स्वर्ग देख्न नाक कटाउने लोभी मानिस र माओवादी केन्द्रका अनुयायीहरू

यो दलाल संसदीय व्यवस्था भनेको दलाल नोकरशाह र तिनका मित्र शक्ति सामन्त, तस्कर, भ्रष्टचारी, कमिसनखोर, मानव तस्करहरूकै हो । यो कुरा कथित स्थानीय निर्वाचनमा संसदवादी पार्टीहरूले एक अर्कालाई लगाएका आरोपहरूले नै पुष्टि गर्दछन् । आम रूपमा सबै संसदीय पार्टीहरूले र मुख्य रूपमा काँङ्ग्रेस, एमाले र माके प्रत्येकले आफुले जितेको स्थानमा स्वतन्त्र, निश्पक्ष र धाधलीरहित निर्वाचन सम्पन्न भएको वकालत गरिरहेका छन् ।

बुर्जुवा दलाल संसदीय व्यवस्थालाई ध्वस्त पारी जनवाद–वैज्ञानिक समाजवाद हँुदै विश्व साम्यवादी यात्रामा अगाडि बढ्ने उद्घोषका साथ सञ्चालित महान् जनयुद्धप्रति विश्वासघात गरी त्यही दलाल संसदीय व्यवस्थालाई संस्थागत गरेर मात्र जनयुद्धका एजेण्डा संस्थागत हुँने प्रचण्डको प्रलाप र तिनका अनुयायीहरूको कुरा सुन्दा उदेक लागेर आउँछ । गणतन्त्र, सङ्घीयता, धर्मनिर्पेक्षता, समावेसी तथा समानुपातिक पद्दति संस्थागत भयो भने के वैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ ? यदि सकिन्छ भने हिजोका दिनमा भाकपा (माओवादी) लगायतका पार्टीहरूसँग एकता गरी किन कम्पोसा बनाएको ? भाकपाका नेताहरूलाई भन्नु पथ्र्यौ तिम्रो भारतमा गणतन्त्र पनि छ, सङ्घीयता पनि छ, धर्मनिर्पेक्षता पनि छ र समावेसी समानुपातिक पनि छ त्यसैले तिमीहरूले जनयुद्ध लड्न आवश्यक छैन । संसदीय चुनावमा जाउँ र आफ्ना एजेण्डा स्थापित र संस्थागत गर । त्यसरी नै विश्वका गणतन्त्र भएका मुलुकमा रहेका माओवादी क्रान्तिकारीहरूसँग किन एकता गरी अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी आन्दोलन (च्क्ष्ः)बनाएको ? सबैलाई संसदीय निर्वाचनामा भाग लिन भनदिएको भए हुँदैनथ्यो ?

सवाल गणतन्त्र र सङ्घीयताको मात्र होइन, सवाल त सर्वहारा श्रमजीवि वर्गको अधिनायकत्वसहितको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न बल प्रयोगको मालेमावादी सिद्धान्तलाई अङ्गीकार गर्दै बलिदानीपूर्ण बाटोमा अगाडि बढ्ने वा पुँजीवादी अधिनायकत्वसहितको संसदीय व्यवस्थामा आत्मसमर्पण गर्ने भन्ने हो । प्रमुख विषय त वर्गीय उत्पीडनबाट मुक्त हुने कुरा हो । वर्गीय मुक्ति भएसँगै नेपालको सन्दर्भमा राष्ट्रिय स्वाधिनता, उत्पीडित राष्ट्रहरू (जातिहरू) र लैङ्गीक उत्पीडन र विभेदको अन्त्य पनि हो । सबैले हेक्का राख्नु पर्ने कुरा के हो भने राज्यसत्ता बाहेक श्रमजीवि जनताको निम्ति सबै कुरा भ्रम हुन् र वर्गीय मुक्ति बिना अन्य कुनै पनि मुक्ति सम्भव नै हुँदैन । वर्ग विभाजित समाज रहँदासम्म राज्यसत्ताको चरित्र पनि वर्गीय हुने कुरा मालेमावादको कखरा मात्र पढेको जो कोहीलाई पनि जानकारी भएकै विषय हो ।

अहिले नेपालको राज्यसत्ताको चरित्र के हो ? के हिजो परिभाषित गरिएको अर्धसामान्ती र अर्धऔपनिवेशिक चरित्रमा कुन कुन कारणले परिवर्तन आयो ? यसको जवाफ प्रचण्डले दिनु पर्दैन ? सामन्तवाद भनेको के राजा एउटा ब्यक्ति मात्र हो वा उत्पादन प्रर्णाली, संस्कार संस्कृति, चिन्तन र एउटा पद्दति हो ? हिजोको राजा र आजको राष्ट्रपतिमा गुणात्मक रूपले के फरक छ ? पात्र, पद र प्रक्रिया मात्र फरक भएर राज्यसत्ताको चरित्र नै फेरबदल हुन सक्छ ? फरक के मात्र छ भने हिजोका राजा जन्मजात राजा हुन्थ्ये । आजका राष्ट्रपति निर्वाचित हुन्छन् । उनले गर्ने कार्यको कुरा गर्ने हो भने हिजोका राजाले पनि संसदबाट तयार गरिएको सरकारको नीति तथा कार्यक्रम संसदमा पढेर सुनाउँथ्ये, आजका राष्ट्रपतिले पनि त्यही गर्छन् । हिजोको राजाले बेलाबखत पशुपतिमा पुजा गर्न जान्थे । विभिन्न मठमन्दिर धाउँथे, कुमारीको भोटो हेर्न जाउलाखेल जान्थे, दशैमा सबैलाई बोलाएर टीका लगाउँथे । आजको राष्ट्रपतिले पनि त्यही गर्छन् । उत्पादन प्रर्णाली हिजो जस्तो थियो आज उस्तै छ । हिजो जुन वर्गको हातमा उत्पादनका साधनहरू थिए आज पनि तिनै वर्गका हातमा छन् । राज्यसत्ताको उपरिसंरचनामा सामन्य परिवर्तन भएको देखिए पनि त्यसको आधारमा कुनै परिवर्तन भएको छैन । फरक के भएको छ भने हिजो सामन्त दलाल, नोकरशाही पुँजीवादको नेतृत्व राजतन्त्रले गरेको थियो भने आज सामन्त तथा नोकरशाही पुँजीवादको नेतृत्व दलाल पुँजीवादले गरेको छ । त्यसैले आज पनि राज्यसत्ताको चरित्र दलाल सामन्त र नोकरशाही गढजोडमा अगाडि बढिरहेको छ ।

राष्ट्रिय स्वाधिनताको कुरा गर्दा वैदेशिक हस्तक्षेप हिजोको तुलनामा घट्नुको सट्टा झन् बढेर गएको छ । १९५० लगायतका असमान सन्धिसम्झौता यथाबत नै छन् । सिमा अतिक्रमण दिनप्रतिदिन बढिरहेको छ । अझ ठुलाठुला राष्ट्रघाती सन्धिसम्झौता थपिँदै गएका छन् । विप्पा सम्झौता, अपरकर्णाली, अरुण तेस्रो र उच्च कोशी बाँध लगायतका राष्ट्रघाती सम्झौता त्यसका उदाहरण हुन् । राष्ट्रका सम्पूर्ण अवयबहरूमा भारतीय साम्रज्यवादी दलालीकरण तिब्र रूपमा बढिरहेको छ र हिजोको अर्धऔपनिवेशिक अवस्थाबाट झन् नबऔपनिवेशिकमा पुगेको छ । अतः अहिले पनि राज्यसत्ताको चरित्र दलाल सामन्ती र नवऔपनिवेशिक छ ।
जनजीविकाको कुरा गर्दा महङ्गी अकासिदो छ, कालाबजारी ब्याप्त छ, आज पनि विना वैकल्पीक व्यवस्था सुकुम्बासीका बस्तीहरूमा डोजर चलाइएको छ । बालीनाली नष्ट गरिएको छ । बेरोजगारको समस्या बिकराल छ । युवाहरू विदेश पलायन छन्, लाखौं महिला दिदीबहिनीहरूले विदेशमा नारकीय जीवन बिताउन बाध्य छन् । भाडाका सिपाही जन्माउँने देशको कलङ्क यथाबत छ । स्वास्थ्य र शिक्षामा निजीकरण र व्यापारीकरण तिव्र छ, घुसखोरी र भ्रष्टाचार दिन दुगुणा रात चौगुणा मौलाउँदो छ । राज्यको अति सम्वेदनशील मानिएका अङ्गहरूमा समेत घुसखोरी भ्रष्टाचारी र कमिसनखोरीले बदनाम र निकम्मा भएका छन् । न्यायसमेत खरिद बिक्री भइरहेको छ । जनयुद्धका एजेण्डा स्थापित भएको र सिंहदरबारको अधिकार गाउँमा पुगेको भनी कोकोहोलो मच्चाउँने प्रचण्ड मण्डलीसँग उपरोक्त तथ्यहरूको खण्डन गर्ने आँट छ ?

राज्यसत्ता र उत्पादन प्रणालीलाई अलगथलग गरी भ्रम सृजना गर्ने र नीजिकरण उदारीकरण र स्वतन्त्र प्रतिस्पर्धात्मक उत्तरसाम्राज्यवादी अर्थप्रणालीका मतियार हरूले श्रमजीवि जनताको हित गर्ने र देशलाई सम्बृद्ध बनाउँने कुरा कल्पना पनि गर्न सकिँदैन । यो त चलाक बिरालो ले मुसाहरूलाई सकुशल तिर्थाटन गराउँछु भन्ने कुरा जस्तै हो । यो दलाल संसदीय व्यवस्था भनेको दलाल नोकरशाह र तिनका मित्र शक्ति सामन्त, तस्कर, भ्रष्टचारी, कमिसनखोर, मानव तस्करहरूकै हो । यो कुरा कथित स्थानीय निर्वाचनमा संसदवादी पार्टीहरूले एक अर्कालाई लगाएका आरोपहरूले नै पुष्टि गर्दछन् । आम रूपमा सबै संसदीय पार्टीहरूले र मुख्य रूपमा काँङ्ग्रेस, एमाले र माके प्रत्येकले आफुले जितेको स्थानमा स्वतन्त्र, निश्पक्ष र धाधलीरहित निर्वाचन सम्पन्न भएको वकालत गरिरहेका छन् । र आफुले हारेको ठाउँमा सत्ता र शक्तिको दुरुपयोग गरेको बुथ कब्जा गरेको मतदातालाई आर्थिक प्रलोभनमा पारेको, करोडौं पैसाको खोलो बगाएको, रक्सी, राँगा, बोका र कुखुरा काटी भोज गराएको । रातारात पैसा बाँडेको आदि इत्यादि आरोप खुलमखुला लगाइरहेका छन् र आम रूपमा सर्वसाधारण जनताले भन्ने गरेका छन् कि अव उपरान्त यो परिपाटीमा इमान्दार निष्ठावान र गरीव ब्यक्तिले चुनाव लड्न र जित्न सक्दैन । यसले के सावित गरिसकेको छ भने यो व्यवस्थाको निर्वाचन सबैतिर एकैनासले भएको छ । उनीहरूले भनेजस्तै आफुले हारेको ठाउँमा मात्र गड्बडी भएको होइन, जितेको ठाउँको अवस्था पनि उस्तै हो भन्ने कुरा उनीहरूकै आरोप प्रत्यारोपले नै पुष्टि गर्दछन् । आम मतदाताले पनि यो घिनलाग्दो परिपाटीका बारेमा कुरा बुझ्दै गएका छन् ।

उपरोक्त विषयहरू जान्दाजाँन्दै र भन्दाभन्दै पनि माओवादी केन्द्रमा रहेका हिजो महान् जनयुद्धको प्रक्रियामा वैज्ञानिक समाजवादी आदर्शबाट प्रशिक्षित भएका, टाउँकोमा कात्रो बाँधी रणमैदानमा कुदेका, आज पनि शरिरभरी गोलीका छर्रा बोकेर हिडिरहेका, घाइते अपाङ्ग बनेका आफन्त वेपत्ता पारिएका वेपत्ता परिवार र सहिद परिवारका सदस्यहरूले कसरी यो कुरा पचाइरहेका होलान् । हिजो टाउँकाको मुल्य तोक्ने नेपाली काँङ्ग्रेस र त्यसको मुख्य नेतृत्व शेरबहादुर देउवासँग प्रचण्डले गरेको सत्ता साँठगाँठ अप्राकृतिक फाँसीवादी प्रकारको मात्र होइन कि यो लज्जा जनक पनि छ । गणतन्त्र घोषणा पश्चात प्रमुख दुश्मन भनि प्रचण्डले दस्तावेजमै उल्लेख गरेका थिए नेपाली काँङ्ग्रेसलाई । प्रमुख दुश्मनका विरुद्ध सहायक दुश्मनलाई प्रयोग गर्ने कुरा त हुन सक्छ तर प्रमुख दुश्मनसँगै साँठगाँठ गरी अगाडि बढ्ने लाजमर्दो अवस्था र फाँसीवादी चरित्र संसारमा कतै पाइँदैन होला । जनयुद्धलाई बिसर्जन गरे बापत साम्राज्यावादी तथा दलालहरूले प्रचण्डलाई उपहार स्वरूप चितवनमा पुत्री रेणु दाहालको मेयरमा बिजयीको नाटक मञ्चनका बेला लगाइएको नारा एउटा माओवादीको निम्ति सर्मनाक देखिन्छ । माओवादी काँङ्ग्रेस भाइभाइ अरू सबै बाइबाइको नारा लगाउँने कार्यकर्ताहरूको मनोदशा कस्तो होला ।
माओवादी केन्द्रलाई भोट हाल्ने वा उसको निर्देशनमा काँङ्ग्रेसको रूखमा भोट हाल्ने आम जनता र कार्यकर्ताको पिडा त खपिनसक्नु नै छ । ढिलोचाँडो सबै क्षेत्रका उत्पीडित वर्ग समुदाय न्याय र समानताको लडाइँमा समाहित हुने नै छन् । तर केही मुट्ठीभर प्रचण्डका वरिपरी रहेर सत्ताको सुख र सत्ताको आडमा भ्रष्टाचार, ठगी, तस्करी गर्नेहरूले त जनवाद र समाजवाद देख्यौ भन्दै हिड्ने नै भए प्रचण्डका यस्ता अनुयायी देखेर मलाई एउटा कथा याद आयो ।

कुनै एउटा गाउँमा एउटा बदमास मानिस रहेछ । उसलाई सम्झाउँदा बुझाउँदा पनि केही सिप नलागेपछि त्यसको नाँक काटेर गाउँ निकाला गरिदिए छन् । टाढाको अपरिचित र नयाँ ठाउँमा पुगेपछि त्यस बदमासले फेरी त्यहाँ पनि ठग्ने जुक्ति निकालेछ र बाटोमा कोही मानिस आएको देख्ने वित्तिकै आकाशतर्फ फर्किए र बर्बराउँदो रहेछ र भन्दोरहेछ ‘ओहो ! इन्द्रलोकमा क्या आनन्द छ । देवराज इन्द्र सिंहाशनमा बसेका छन् । केही अप्सराहरूले चमर हल्लाएका छन् केही नाँचेका छन् । सुनैसुनको दरबार छ ।’ यस्तै प्रकारले विष्णुलोक, ब्रम्हलोक, शिवलोक आदिको खुव बयान गर्दोरहेछ । बाटोमा हिड्ने अधिकांश बटुवाहरूले बहुलाहा, पैसा माग्ने जुक्ति गरेको आदि इत्यादि भन्दै हिड्दा रहेछन् । एउटा अलि लोभी किसिमको ब्यक्ति पनि त्यही बाटो भएर आएछ र उसका काल्पनिक (झुट कुराहरू खुब सुनेछ र उसलाई पनि इन्द्रलोक, विष्णुलोक, ब्रम्हलोक र शिवलोक हेर्ने खुव इच्छा जागेछ । र त्यस ठग बदमासलाई भनेछ ‘हे भाइ ! मलाई पनि देखाइ दिउन मैले तिमीले जस्तै माथि फर्केर हेरे मैले त केही देख्दिन त ?’ पहिले त त्यस ठगले झर्किदै भनेछ ‘मलाई डिस्ट्रव नगर यति धेरै आनन्द आइरहेको बेला’भन्दै उसलाई अझ विश्वासमा पार्न थालेछ र भनेछ ‘हे भाई तेसै देखिने भए मैले मेरो नाँक किन काट्नु पथ्र्यौ ? त्यसैले स्वर्गीय आनन्द लिने भए तिमीले पनि आफ्नो नाक काटेर आउँ अनि मात्र देखिन्छ ।’

स्वर्गीय आनन्द आफ्नै आँखाले हेर्ने लोभमा त्यस बटुवाले पनि आफ्नो नाँक काटेर आएछ । रक्ताम्मै हुँदै आकाशतिर हेर्न थालेछ । तर केही भए पो देख्ने केही पनि नदेखेपछि त्यस लोभी बटुवाले भनेछ ‘हे भाइ छँदाछँदाको नाँक पनि काटेर नकटो भइयो । मैले त केही पनि देख्दिँन है ।’ उसले धेरैसम्म प्रयास गर्न भन्यो । लोभी बटुवाले धेरै समयसम्म उभो फर्केर हेरि रह्यो केही देख्ने कुरै भएन र भन्यौ ‘मैले केही देखिन मलाई ठगेको त होइन ?’ त्यस बदमासले भनेछ ‘मेरो गाउँमा धेरै सम्पत्ति छ त्यसबाट तिमीलाई जीवन धान्ने सम्पत्ति दिउँला । त्यसैले देखिन नभन । देखे ! देखे ! भन नत्र अरूले नाँक कटाउँदैनन् र हाम्रो बहुमत हुँदैन ।’ त्यसपछि त्यो बिचरो पनि सोरसोरैमा देखेदेखे भन्दै हिड्यो रे ।

पैसाको आसमा नभएको स्वर्ग देखेदेखे भन्ने नाँक कटाइदिएको थाहै नपाउँने लालची बटुवा र संसदीय व्यवस्थालाई संस्थागत गर्नु नै जनयुद्धका एजेण्डा संस्थागत गर्नु हो भन्दै दलाल संसदीय व्यवस्थाको माध्यमबाट नै वैज्ञानिक समाजवाद तर्फ गइन्छ भन्ने प्रचण्डको झुटो कुरालाई हो ! हो ! भन्दै हिड्ने केही अवसरवादी लोभीपापीहरूको भ्रमजालमा आम माओवादी कार्यकर्ता पर्नु हुँदैन । केही पाइन्छ कि भनेर एक आध लोभीपापी नाँक कटाउँन जालान । त्यसताका हविगत पनि त्यही लोभी बटुवा कै जस्तो भएको धेरै उदाहरण देखिसकिएका छन् । अहिलेलाई यत्ति नै भनौं । धन्यवाद ।।

२०७४ भदौ १ गते ५ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :