आफ्नै बारेमा रामवृक्ष यादव

  • म विद्यार्थी जीवनबाट नै समाजसेवाप्रति चाख राख्ने गर्थें ।
  • ०२२ सालमा एसएलसी पास गरी गाउँकै प्राथमिक विद्यालयमा काम गर्न थालेँ ।
  • ०२५ सालमा नर्मल तालिम (वीरगन्ज) पास गरी गाउँकै विद्यालयमा प्रअको पदमा नियुक्त भएँ ।
  • आफ्नो पदप्रति बफादार रही गाउँसमाजका गरिब गुरुवाप्रति म सहानुभूति राख्ने गर्थें । उनीहरूलाई उनीहरूको हकअधिकारप्रति ज्ञात गराइरहन्थेँ ।
  • ०२९ सालमा म नेकपा चौथो महाधिवेशनको सम्पर्कमा आएँ ।
  • मेरो नेतृत्वमा ०३० सालमा बरमझियामा मजदुर समस्यालाई लिएर मजदुर हडतालमा वैशाखमा शान्तिसुरक्षाअन्तर्गत परेँ । जसमा बद्री कार्की, हेमबहादुर मल्ल र नगेन्द्रप्रसाद रिजालका सम्धी बद्रीप्रसाद कोइरालाको प्रमुख भूमिका थियो ।
  • मलाई शान्तिसुरक्षाअन्तर्गत राखी ०३० साल भदौमा सम्पूर्ण बरमझिया गाउँ लुट्नेजस्ता अपराध र आतङ्कपूर्ण काम गर्न मल्ल र कार्की सफल भए ।
  • ०३० साल कात्तिकमा म शा. सु. बाट निस्केपछि नेकपा चौम मेरो कामबाट प्रभावित भै ०३१ सालमा पार्टी सदस्यता दियो ।
  • त्यस बेलादेखि नै मैले सक्रिय रूपपमा पार्टीको काम गर्न पाएँ ।
  • शा. सु. बाट निस्केपछि पनि सरकारले मलाई कुनै कारण नबताई एक वर्षसम्म जागिरबाट अलग राख्यो ।
  • ०३२ मा मैले शिक्षा कार्यालयमा गई आवाज उठाउँदा र कारबाही चलाउँछु भन्दा पुनः मलाई आफ्नो पदमा बहाल गरी रा. प्र. वि. बडेहाबेला (धनुषा) मा पठायो ।
  • ०३४ सालमा सरूपवा भई रा. प्र. वि. (कुसुम बिछौना) आएँ । दुःख दिने काम भई नै रह्यो । त्यसै क्रममा ०३५ सालमा सिन्धुली जिल्लाको बोर्डरमा लोटा, दूधपानी र रा.प्रा.वि. मा सरुवा गर्‍यो ।
  • ०३५ साल मङ्सिरतिर बरमझियामा सामन्त र मजदुरको विरोधमा चारजना प्रहरी पठाई मलाई पक्राउ गर्‍यो । त्यसबेला जनताले मलाई खोसेका थिए । त्यसबेलादेखि म व्यवस्थाबाट र मल्ल, कार्कीको आतङ्कबाट खुला रूपमा पञ्चायतविरोधी क्रियाकलाप गर्न थालेँ ।
  • मेरो लोकप्रियताबाट प्रशासन त्रसित हुँदै गयो र विभिन्न जाल, षड्यन्त्र रच्न थाल्यो । त्यसैको परिणामस्वरूपप ०३५ साल कात्तिकमा घटित सिन्धुलीको रघुनाथ कोइराला हत्याकाण्डमा फसाउन चन्द, मल्ल र कार्कीको संयुक्त षड्यन्त्रमा १२ जना राइफलधारी पठाई पक्राउ गरी मलाई उक्त घटनासम्बन्धी खटेर आएको डोर सिन्धुलीमा पुर्‍यायो । तर सो डोरले कुनै कतैबाट उक्त घटनामा मलाई मुछ्न आधार पाएन ।
  • तर मेरो राजनीतिक पृष्ठभूमिका आधारमा राजकाज अपराधअन्तर्गत ०३५ पुस १ गतेदेखि ०३७ साल वैशाख ५ गतेसम्म जेलमा राखी राजबन्दी रिहामा छाड्यो ।
  • जनमतसङ्ग्रहको दिन पनि बहुदल पक्षमा रघुनाथपुर बुथमा बहुदल पक्षका अपार जनताको भीड देखेर स्थानीय प्रधानपञ्च हरिप्रसाद बरालले मल्लको निर्देशनमा सकैला थानाको प्रहरीबाट प्रक्राउ गराई बहुदल पक्षीय जनतामा आक्रमण गरी मलाई मत खसाल्नबाट पनि वञ्चित गरे । उक्त थानामा बिनापुर्जी मलाई दुई दिनसम्म लुकाएर राखी राति १० बजेतिर मलाई छोडेको थियो । पछि थाहा भयो मल्लले मार्ने षड्यन्त्र गरेको रहेछ तर असफल भयो ।
  • बहुदलको हार र निर्दलको जितपछि मल्लका लठैतहरूको जुलुस मेरो घरमा गई जहानपरिवारलाई कुटपिट गरी बीसौँ हजारको सम्पत्ति लुटेर गयो । लुटमा मेरा अरू साथीहरू शोभित, विष्णुदेव आदि परेका थिए ।
    म भूमिगत हुन बाध्य भएँ ।
  • ०३९ हो कि ०४० सालको जुडी मर्डर केसमा फसाउन षड्यन्त्र गरिएको थियो । त्यसपछि उक्त इलाकामा जुनसुकै घटनामा मलाई फसाउन थालियो ।
  • ०४० साल साउनमा बरमझियामा विष खाएर एकजना मर्दा त्यसमा फसाउन तत्कालीन प्रहरी प्रमुख रमेन्द्रदीप ढकालले बद्री कार्कीको निर्देशनमा मलाई उसका केही गुन्डाहरूले समाती खुट्टा भाँची रातभर प्रधानपञ्चकै घरमा थुनी भोलिपल्ट कार्की, पुण्यप्रतापसमेत डीएसपीले त्यहाँबाट मलाई जनकपुर ल्याई औषधिउपचार गराउन हस्पिटलमा राख्दा म भाग्न सफल भएको थिएँ ।
  • म २०३० सालदेखि नै चौथो माहाधिवेशनमा सक्रिय कार्यकर्ताका रूपमा काम गर्दै आएको थिएँ । २०४० सालमा आएर पार्टी विभाजन हुँदा म मोहनविक्रम समूहमा थिएँ ।
  • पुनः २०४१ सालको पाँचौँ महाधिवेशनपछि पार्टीमा विभाजन हुँदा म नेकपा (मशाल) मा कार्यरत रहेँ ।
  • वर्तमान चालू केसमा पनि मलाई फसाउने काम मेरो जाहेरी बद्री कार्की र मल्लको भक्त भएको हुनाले नै राजनैतिक प्रतिशोधको भावनाले नै फसाइएको हो ।
  • २०३७ सालदेखि अहिलेसम्म डीएसपी कार्यालयबाट मेरो घर ४–५ पटक खानतलास भैसकेको थियो ।
  • २०३० सालको बरमझियाका मजदुर हडताल, २०३५ सालको राजकाज अपराध, २०३९ सालको जुगेडी खुन केस, २०४० सालको सवध यादवको घरको डकैती केस, जसमा जाहेरी सवध यादवको गोली लागेको छोरालाई मैले उपचार गराउन २,०००।– (दुई हजार) रूपैयाँ सङ्कलन गरी दिएको थिएँ । त्यसमा पनि इन्द्रबहादुर र मल्ल पक्षका डकैतहरूले मल्ल र कार्कीको निर्देशनमा मलाई पोल गरे । २०४५ साल भदौमा तत्कालीन खुन केस आदि सम्पूर्णमा मेरा जाहेरीहरू र प्रहरी प्रतिवेदनमा समेत मलाई पञ्चायत व्यवस्थाविरोधी कम्युनिस्ट भनी अभियोग लगाइएको छ । स्रोतःउत्सर्ग

२०७४ भदौ ३ गते ५ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :