युवा सङ्गठन नेपाल दाङको संयुक्त भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि १० जना नेकपामा प्रबेश

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल दाङ जिल्ला अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त वडा भेला सम्पन्न भएको छ । भेलाले लब जैसीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ ।

नेकपा दाङका सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष प्रकाश शाही, युवा सङ्गठन नेपाल दाङका इन्चार्ज मनोज, नेकपा राप्ती गाउँपालिका इन्चार्ज एकराज, दलित मुक्ति मोर्चा नेपाल दाङका अध्यक्ष सुरज, पार्टी जिल्ला कमिटी सदस्य भिम प्रकाशको आतिथ्य रहेको थियो । लब जैसीको अध्यक्षतामा भएको भेलाको सहजीकरण धनिरामले गरेका हुन् ।

यस्तै तुलसीपुर उप–महानगरपालिका वडा नं. १७ मा सङ्गठनको दोश्रो भेला सम्पन्न भएको जनाइएको छ । युवा सङ्गठन नेपाल दाङका अध्यक्ष तुलसीको प्रमुख आतिथ्यमा भएको भेलाको अध्यक्षता ज्वालाले गरेका थिए भने भेलाको सहजीकरण सङ्गठनका जिल्ला सचिवालय सदस्य गणेशले गरेका थिए ।

विभिन्न पार्टी परित्याग गरि नेकपा प्रबेश

राप्ती गाउँपालिकामा विभिन्न संसद्वादी पार्टी परित्याग गरि १० जनाले नेकपामा प्रबेश गरेका छन् । युवा सङ्गठन नेपाल राप्ती गाउँपालिका वडा नं. ३ र ४ को सोही संयुक्त भेला कार्यक्रममा पार्टी प्रबेश गराइएको नेकपाले जनाएको छ ।

पार्टी प्रबेश गर्नेहरूमा गङ्गु चौधरी, खिमबहादुर परियार, कमल चौधरी, लालमणि कुँवर, सुरबिर परियार, रमेश घर्ती, बेलबहादुर घर्ती, दावा शेर्पा र लालबहादुर घर्ती रहेका छन् । पार्टी प्रबेश गरेका उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य अतिथिहरूले रातो अबिरसहित स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :