अमेरिकामा नाजीवादी प्रदर्शन

white  oppression

रातो खबर संवाददाता / काठमाडौं, साउन ३२ : अमेरिकाको भर्जीनिया राज्यस्थित सार्लोद्सभिलमा सनिबार भएको नयाँ नाजीवादीहरूको प्रदर्शनमा ३ जनाको मृत्यु भएको छ । घटनामा १९ जना घाइते भएका छन् । गोरा जातीहरूको सर्वोच्चताको माग गर्दै ‘गोरो प्राधिकार समूह’का नवनाजीवादी समूहका समर्थकले काला जातिमाथि कार कुदाउँदा एक पैदल यात्रीको मृत्यु भएको थियो । सुरक्षार्थ उडेको हेलिकप्टर दुर्घटना हुँदा थप २ जनाको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले दोषीहरूको आलोचना गरेपनि अन्धराष्ट्रवादीहरूसँग ट्रम्पको साँठगाँठ रहेको आरोप छ । घटनामा ‘विभिन्न पक्षहरूको संलग्नता भएको’ भन्ने ट्रम्पको प्रतिक्रियालाई रहस्यका रुपमा हेरिएको छ । ट्रम्पकै रिपब्लिकन पार्टीका सांसद कोरी गार्डनरले ‘गोरो प्राधिकार समूह’लाई आन्तरिक आतंकवादी समूहको आरोप लगाउँदै उनीहरूको निन्दा र पीडितप्रति सहानुभूति प्रकट गर्न राष्ट्रपति ट्रम्प चुकेको भन्दै निन्दा गरेका छन् । भर्जिनिया राज्यका गभर्नर टेरी मक्अलिफले अतिवादीहरूलाई आफ्नो राज्य छोडेर जान चेतावनी दिएका छन् । अमेरिकी गृहयुद्धकालका गोरा सैनिक जनरल रोबर्ट इलीको शालिक सार्लोद्सभिल नगरबाट हटाउने निर्णय भएलगत्तै अमेरिकाका गोरा नाजीवादीहरूले सो प्रदर्शन गरेका हुन् । अमेरिकामा कट्टरपन्थी डोनाल्ड ट्रम्पको उदयसँगै अतिवादीले प्रश्रय पाएको आंकलन र चिन्ता भैरहेको समयमा यो पछिल्लो घटना भएको हो । सनिबारको घटनाले अमेरिकी समाजमा झनै तनाव थपिएको छ ।

२०७४ साउन ३२ गते १ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :