बंगालादेशको माओवादी पार्टीको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं / भदौ ३  : बंगालादेशको कम्युनिस्ट पार्टी ‘पूर्व बंगाला सर्वहारा पार्टी’ ले हालै आफ्नो चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी सोको विवरण सार्वजनिक गरेको छ । पार्टीका तर्फबाट प्रवक्ता आलमगिर होसेनले जारी गरेको विज्ञप्तिमा सो महाधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न र क्रान्तिलाई अगाडि बढाउन प्रभावकारी भूमिका खेल्ने उल्लेख गरिएको छ ।
बंगालादेशमा माओवादी पार्टीका संस्थापक महासचिव कमरेड सिराज सिकन्दरको १९७५ मा भएको हत्यापछि विशृङ्खल अवस्थामा रहेको माओवादी आन्दोलनलाई संगठित गरेर एकताबद्ध किसिमले अघि बढाउन निकै प्रयास भए पनि त्यहाँ अझै यो प्रयासले साकार रूप लिन सकेको छैन । नेपालको जस्तै त्यहाँ पनि माओवादका नाममा ३/४ वटा पार्टीहरू छन् । ‘पूर्व बंगाला सर्वहारा पार्टी’ सन् १८८४ मा गठित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) र ’ ’ कम्पोसा’ मा आबद्ध पार्टी हो । यसमा पनि फुट र विभाजन आएपछि यो निष्क्रियजस्तै भएको थियो । महाधिवेशनपछि प्रवक्ता आलमगिर होसेनले जारी गरेको वक्तव्यको पूर्णपाठ– हामी, पार्टीका सदस्यहरू, कार्यकर्ताहरू, छापामारहरू र शुभचिन्तक र समर्थकहरू र क्रान्तिप्रेमी जनतालाई हालै हामीले हाम्रो पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिन पाउँदा असाध्यै हर्षित छौँ । गोप्य र भरपर्दो सुरक्षा नीति अँगाल्दै पार्टीका छापामारहरूको सशस्त्र सुरक्षा दस्ताको विशेष सुरक्षा र निगरानीका साथ पार्टीका सबै शाखा र विभागका प्रतिनिधि र पर्यवेक्षकको सहभागितामा पार्टीले सफलताका साथ यो महाधिवेशन सम्पन्न गरेको छ ।

सशस्त्र संघर्षका क्षेत्रहरू (प्रारम्भिक छापामार इलाकाहरू) का नेतृत्वहरूका साथै सहर र जनवर्गीय मोर्चाहरूमा काम गर्ने कमरेडहरू पनि महाधिवेशनमा सहभागी हुनुभयो । साथै किसान, मजदुर, बुद्धिजीवि र विद्यार्थी मोर्चामा काम गरिरहेका कमरेडहरूका प्रतिनिधिहरूको पनि महाधिवेशनमा उपस्थिति थियो । तराई तथा पहाडी क्षेत्रका आदिवासी कमरेडहरूका साथै बंगाली राष्ट्रियतासित सम्बद्ध नेता तथा कार्यकर्ताहरूको पनि ठूलो संख्यामा उपस्थिति थियो । वरिष्ठ महिला कमरेडहरूका साथै नयाँ पुस्ताका महिला कमरेडहरूको पनि महाधिवेशनमा उपस्थिति थियो । पुराना पुस्ताका साथै युवा पुस्ताका कमरेडहरूको उपस्थितिले महाधिवेशनलाई विविधतायुक्त र एकदमै उत्साहपूर्ण बनाएको थियो ।

हँसिया (हथौडा अङ्कित रातो झण्डा झण्डोत्तलन गरेर महाधिवेशनको उद्घाटन गरिएको थियो । अनि कम्युनिस्ट अन्तर्राष्ट्रिगीत गायनसँगै महाधिवेशनको समापन गरिएको थियो । महाधिवेशनको आरम्भमा पहिलेको केन्द्रीय समिति विघटन गरियो र प्रतिनिधिहरूबाट अध्यक्षमण्डलको चयन गरेपछि त्यसैलाई महाधिवेशनको कार्यक्रम चलाउने जिम्मेवारी दिइयो । सबैभन्दा पहिले सहिदहरू र दिवङ्गत कमरेडहरूको सम्झनामा एक मिनेट मौन धारणा गरियो । महाधिवेशनले बंगालादेश तथा विश्वका सहिद तथा दिवङ्गत कमरेडहरू, विश्वका प्रतिक्रियावादीहरूद्वारा हत्या गरिएका किसान (मजदुरहरू र अन्य संघर्षशील जनताको सम्झनामा एउटा विशेष प्रस्ताव पनि पारित गर्यो ।

त्यसपछि केन्द्रीय समितिले बहसछलफल र अध्ययनका लागि प्रस्तुत गरेको “राजनीतिक प्रतिवेदन” केही संशोधनसहित हलले पारित ग¥यो र साथै विधानमा पनि केही संशोधन गरी पारित गर्यो । साथै प्रस्तुत “ संक्षिप्त संगठनात्मक प्रतिवेदन”लाई पनि वहसछलफलपछि पारित गरियो । सुरक्षाका कारण अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरू तथा देशभित्रकै सहयोगी र शुभचिन्तक संगठनहरू तथा व्यक्तित्वहरूलाई आमन्त्रण नगर्ने निर्णय गरिएको थियो । फासिवादी दमन र राज्यआतंका कारण एउटा क्रान्तिकारी पार्टीले महाधिवेशनलाई खुला र व्यापकरूपमा सम्पन्न गर्न सक्ने स्थिति नभएकाले हामीले हाम्रा भाइचारा पार्टीहरू तथा मुलुकभित्रकै शुभचिन्तकहरूलाई बोलाउनु सही नहुने ठान्यौँ । महाधिवेशनमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को मौखिक सन्देश सुनाइएको थियो ।

बन्द सत्रमा निर्वाचनको प्रक्रियाद्वारा केन्द्रीय समितिको चयन गरिएको थियो । नेतृत्वमा तिनओटै पुस्ताको मिलान थियो । नयाँ निर्वाचित केन्द्रीय समितिको विस्तारित बैठक छिटै बसेर महासचिव तथा पार्टीका अन्य निकायको चयन गर्नेछ । त्यतिबेलासम्म केन्द्रीय समितिका सदस्य कमरेड कबिरले संयोजकका रूपमा काम गर्नुहुनेछ । नयाँ केन्द्रीय समितिले राजनीतिक प्रतिवेदन छिट्टै प्रकाशित गर्नेछ । महाधिवेशन गर्न लाग्ने ठूलो रकम पार्टी शाखाहरूको माध्यमबाट तयार पारिएको थियो । हाम्रा शुभतिन्तक र सहयोगीहरूका कारण यो सम्भव भयो र महाधिवेशनले यसका लागि सहयोगी सबैलाई धन्यवाद दियो ।

पूर्व बंगाला सर्वहारा पार्टीको “चौथो राष्ट्रिय महाधिवेशन” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न र क्रान्तिलाई अगाडि बढाउन कार्यमा प्रभावकारी कार्य हुनेछ भन्ने सबै कमरेडहरूको भनाइ थियो ।

स्रोत : जनमेल
२०७४ भदौ ३ गते ४ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :