बाढि पीडितलाई राहत देऊ – जनअधिकार अभियान नेपाल

काठमाडौं/भदौ  ३ः जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले शुक्रबार एक विज्ञप्ति प्रकासित गर्दै हालै मोरङ, सुनसरी, सिरहा, रौतहट, महोत्तरी, धनुषा, सिन्धुली, बारा, पर्सा, दाङ, बाँके, बर्दियालगायत देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी एकसयभन्दा बढीको मृत्यु भएको, दर्जनौं हराइरहेको, कैयौं घाइते भएको, कैयौं घरबारविहीन भएको, हजारौंको धनसम्पत्ति नास भएकोलगायतका घटनाहरुप्रति जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । विज्ञप्तिमा राष्ट्रिय विपत्तिको यस घडीमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइते तथा पीडामा परेकाहरुप्रति सहानुभूति प्रकट गरिएको छ । शोक र अभावग्रस्त जनताहरुलाई तत्काल राहत तथा सहयोगमार्फत् सान्त्वना प्रदान गर्न विज्ञप्ति मार्फत् अपिल गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ–
हालै मोरङ, सुनसरी, सिरहा, रौतहट, महोत्तरी, धनुषा, सिन्धुली, बारा, पर्सा, दाङ, बाँके, बर्दियालगायत देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी एकसयभन्दा बढीको मृत्यु भएको, दर्जनौं हराइरहेको, कैयौं घाइते भएको, कैयौं घरबारविहीन भएको, हजारौंको धनसम्पत्ति नास भएको लगायतका घटनाहरुप्रति यस जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय विपत्तिको यस घडीमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइते तथा पीडामा परेकाहरुप्रति सहानुभूति प्रकट गर्दछौं । यस अवस्थामा एकातिर, शोक र अभावग्रस्त जनताहरुलाई तत्काल राहत तथा सहयोगमार्फत् सान्त्वना प्रदान गर्नु अत्यावश्यक भएको छ भने कतिपयको उद्दार समेत हुन नसकिरहेको स्थिति छ । यस स्थितिमा सम्पूर्ण नेपालीहरुका साथै मानवीय भावना राख्नेहरुले हातेमालो गरी दुःख पीडामा परेकाहरुलाई मलम–पट्टी लगाउनुपर्ने भएको छ । यसक्रममा मृतकहरुको दाहसंस्कार, घाइतेहरुको उपचार, असहायहरुलाई साथ तथा सहयोग गर्दै जनधनको क्षतिको उचित क्षतिपूर्ति दिने र समस्याको भरपर्दाे व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी र दायित्व सरकारको हो । तर यसतर्फ सम्बन्धित सरकारी क्षेत्रको यथोचित पहल कदमी हुन नसकिरहेको, वास्तविक पीडितहरुले राहत पाउन नसकिरहेको र हालै निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुको पर्याप्त ध्यान जान नसकिरहेको गुनासो सुनिन थालेको छ । अतः यसतर्फ सम्बन्धित सबैको तत्काल ध्यान जानु जरुरी छ । देशमा परेको यस्तो विपत्तिको अवस्थामा सक्दो सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो । यसलाई हृदयङ्गम गरी राहत तथा सहयोगमा लागि पर्न, उद्दार तथा राहत, सहयोगका नाममा हुने अनियमिततातर्फ सजग रही खबरदारी गर्न र वास्तविक पीडितले राहत तथा सहयोगको यथार्थ महसुस गर्ने अवस्था सिर्जना गर्न एकताबद्ध भएर अघि बढन सम्बन्धित सबैप्रति यस जनअधिकार अभियान नेपाल हार्दिक अपिल गर्दछ । साथै, उक्त कार्यमा जनअधिकार अभियान नेपाल आफ्नो तर्फबाट सक्रिय सहभागी रहने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।

२०७४ भदौ ३ गते ४ः०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :