नेकपाका केन्द्रीय नेता वीरजङ्गको दुःखद् निधन, भोलि शिवगढीमा श्रद्धाञ्जली गरिँदै

नेकपाका केन्द्रीय नेता वीरजङ्गको दुःखद् निधन, भोलि शिवगढीमा श्रद्धाञ्जली गरिँदै

काठमाडौँ : नेकपाका पूर्वपोलिटब्युरो र वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा दुःखद् निधन भएको छ । विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो । उपचारकै क्रममा भारत दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती उनको दुःखद् निधन भएको हो ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।

नेता वीरजङ्गको शव अस्पतालबाट भोलि नेपाल ल्याइने र उनको हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित घरमा पार्टी महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता र जनसमुदायबीच श्रद्धाञ्जलीसभा आयोजना गरिने पार्टीको केन्द्रीय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :