बर्मझिया

रिघरि, पटकपटक
बग्न त रगत पानीसरि बगिरहेकै छ
के पहाड, के मधेस चारैतिर
नयाँदशकको हत्याराले नयाँयुगका राता रक्तबीजहरू छरिरहेकै छ
अभावको कालो बजारमा महँगीको हाहाकार बढेर
सबैथोक दुर्लभ बने पनि
गल्लीगल्ली सडकसडक
र, गाउँ बस्तीभरि
गोलीले ढलेर मान्छेको ज्यानभने झनै सस्तो भइरहेकै छ
तर तिम्रो काखमा त्यै एउटा ज्यान ढल्दा
घाम पनि आकाशमा मधुर भएको छ ।
बर्मझिया, तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई क्रूर कालकुट भएको छ ।
एउटै रगतको साइनो रहेछ आखिर
मेची र महाकालीका साँधहरूमा
एउटै वर्गको नाता रहेछ आखिर
कमला र भेरीका छालहरूमा
एउटै धर्मको उपासना रहेछ आखिर
झापा र धनुषाका बलिदानहरूमा
एउटै कर्मको आराधना रहेछ आखिर
गोर्खा र रोल्पाका अनुष्ठानहरूमा
निरन्तर चलिरहेको रक्तिम युद्धमा
मिसिसिपीदेखि भोल्गासम्म एउटै रंग छ
निरन्तर फैलिरहेको वर्गीय युद्धमा
लिमादेखि मनिलासम्म एउटै तरंग छ
यतिखेर तिम्रो काखपूर्वमा रगतपच्छे हुँदा
पश्चिममा रुकुम पनि प्रतिशोधले चूर भएको छ
बर्मझिया
तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई क्रूर कालकुट भएको छ ।
माटोमा भिजेका तिम्रै रगतका टाटाहरूले
जनअदालतको खुला इजलासमा
बर्बर हत्याको किटानी जाहेरी दिइरहेछन्
उदास नहरको संतप्त किनारमा
शोकमग्न उम्रेका सिसौका बोटहरूले
तिम्रै ज्यानमुद्दाको सरजमिन गरिरहेछन्
मकैका घारीले बारीबाट
आक्रोशित मुद्रामा तिम्रै हत्याको साक्षी बकिरहेर्छन्
प्रत्यक्षदर्शी पटुवाका झाडीले
फरार अपराधीहरूका बर्बर अनुहारहरू सम्झँदै
गिरफ्तारीको हुलिया काटिरहेछन्
शोकविह्वल छन् सबै गाउँ
भावविह्वल छन् सबै ठाउँ
तैपनिशान्त र सहजभएर
अशान्तजीवनको सागरमा
निरन्तर चलिरहेछ मुक्तियात्राको नाउ
आफ्ना शोकाकुल घडीलाई नयाँ शक्तिमा फेरेर
फेरि पनि दृढ र कर्मशील मनस्थिति लिएर
साँझबिहान पँधेराहरूले
गाइहेछन् पेरुमा लालझन्डाका गीतहरू
सबेरै झिसमिसेमा उठेर चराहरूले
घन्काइरहेछन् कलरव स्वरमा सङ्घर्षका नाराहरू
रुष्ट हावाले
दुस्मनका गुप्त पदचापहरू पछ्याइरहेछ
फेरि उस्तै सङ्घर्षशील भएका छन् सबै ठाउँ
एउटा मास्टरसाहेबलाई मारेर
जनपाठशालाहरू नै बन्द गर्न खोज्ने जल्लादहरूको मृगतृष्णा
एउटा जनयोद्धालाई हत्या गरेर
मुक्तियुक्त नै रोक्न खोज्ने मोशादहरूको कपोलकल्पना
यतिखेर चकनाचुर भएर
निष्फल बनेका छन् बैरीहरूका सबै दाउ
मतृभूमिका महान् सन्ततिहरूको मृत्युञ्जयी बलि¬दानले अभिभूत भएर
यस बेला सिंगो राष्ट्र नै एउटै जुलुस भएको छ
बर्मझिया,
तिम्रो प्रत्येक थोपा रगत ब्युँझेर
आज बैरीलाई क्रूर कालकुट भएको छ
तिम्रो सम्मानमा गौरवले झुकेर उठ्दै
सारा देश नै अरिंगालको गोलोझैँ एकजुट भएको छ ।
(१ भदौ, २०५६)

२०७४ भदौ ४ गते ६ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!