संसदीय व्यवस्था चरम सङ्कटमा छ : कञ्चन

संसदीय व्यवस्था चरम सङ्कटमा छ : कञ्चन

पर्सा, चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले वर्तमान संसदीय व्यवस्था दिनप्रतिदिन सङ्कटमा पर्दै गएको बताएका छन् । सोमबार चितवनमा सुरु भएको पार्टीको केन्द्रीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता कञ्चनले वर्तमान संसदीय व्यवस्था अब जतिसुकै कोसिस गरे पनि उठ्न नसक्ने अवस्थामा पुगेको बताए । यो व्यवस्थामा समाजमा हत्या, हिंसा बलात्कार र मुख्य गरी भ्रष्टाचार बढेर गएको प्रस्ट पार्दै नेता कञ्चनले वैचारिक हतियार ठीक ढङ्गले समातेर जनतालाई गोलबन्द गर्दै अघि बढ्न र देशलाई निकास दिन आवश्यक रहेको बताए ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन देशका विभिन्न जिल्लाका सेक्रेटरीहरूले जिल्लामा भएगरेका कामको रिपोर्ट राखेका छन् । रिपोर्ट राख्ने क्रममा काठमाडौँबाट तुल्सीनारायण, रोल्पावाट दिनेश, कालीकोटबाट रणदीप, कपिलवस्तुबाट कमल, मकवानपुरबाट विनोद, भोजपुरबाट नवीन, बझाङबाट विराट, जाजरकोटबाट अनन्त, दाङबाट प्रदीप, रूपन्देहीबाट विश्वास, बर्दियाबाट गणेश, सप्तरीबाट रेखा, कास्कीबाट गोकुल, काभ्रेबाट प्रताप, उदयपुरबाट लक्ष्मण, ताप्लेजुङबाट असल, कञ्चनपुरबाट जीवन, सुर्खेतबाट धु्रव, सल्यानबाट नारायण, अर्घाखाँचीबाट माहुरी, म्याग्दीबाट दीपा, दार्चुलाबाट सुवास, सिन्धुलीबाट गोपाल, मोरङबाट नरेश र सङ्खुवासभाबाट युवराजले रिपोर्टिङ गरेका छन् । सेक्रेटरीहरूले एमसीसी र जयसिंह धामी हत्याकाण्डविरुद्ध निरन्तर संघार्ष जारी रहेको पनि बताएका छन् ।

रिपोर्टका क्रममा उनीहरूले जिल्लाहरूमा भएगरेका कामहरूको सूची प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने कामहरूका बारेमा पार्टीलाई सुझाव दिएका छन् । रिपोर्टमा उल्लेख गरिएअनुसार नेकपाले देशव्यापी रूपमा कोरोना महामारी फैलिसकेपछि त्यसको नियन्त्रण र रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतना फैलाउने काम भएको छ । यस्तै पार्टीले अघि सारेको जनमतसङ्ग्रहको कार्यदिशाका बारेमा जनतालाई बुझाउने र सङ्गठन निर्माण गरेको प्रतिवेदन प्रशिक्षणमा प्रस्तुत गरिएको छ । यस्तै पार्टीको केन्द्रीय कार्यक्रमअनुसार ठाउँठाउँमा उत्पादनका कामहरू पनि गरिएका छन् भने केही जिल्लाहरूमा जिल्ला कार्यालयको उद्घाटन पनि गरिएको छ ।

सोमबार सुरु भई बुधबार सम्पन्न हुने प्रशिक्षण कार्यक्रमको अध्यक्षता पार्टी महासचिव विप्लवले गरिरहेका छन् भने सहजीकरण प्रवक्ता प्रकाण्डले गरिरहेका छन् । अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा सामना परिवारले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेको छ । कार्यक्रममा देशभरिबाट नेकपाका ३ सय नेता–कार्यकर्ताको सहभागिता रहेको जानकारी केन्द्रीय समितिले दिएको छ । कार्यक्रममा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनले राजनीतिक–वैचारिक प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :