नेकपा कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न

नेकपा कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न भएको छ ।

उक्त बैठकबाट आउँदो मङ्सिर ८ गते काठमाडौँमा हुने पार्टी पुर्नगठन दिवसको अवसरमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने विशाल जनसभालाई भव्य तरिकाले सम्पन्न गर्नलाई तयारीमा जुट्ने र यही कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा हुने नेकपाको भातृ सङ्गठन दलित मुक्ति मोर्चा, नेपालको राष्ट्रिय सम्मेलनलाई महासचिव विप्लवले उद्घाटन गर्ने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सिङ्गो जिल्ला पार्टी पूर्व तयारीमा खटिने जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ ले बताए ।

त्यसैगरी दलाल पुँजीवादी व्यवस्थाले नेपाली जनतामाथि लादेको उत्पीडन, दमन, शोषण, भ्रमलाई चिर्ने गरी आफ्नो अभियानलाई अगाडि बढाएर छिटै नै जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न पार्टीको कार्यनीति जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने पार्टीको महान् आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध भएर दृढताका साथ लागिपर्ने लगायतका थुप्रै महत्वपूर्ण निर्णयहरू गरेर बैठक सम्पन्न भएको इन्चार्ज चौधरीले बताए ।

जिल्ला सेक्रेटरी जीवनको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रमुख अतिथि नेकपा केन्दीय सदस्य ओमप्रकाश पुन, अतिथिमा जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’, राष्ट्रिय समाजवादी मञ्चका अध्यक्ष देविदत्त पाण्डे, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाह, अखिल क्रान्तिकारी सुदूर–पश्चिम क्षेत्रीय समन्वय समिति इन्चार्ज प्रकाश जप्रेल र साधारण शाखा सेक्रेटरी कमल विकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :