युवा संगठन नेपाल रूपन्देहीको पाँचौ जिल्ला सम्मेलन, अध्यक्षमा सुवेदी

युवा संगठन नेपाल रूपन्देहीको पाँचौ जिल्ला सम्मेलन, अध्यक्षमा सुवेदी

बुटवलः युवा संगठन नेपाल रुपन्देहीको पाँचौ जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले सन्तोष सुवेदीको अध्यक्षमा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनले उपाध्यक्षमा भक्त थापा मगर, सचिव सुनिल यादव, सहसचिव हरिराम थारु, कोषाध्यक्ष लालबहादुर विक रहेका छन् । सदस्यहरुमा रामबहादुर थारु, ज्ञानबहादुर थापा, नवीन बञ्जाडे, संगम केसी, निशान सुवेदी, गौचन शेर्पाली, सन्दीप भट्टराई, गणनाथ थारू, ममता थारू, सृष्टि थारू, ऋषि ज्ञवाली, कविन्द्र केसी, बिष्णु थारु, लक्ष्मण थारु रहेका छन् ।

 

सम्मेलनका प्रमुख अतिथि नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले भारतले मिचेको सिमाना खोस्नुपर्ने बताउँदै नेपाली दलालहरुका कारण राष्ट्रियतामाथि हस्तक्षेप तीब्र भएको बताएका छन् । उनले भारतीय साम्राज्यवादका दलालहरुलाई चिहानमा नपुर्याउदासम्म हस्तक्षेप रहने भन्दै त्यसका लागी देशको सार्वभौमसत्ता र स्वाधीनताको पक्षमा देशका सम्पूर्ण युवाहरु एक हुनुपर्ने बताए । नेता बास्तोलाले एकीकृत जनक्रान्तिमार्फत सम्पूर्ण देशभक्त र उत्पीडितहरुलाई मुक्त गर्ने बताउदै त्यसका लागी वैज्ञानिक समाजवादी व्यवस्था जरुरी रहेको बताएका छन् । उनले संसारका क्रान्तिकारी संघर्षमा युवाहरुको महत्वपूर्ण भूमिका भएको भन्दै नेपालमा नयाँ राज्यव्यवस्था प्राप्तिका लागी जनमत संग्रहको राजनीतिक कार्यनीति सफल बनाउन अग्रपंक्तिमा रहेर संघर्ष गर्नुपर्ने बताए । उनले अहिले नेपालमा दलाल पुँजीवाद मुख्य समस्या रहेको भन्दै यसका विरुद्ध क्रान्तिकारी युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । नेता बास्तोलाले वैज्ञानिक समाजवादले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारको ग्यारेन्टी गर्ने भन्दै नेपाली जनताले वास्तविक शान्ति, समृद्धि, समानता र स्वाधीनताको अनुभूत गर्ने बताए ।

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनले माक्र्सवाद पुँजीवादका विरुद्ध आएको भन्दै पुँजीवादको उत्पीडन र शोषणका विरुद्ध युवाहरुसित संघर्षको विकल्प नभएको बताए । अध्यक्ष पाटनले जनताले आफ्नो राज्यसत्ता चुन्ने अधिकार पाउनुपर्ने भन्दै त्यसका लागी जनमत संग्रह विकल्प भएको बताए । उनले संसदीय व्यवस्थामा देखिएको सत्ताको लुछाचुँडी देखेर युवाहरुलाई निराशा र पलायनतिर लगेको भन्दै यसका विरुद्ध संघर्ष अनिवार्य भएको बताए । उनले युवाहरु पुँजीवादको दास नभएको भन्दै यसबाट मुक्त हुनका लागी युवाहरु स्वविवेकले एकीकृत जनक्रान्तिमा जोडिनुपर्ने बताए । उनले युवाहरु अहिले देशमा भइरहेको भ्रष्टाचार, कमिसनखोर र राष्ट्रघातका विरुद्ध अग्रपंक्तिमा उभिएर संघर्ष गर्नुपर्ने बताए ।

नेकपा रुपन्देही सेक्रेटरी विश्वासले एकीकृत जनक्रान्तिमा १२ जना सहयोद्धाहरुको बलिदान भएको भन्दै उत्पीडित जनता र महान सहिदहरुका सपनाहरु पुरा नहुँदासम्म क्रान्ति नरोकिने बताए । एकीकृत जनक्रान्तिमा सम्पूर्ण देशभक्त, मध्यमवर्ग, विभिन्न जातजाति, किसान, मजदुर, गाउँ र सहरलाई एकीकृत गर्दै अगाडी बढ्नुपर्ने भन्दै दलाल पुँजीवादी राज्यसत्ता विरुद्ध संघर्ष गर्दा पार्टीमाथि प्रतिबन्ध थोपरिएको बताए । उनले विभिन्न क्रान्तिमा जनताले गरेको योगदान र संघर्षलाई पार्टीले कहिल्यै नबिर्सने बताउँदै क्रान्तिको बाँकी कार्यभार पुरा गर्न सबैको साथ सहयोग अनिवार्य भएको बताए । उनले जनमत संग्रहको राजनीतिक एजेण्डा लिएर युवाहरु गाउँ र सहरको कुना कन्दरामा पुग्नुपर्ने बताए ।

सम्मेलनमा नेकपा केन्द्रीय सदस्य रणवीर, युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष सागर, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य रेखा खनाल, जिल्ला अध्यक्ष उषा पाठकलगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल केन्द्रीय महासचिव नवीन थारु, मधेशी मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) रुपन्देही अध्यक्ष प्रदेशी यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष इन्दु वलीले सम्मेलन सफलताको शुभकामना दिएका थिए । अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले कविता वाचन गरेका थिए ।

सम्मेलनमा प्यानल प्रस्तुत संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी व्युरो इन्चार्ज विश्लेषण गरेका थिए भने नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन संगठनका नवलपुर अध्यक्ष अविनाशले गरेका थिए । सम्मेलनमा संगठनको राजनीतिक तथा सांगठनिक प्रतिवेदन अध्यक्ष सन्तोष सुवेदीले प्रस्तुत गरेका थिए । सन्तोष सुवेदीको अध्यक्षता, राजु खानको स्वागत र भक्त थापा मगरको सञ्चालनमा सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :