संसदवादलाई चोकमा उभ्याएर धज्जी उडाउनुपर्छ : विप्लव, महासचिव – नेकपा

 

विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

हामी एक स्तरको लडाईबाट फर्केर यहाँ आएका छौं । चुनाव खारेज अभियानमा क्षति कुन स्तरको हुन्छ र उपलब्धी हुन्छ भन्ने सोचिएकै थियो । चुनाव खारेजी अभियान रगतले लत्पतिएको छ । रगत, हिरासत र जेलले भरिएको छ । १ जना केन्द्रीय केन्द्रीय सदस्यसहित केही साथीहरू अझै जेलमा छन् । आफ्नो स्वतन्त्रताको लागि मूल्य चुकाउनु पर्दछ । यो प्रशिक्षण कक्ष यातना, बलिदान र कष्ट झेलेर आएका क्रान्तिकारीहरूले भरिएको छ । मोर्चामा खट्नेहरू मात्र क्रान्तिकारी हुन् ।

चीनमा दीर्घकालीन जनयुद्धको बहस हुँदा माओ त्सेतुङले जनताको सेवा गर्ने, उनीहरूका बीचमा काम गर्ने र युद्धमोर्चामा खट्नेहरू नै क्रान्तिकारी हुन् भन्नुभएको थियो । कुरामा क्रान्तिकारीहरू क्रान्तिकारी होइनन् । अमूर्त शब्दजाल अवसरवादी कुरा हो । मूर्त काम गर्नु नै क्रान्तिकारिता हो । त्यहीअनुसार आज ध्रुविकरण भैरहेको छ । आजका एकथरि मान्छेहरू थाक्ने नयाँ आएर आन्दोलन हाँक्ने हुनसक्छ । प्रश्न नै प्रश्नले घेरिएर नेतृत्व गर्न सम्भव छैन । यो स्वतन्त्रताको लडाई हो । क्रान्तिमा शर्त हुँदैन । यो एउटा स्वयंसेवी कर्म हो ।

केही व्यक्तिहरूले धादिङ बैठकमै चुनावमा जानुपर्छ भनेका थिए । हामीले उनीहरूलाई चुनावमा जाने भए जिम्मेवारी छोड्न आग्रह गरेका थियौं । संसदीय चुनावमा सहभागी हुने भनेको जनयुद्धलाई प्रचण्ड– बाबुरामले भनेझैं बिसर्जन गर्ने कुरा हो । उपयोग भन्दै आफंै उपयोग हुने र आन्दोलनलाई समाप्त बनाउने कुरा हो । चुनावलाई कार्यनीति भन्दै संसदवादतिर नै जानु हो । संसदीय व्यवस्थाको सुविधा र पद लिंदै उसलाई गाली गरेर बस्नु भनेको संसदवाद हो । आज संसदवादलाई चोकमा उभ्याएर धज्जी उडाउनुपर्छ ।

निरङ्कुश राजतन्त्र वा सैनिक शासनमा उपयोगको नीति आवश्यक हुनसक्छ । नेपालको अहिलेको स्थिति रुसको सन् १९०५ को जस्तो पनि होइन । न त नेपालको २०४७÷०४८ सालको जस्तो हो । हामी अगाडि बढ्न गोडा कमाएको भए थुप्रै अवसरवादीहरूले हाम्रो प्रशंसा गाएका हुन्थे । त्यसैले सिद्धान्त र व्यवहारमा सम्झौता गर्नेले नेतृत्व गर्न सम्भव छैन । संकुचित विचार र व्यवहारले क्रान्ति सम्भव छैन । हामीले आफ्नो घेरालाई संकुचित पार्ने नभएर फैलाउनु पर्दछ । हिजो प्रचण्डलाई दलाल भन्ने, समाप्त पार्नुपर्छ भन्नेहरू आज प्रचण्डको तलुवा चाट्दै हिंडेका छन् । आफ्नो क्षमताअनुसार प्रतिरोध जारी राख्नुपर्छ । भोज खान र मलामी जान आउनेहरू सिन्को नभाँच्ने कार्यकर्ताले आन्दोलन हाँक्न सक्दैनन् । त्यसका लागि आन्दोलनको नेतृत्व गर्न सक्ने पंक्ति चाहिन्छ ।

मुस्लिम समाजमा आस्तिकहरू बढ्दै गएका समाचार र तथ्यांक केही समययता सार्वजनिक भएका छन् । आस्तिक भनेका दासहरू हुन् जो आफूलाई स्वतन्त्र ठान्दैनन् अरुमाथि निर्भर ठान्छन् । नास्तिकहरू दास हुँदैनन् । बेल्जियममा १ वर्ष अगाडि कम्युनिस्ट पार्टी गठन भयो । त्यसको आव्हानमा भएको जनप्रदर्शनमा २० हजार युवाहरू सहभागी भए । त्यसैले कम्युनिस्टहरूप्रति लोकप्रियता बढेको छ ।

असोज २ गते पुच्छर चुनाव हुँदैछ । प्रचण्डले आफूले सार्वजनिक रुपमा एकताको कुरा गर्ने कांग्रेस र दिल्लीसँग ‘मैले त एकताको कुरा गर्नै प¥यो, तपाईहरू दमनको तयारी गर्नुस्’ भन्दै होलान् । प्रचण्डले जनतालाई झूठो सपना दिन्छन्, ढाँट्छन् । भारत र अमेरिकासँग सही कुरा गर्छन् । शेरबहादुर देउवा पश्चिमी दलाल हुन् । गोवा गएर उनले दलाई लामाको मन्त्रीलाई भेटेका छन् । अन्तर्राष्ट्रिय सन्तुलनका कारण अमेरिकी दलाल भएर पनि देउवा भारतसँग मिल्न बाध्य छन् ।

वर्ग संघर्ष र अन्तरर्संघर्ष नयाँ स्तरमा प्रवेश गरेको अवस्थामा हामी छौं । हाम्रा सबै उपलब्धी, सीमा र संघर्षका कथाहरूलाई लेख्नुपर्छ । साना ठूला सबै विषयहरू लेखिनुपर्छ । लेख्नु, पढ्नु, प्रचार गर्नु पनि क्रान्ति हो । सन् १९०५ मा चौतर्फी घेराबन्दी भएपछि लेनिन भागेर फिनल्यान्ड गए । जर्मनीका गुप्तचरहरूले त्यहाँ पु¥याएको भनेर बदनाम गरियो । लेनिन त्यहाँबाट फेरि नयाँ क्रान्ति बोकेर क्रेमलिन आए । हामी जसरी पनि क्रान्ति जारी राख्न तयार हुनुपर्छ ।

आज कोलकोताले नेपाली टेलिभिजन बन्द गरेको छ । अमेरिकाले साउदी अरब मार्फत् अल जजिरा बन्द गर्न माग गरेको छ । कटवालले आफ्नो पुस्तकमा ‘माओवादीले भू–उपग्रह फोन प्रयोग ग¥यो, हामीसँग त्यो छैन, त्यसैले गाह्रो भयो’ भनेका थिए । त्यसैले प्रविधि क्रान्तिको विरुद्ध हुँदैन । प्रचण्ड र देउवा मिल्नु भनेको चीनमा चाङ्को थाओ र चाङकाई शेक मिलेको जस्तै हो । त्यो अपराध छोप्न प्रचण्डले अनेक शब्दजाल बुनिरहेका छन् ।

दलालीकरण घुम्दैफिर्दै भारतको हितमा गइरहेको छ । त्यसकारण देशभक्त धारा हामीप्रति आशावादी छ । देउवा भारत भ्रमणबाट फर्केपछि नयाँ अन्तरविरोध प्रकट हुनेछ । अन्तर्राष्ट्रिय राजनीतिमा पनि नयाँ परिदृष्य देखा परिरहेको छ । रुस र अमेरिकी गठबन्धन हुन्छ कि भन्ने अड्कल सही प्रमाणित भएन । हिजो रुसले क्युवाबाट र अमेरिकाले युरोपबाट एकले अर्कालाई घेराबन्दी गर्थे । रुसले अमेरिकालाई घेराबन्दीमा पारेको छ । रुसले अमेरिकी नाकाबन्दीलाई रुसका विरुद्ध आर्थिक युद्ध भनेको छ । आर्थिक युद्ध सारतः फौजी र राजनीतिक युद्ध नै हो ।

(२०७४ साउन २३–२५ गते चितवनमा सम्पन्न नेकपाको केन्द्रीय प्रशिक्षणमा व्यक्त विचारको सम्पादित अंश, शीर्षक हामीले दिएका हौं ।)

२०७४ साउन ३२ गते ३ : ५३ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :