टीको पहलमा प्रवास लगियो । त्यही भारतीय प्रहरीले पक्राउ ग¥यो । ३ महिनापछि जेल राखेर छोड्यो । २०६४ सालमा नेपाल आएँ । स्पाइनल कर्ड र गोडा जोड्ने मुख्य नसा चुँडिएछ । त्यसैले दुवै गोडा नचल्ने भए । अहिले बैसाखीको प्रयोग गरिरहेको छु । मेरा दुबै गोडा काटेर फाले पनि थाहा हुँदैन ।’

देशको निम्ति ज्यानको बाजी लगाएका पर्वतलाई सवैभन्दा बढी पीडा विजयको सन्निकट पुगेको जनयुद्ध विसर्जन हुनुमा रहेछ । उनी भन्छन – ‘प्रचण्डहरूले गद्दारी नगरेको भए आज यो अवस्था देख्नुपर्ने थिएन । जनयुद्ध लडेर आएको शक्तिशाली पार्टी पनि छिन्नभिन्न भयो ।’ आशावादी सोचका धनी पर्वत भन्छन – ‘भोली के हुन्छ थाहा छैन, तर उनीहरूले गद्दारी गरे पनि विप्लवको नेतृत्वमा अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवाद चुम्ने जुन लक्ष्य लिएको छ । यसमा मैले शहीदका सुन्दर सपना पूरा हुने संकेत देखेको छु । अब क्रान्तिको रक्तरन्जित झण्डा ढल्न दिनुहुँदैन । नेकपाको यो कदमलाई मेरो सलाम छ । त्यसैले त मैले आधा जिन्दगी समर्पण गर्दा पनि आफूलाई गौरवान्वित ठानेको छु ।’ कुनै सहारा विना हिडडुल गर्न नसक्ने अवस्थाको अपाङ्ग शरीर हँुदा पनि क्रान्तिकारी भावना र विचारले लैस उनी आफूमा कहिल्यै पनि भावना हावी हुन दिदैनन् । विचारले नै आफूलाई प्रेरित गरिरहन्छन् । यस्तै प्रसंगमा उनी भन्छन – ‘भावना हावी भयो भने त मेरी श्रीमती दुई छोराहरू र अन्य म जस्तै घाइते अपाङ्गहरू पनि निराश हुन्छन् । सचेतापूर्वक लडाईमा होमिएको योद्धा निरास हुने त कुरै आउँदैन ।’

विरताको गौरवशाली इतिहास निर्माण गर्ने जनताको सिपाही भएर लडाई लड्दाका सानाठुला गरी १ सयभन्दा बढी कार्वाहीमा सहभागी भएका पर्वतलाई कतिपय लडाईहरूको सम्झना पनि हुन छोडेको छ । उनी शहरी क्षेत्रको कार्वाहीको लागि गठन गरिएको विषेश लडाकु दस्ता (क्त्ँ को कमाण्डर पनि भए । २०५८ मा दार्चुलाको गोकुलेश्वर इप्रका,२०५९ मा कैलालीको लम्की प्रहरी चौकी र धनगढी कारागार,२०५९ अछामको मंगलसेन सदरमुकाम र सेनाको व्यारेकमा गरिएका सफल आक्रमणका लडाकु हुन् पर्वत । रोल्पाको गाम र लिस्नेलगायतका दर्जनौं लडाईहरूका तितामिठा अनुभव पनि उनीसँग छन् । भीषण लडाईका कैयौं क्षणहरू उनको स्मृतिबाट कहिल्यै नमेटिने तस्वीरझैं कोरिएका छन् । उनी भन्छन् – ‘रोल्पाको गाममा केही घण्टादेखि सेनासँग दोहोरो भिडन्त चलिरहेको थियो । त्यतिवेला जमानसिंह पुनलगायतका २१ जना एउटै लडाईमा ढल्नुभयो । त्यो दिन विर्सन सक्दिन । त्यस्तै अछामको मंगलसेन ब्यारेक कब्जा गर्नै लाग्दा दुई जना साथी एक जनालाई घाँटीमा र एक जनालाई छातीमा गोली लाग्यो । उहाँहरू अन्तिम सासमा कमरेड हाम्रो रक्तिम झण्डा ढल्न नदिनु है भन्नुभयो । म त्यो दिन पनि विर्सन सक्दिन । यस्तै कात्तिक महिनाको अन्तिमतिर माइनस १० डिग्री भन्दा तल तापक्रम झरेको बेला जुम्ला, खलंगा सदरमुकाम हमला गर्दै थियौं । त्यती बेला हामी सायद सैन्य ब्यारेक सबै खरानी बनाएर आउने थियौं । तर ३÷४ फिट हिउँमा हिउँकै हार्ड बनाएर रातभर बस्दा रगत जमेर धेरैको ज्यान गयो । हाम्रा सबै आधुनिक हतियार जाम भएर चलेनन् । मैले स्याउ भेट्टाएर एक झोला खाएँ । बल्ल बाँच्न सफल भएँ । त्यो दिन पनि कहिल्यै विर्सन सक्दिन । यस्ता धेरै घटना छन् ।’ धैरै चोटी मृत्युको मुखमा पुगेर बाँच्न सफल पर्वतका यस्ता निकै साहसिक र स्मरणीय धेरै क्षणहरू आज पनि सम्झनामा ताजै छन् ।

जनमुक्ति सेनामा भर्ति भएको केही समयपछि सेनामै कार्यरत एक जना महिलासँग पर्वतको प्रेम भयो र कम्युनिस्ट संस्कारअनुसार प्रगतिशील विवाह पनि भयो । तर एक वर्ष पुग्दानपुग्दै उनी घाइते भएर दुवै गोडा नचल्ने अवस्थामा पुगे । यस्तो बेला उनकी जीवनसंगीनी धनसरी वयक (रावत) ले सबै भन्दा नजीकबाट सहयोग गर्दै रहिन् । साथमा उनका दुई जना छोरा पनि सहयोगी छन् । आजभोलि क्रान्तिको सपनासहित अघि बढिरहेको अग्रदस्ता नेकपामा सक्रिय पर्वत सहयोगी र वाकरको भरमा पार्टी कामको लागि देशको जुनसुकै कुनामा पनि पुग्ने गर्दछन् । यसको अलाबा उनी सामाजिक कार्यहरूमा पनि सक्रिय रहन्छन् । कैलालीमा आफ्नो छिमेकमा रहेका अपाङ्ग र असक्तहरूको हितको लागि उनी एउटा सस्था खोलेरै सक्रिय छन् । उनी नयाँ जनसत्ताको न्याय विभागमा पनि काम गर्दछन् । साँझ विहान उनको घरमा विभिन्न खालका समस्या र काम लिएर आउने मानिसको लर्को हुन्छ । अपाङ्ग हुँदा पनि सपाङ्गको भन्दा ठूलो जिम्मेवारी निर्वाह गरिरहेका प्रेमबहादुर वयक सबैका प्रेरणाका श्रोत हुन् ।

२०७४ भदौ ३ गते ११ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :