क्रान्ति पूरा गर्न क्रान्तिकारी पार्टी र क्रान्तिकारी विचार अनिवार्य सर्त हो : महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रशिक्षण चितवनमा सुरु

क्रान्ति पूरा गर्न क्रान्तिकारी पार्टी र क्रान्तिकारी विचार अनिवार्य सर्त हो : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आयोजनामा केन्द्रीय वैचारिक–राजनीतिक प्रशिक्षण चितवनको पर्सामा सुरु भएको छ ।

केन्द्रीय प्रशिक्षणको अध्यक्षता गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सही विचार क्रान्तिको प्रमुख सर्त भएको बताएका छन् । क्रान्तिकारी आन्दोलनका लागि सही विचार निर्माण गरिसकेपछि त्यो सही विचार लागू गर्न क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने र त्यसपछि क्रान्तिकारी कार्यदिशा निर्माण गर्नु त्यसको अनिवार्य सर्त हुने बताउँदै क्रान्तिकारी विचारसहितको कार्यदिशा लागू गर्ने काम क्रान्तिकारी पार्टीको रहेको बताएका छन् ।

प्रशिक्षण कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै महासचिव विप्लवले भने, ‘कैयाैँ मान्छेका अनुमानहरूलाई असफल गर्दै हामीले सही क्रान्तिकारी कार्यदिशा बनायौँ र त्यसलाई लागू गर्यौँ । संसद्‌वादका विरुद्ध हामीले धावा बोल्यौँ र विद्रोह गर्यौँ । यो धेरैलाई विश्वास थिएन । दलाल पुँजीवादविरुद्धको विद्रोहको प्रमाण आजको कार्यक्रम हो । यो संसद्वादका विरुद्धको विद्रोह र सफलता हो । ठूला–ठूला धक्काहरूको बीचबाट, थुप्रै खालका सफलता–असफलताहरूका बीचबाट मात्र यो सफल हुनेछ । हामीले जनयुद्धको रगतमा एकीकृत जनक्रान्तिका १२ जनाको रगत मिसाएर आएका छौँ । एकीकृत जनक्रान्तिको प्रक्रियामा १२ जना कमरेडको रगत बगेको छ भने २५ सयभन्दा बढी कमरेडको जेल–नेल र झूट्टा मुद्दा बेहोरेका छौँ ।’

आफ्नो पार्टी एकीकृत जनक्रान्तिका ७ आधार पेस गरेर जनक्रान्तिको संश्लेषण गरेर जनतामा गएको र अन्तिम सफलता प्राप्त गर्न र अन्तिम विजय प्राप्त गर्ने क्रान्तिकारी पार्टी निर्माण भइरहेको बताएका छन् । उनले भने, ‘कमरेड माओले भनेझैँ क्रान्ति भनेको गतिमा हुन्छ । गतिशील भएन भने क्रान्ति सम्भव छैन । पुराना चिन्तनहरूलाई नभत्काएसम्म हामी सफलता प्राप्त गर्न सक्दैनौँ ।’

नेकपाको तनहुँमा सम्पन्न ११ औँ पूर्ण बैठकपछि पहिलोपटक सुरु भएको उक्त प्रशिक्षणमा देशैभरिबाट तीन सय हाराहारी जिल्ला इन्चार्ज, सेक्रेटरी र विशेष समितिका नेता–कार्यकर्ता सहभागी भएका छन् । प्रशिक्षणअघि नेता–कार्यताले आआफरनो कार्यक्षेत्रको रिपोर्टिङ गर्नेछन् । सोमबार सुरु भएर तीन दिनसम्म सञ्चालन उक्त प्रशिक्षणमा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनले राजनीतिक–वैचारिक प्रशिक्षण दिनेछन् ।

 प्रशिक्षण कार्यक्रमकाे सञ्चालन प्रवक्ता प्रकाण्डले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :