युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सम्पन्न

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ ।

दाङको घोराहीस्थित सहिद मञ्चमा भएको उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन समारोहलाई नेकपाका महासचिव विप्लव लगायत समारोहका अतिथिहरूले मैनबत्ती बालेर साथै पटका पट्काएर उद्घाटन गरेका हुन् ।

पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले युवाहरू निराश हुनुनहुने धारणा राखेका छन् । उनले संसारभरि श्रम गर्न पुगेका नेपाली श्रमजीवी युवाहरूले ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनलाई नियालिरहेको भन्दै तमाम बिदेशी भूमिमा सस्तो श्रममा बेचिएका युवाहरूको आवाजलाई सङ्गठनले सम्बोधन गर्ने बेला आएको बताए । महासचिव विप्लवले दलाल पुँजीवादी सत्ताले आफूहरूलाई प्रतिबन्ध लगाएर समुल नष्ट गर्न खोजेको समेत जिकिर गरे । विप्लवले आफूहरू जहिले पनि शान्तिपूर्ण ढङ्गले राजनीतिक कार्यक्रम अघि बढाइरहेको भएतापनि दलाल सत्ताले युद्धमा जबर्जस्त होम्न खोजेको जिकिर गरे ।

एक फरक प्रसङ्गमा महासचिव विप्लवले संसदीय व्यवस्था पूर्ण रुपले असफल सिद्ध भइसकेको बताउँदै अब नेपालमा वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको समेत स्पष्ट पारे । उनले भने, “हामी शान्तिपूर्ण बाटोबाट जनमतसङ्ग्रहमार्फत नेपालमा जनतालाई व्यवस्था चुन्ने अधिकार दिने एजेन्डा लिएर आएका छौँ, हामीलाई बन्दुके र अधिनायकवादी भन्नेहरू व्यवस्था चुन्ने अधिकार जनतालाई दिन तयार हुनुपर्छ ।”  विप्लवले तीनबुँदे सहमति कार्यान्वयन गर्न राज्य तयार नभएको प्रति असन्तुष्टि जनाउँदै कुनैपनि हालतमा षड्यन्त्रका तानाबाना बुन्न थाले आफूहरूले घेरा तोडेर जनतामा जाने उद्घोष गरो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’, नेकपाका केन्द्रीय सदस्य एवम् सङ्गठनका पुर्व केन्द्रीय अध्यक्ष दिपक, नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, पार्टी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिकी उपाध्यक्ष भृकुटी र अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय समिति सदस्य तथा युवा सङ्गठन नेपालका इन्चार्ज कृति, नेकपाका केन्द्रीय सदस्यहरू असल, सबिन, जागृति, प्रज्वलन, नेकपाका निवर्तमान दाङ जिल्ला इन्चार्ज बिक्रम, दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष सीता बिक ‘सम्झना’, नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिप लगायतको आतिथ्य रहेको थियो ।

युवा सङ्गठन नेपालका केन्द्रीय महासचिव सागरको स्वागत मन्तव्यबाट शुरु भएको चौथो राष्ट्रिय सम्मेलनको सञ्चालन सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेशले गरेका थिए भने उद्घाटन समारोहको अध्यक्षता युवा सङ्गठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक पाटन जङ्गलीले गरेका थिए ।

कार्यक्रममा सामना सांस्कृतिक पारिवारले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने सङ्गठनका संस्थापक अध्यक्ष, दोस्रो राष्ट्रिय सम्मेलनका अध्यक्ष तथा प्रथम राष्ट्रिय भेला आयोजक समितिका संयोजकलाई सम्मानपत्रसहित सम्मान् गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :