बुबा रामवृक्ष यादवको स्मृतिमा : सुनिता यादव

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) फुटपछि २०४० सालमा मलाई पूर्वको कार्यक्षेत्र जिम्मा दिएको थियो । खास गरेर पार्टी फुटमा चौम र मशाल भएका थिए । मेरो कार्यक्षेत्रमा मशालको प्रभाव अत्यन्त न्यून थियो ।

मशालको समर्थन गर्नेमा क. रामवृक्ष यादव, क. मातृका यादव, क. किसुन मण्डलसमेत लगभग तलका कमरेड छोडेर फिगरमा देखिने कमरेडहरू त्यतिमात्र थियौँ ।

एकीकृत हुँदा जनकपुर अञ्चल र सगरमाथा अञ्चलको प्रभाव चौममा बढी थियो । त्यसका नेता क. निर्मल लामा, क. जयगोविन्द साह, क. सूर्यनाथ यादवलगायत हुनुहुन्थ्यो ।

म पनि नयाँ सीसीएम, हाम्रा कमरेडहरू पनि त्यो राष्ट्रिय स्तरको व्यक्तित्व नउठेका कारण त्यो ठाउँमा सङ्गठन निर्माण गर्न निकै मेहनत गर्नुपथ्र्यो ।

मेची र कोसीमा मालेको दबदबा भएकाले त्यस क्षेत्रमा सङ्गठन बनाउन फलामको चिउरा चपाउनुसरह थियो ।

२०३० सालदेखि दरबारको निकट मन्त्री शेरे धनुषा भन्ने हेमबहादुर मल्ल, गिरिजा कोइरालाकी भाइबुहारी लीला कोइराला, नगेन्द्रप्रसाद रिजालका सम्धी बद्रीप्रसाद कोइराला, हेमबहादुर मल्लका विश्वासपात्र बद्रीबहादुर कार्की, स्थानीय नेकाका लठैत गङ्गाप्रसाद यादव, राजकिसन यादवसँग पौँठेजोरी खेल्दै आउनुभएको थियो क. रामवृक्ष यादव ।

क. रामवृक्ष यादवलाई सबैले मास्टर साहबको नामबाट चिन्थे । त्यो नाम बोलीचालीको जिब्रोमा थियो । आफ्नो वर्गपक्षधरताका कारणले माथि नाम लेखिएका शोषक सामन्तसँग नझुक्नु, मजदुर, श्रमजीवी वर्गको पक्षपोषण गर्ने भएकाले सायद उहाँलाई उनीहरूले चैनसँग बस्न दिएनन् ।

स्थानीय खुँखार सामन्त, फटाहा बद्रीप्रसाद कोइरालाको ७ बिघाको गहुँ काटेर किसान, सुकुम्बासीलाई उहाँले वितरण गर्नुभएको थियो । यही घटनाका कारण २०४१ सालमा क. रामवृक्ष यादवलाई खुट्टा भाँचेर प्रहरीलाई जिम्मा लगाएको घटनाबाट पनि बुझ्न सकिन्छ । खुट्टा भाँचिई जनकपुर अस्पतालमा उपचार गराउँदै गर्दा दुस्मनका आँखा छली उम्कन सफल हुनुभएको थियो ।

आईएसम्म पास गर्नुभएका गरिब परिवारका मृदुभाषी, बादन, गायन, नृत्य, अभिनयमा विशेष दख्खल राख्ने र सर्वहारा वर्गको अडिग नेतृत्व गर्न तथा बलिदानी गर्न तयार आफ्नो आस्थामा अडिग कमरेडलाई सम्झिदा मेरो अहिले पनि शिर निहुरिन्छ ।

हुनत क. रामवृक्ष यादवलाई पार्टी सीसीएममा लान सिफारिस गर्ने नेताका रूपमा म भए पनि उहाँको तुलनामा म आफूलाई सानो फुच्चे सम्झन्छु । उहाँले आफन्तमार्फत् जेलबाट पठाएका सन्देशले राष्ट्रियता, महिलाहरूप्रति अधिकारका लागि सचेत गराउने काम गरेका थिए । उहाँको चर्चित गीत ‘पेरूमा लालझन्डा फहराई रे’ ले उहाँलाई अन्तर्राष्ट्रिय सर्वहारावादका नेताका रुपमा स्थापित हुन सफल बनाएको छ ।

आफूमात्र होइन, आफ्ना एकमात्र छोरा शेखर यादव र ज्वाइँ डम्बर यादव महान जनयुद्धका क्रममा उच्च सहादत प्राप्त गर्नुभएको थियो । मास्टरनी साहब (उहाँकी जीवनसंगीनी रामकुमारी यादव)लाई मास्टर साहबले उहाँको भाषामा “बङ्ठीया वाली” (बङ्ठीया भन्ने गाउँबाट बिहे गरी आएकोले) नामले बोलाउनुहुन्थ्यो, समेत आन्दोलनमा निरन्तर लागिरहनुभयो । उहाँकी छोरी बोधमाया, कल्याणी र सुनिताहरू पनि माओवादी आन्दोलनमा लागिरहनुभएको छ ।

कम्युनिस्ट आन्दोलनमा आफू एकजना लागेर आफ्ना परिवारलाई सुरक्षित राख्ने अवसरवादका विरुद्ध तन, मन र धन सबै हिसाबले नेतृत्व गर्नसक्ने कमरेड रामवृक्ष यादवले हामी सबैलाई त्याग, वलिदान र समर्पणको बाटो देखाउनुभएको छ ।

त्यसताका क. रामवृक्ष यादव र मेरो जिम्मामा २/२ अञ्चल परेको थियो । क. रामवृक्ष यादवलाई कोसी अञ्चल, मेची अञ्चल र मेरो जनकपुर र सगरमाथा थियो । क. रामवृक्ष यादवलाई जनकपुर र सगरमाथामा दुस्मनले अत्यन्त खोजी गरेका कारणले उहाँलाई मेची र कोसीको कार्यक्षेत्रको सम्पर्क कार्यालय इटहरीमा राख्ने सबै मिलाइयो । तर कमरेड रामवृक्ष यादवले मिर्चैयाको मदेरवामा एउटा कार्यक्रम गर्ने पहिलेको सेड्युल रहेछ । उहाँले त्यसमा जान अत्यन्तै जोड गर्नुभयो । तर मैले त्यो कार्यक्रम पूरा गर्छु भन्दा पनि एक पटक मात्र जानका लागि अनुरोध गर्दा मैले हार्न सकिनँ । त्यो कार्यक्रमपछि भदौ १ गते नेपाल बन्दको दिन जनकपुरमा कार्यक्रम सम्पन्न गरेर घरतिर फर्कने क्रममा उहाँलाई कांग्रेसी आततायी गुन्डाहरूले हत्या गरे ।

उहाँको हत्यापछि मधेसमा सर्वहारा वर्गले नेतृत्व गर्नसक्ने मधेसी नेताको अभाव खट्केको छ । उहाँ अहिले भएको भए पूर्वी तराईमा अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, दलाल पुँजीवादका विरुद्ध लड्दै एकीकृत जनक्रान्तिको कार्यदिशाको माध्यमद्वारा नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नेतृत्वको जिम्मा पूरा गर्न सक्नुहुन्थ्यो भन्ने मलाई विश्वास छ । पूर्वी मधेसमा मधेसी समुदायबाट वैज्ञानिक समाजवादको नेतृत्व गर्ने कमरेडको अभाव खट्किरहको छ । हामी कम्युनिस्टहरू कुनै बितेको कुरालाई चिन्ता लिनेभन्दा पनि संसारलाई बदल्न अग्रसर कमरेडहरूको शिक्षालाई शिरोपर गर्दै शोकलाई शक्तिमा बदल्न सक्नुपर्दछ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि महान् जनयुद्ध हुनुभन्दा १ वर्षअगाडि नै क. रामवृक्ष यादवको सहादतले हाम्रो जनयुद्धलाई अगाडि बढाउन प्रेरणाको काम गरेको थियो । मानिस जन्मेपछि मर्नु स्वाभाविकै हो । महान् मृत्युको जति प्रचार गरे पनि कमै हुन्छ । क्रान्तिकारीहरूको महान् बलिदानले आन्दोलनलाई बल पुग्छ । क. रामवृक्ष यादव हाम्रो नेपाली कम्युनिस्ट आन्दोलनमा कहिल्यै नमर्ने नाम हो । महान सहिद क. रामवृक्ष यादवप्रति मेरो लालसलाम !

स्रोतः रातोखबर साप्ताहिक २०७२ भदौ ९

२०७४ भदौ २ गते २ः२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!