पार्टी हित विपरित कार्य गर्ने छुट कसैलाई छैन : सुदर्शन, पूर्वी कमाण्ड इन्चार्ज – नेकपा

रातो खबर संवाददाता / काठमाडौं, साउन ३२ : बृहत केन्द्रीय प्रशिक्षण सम्पन्न गरेको नेकपाले देशब्यापीरुपमा धमाधम ब्युरोस्तरीय प्रशिक्षणहरू गरिरहेको छ । यसै सिलसिलामा सोमबार उपत्यका ब्युरोस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । बालाजुमा सम्पन्न प्रशिक्षणमा बोल्दै नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले चुनाव खारेजी अभियानले आफ्नो पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने अवसर मिलेको बताउँदै पार्टीमा रहेका कमजोरीहरूको उजागर पनि भएको छ भन्नुभयो ।

पार्टी कार्यदिशाको बारेमा व्याख्या गर्दै सुदर्शनले कम्युनिस्ट पार्टी निर्माण गरेपछि त्यसको कार्यदिशा, नीति, अनुशासनको दायरामा रहनु पर्ने र गैर कम्युनिस्ट क्रियाकलाप गर्दै हिड्ने छुट कसैलाई नभएको बताउनु भयो । उहाँले विज्ञान र प्रविधि जुन उचाइमा विकास भएको छ त्यसअनुसारको मार्गनिर्देशक सिद्धान्तको पनि विकास गर्न जरुरी भइसकेको कुरामा जोड दिनुभयो । नेकपाका केन्द्रीय सदस्य आजाद, मुकुन्द र संजिबकुमारको पनि उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता उपत्यका ब्युरो इन्चार्ज प्रज्वलले गर्नुभएको थियो भने उद्घोषण केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज नविनले गर्नुभएको थियो । केन्द्रीय सदस्य नविनले पार्टी केन्द्रको दस्तावेज र परिपत्र बाचन गर्नुभएको थियो । यस्तै स्वागत मन्तव्य केन्द्रीय सदस्य मकर गुरुङ्गले गर्नुभएको थियो । काडमाडौं, ललितपुर, भक्तपुर र विभिन्न विभागहरूबाट जिल्लास्तरीय नेताकार्यकर्ताहरू प्रशिक्षणमा सहभागी भएका थिए ।

पोखरामा पनि सोमबार गण्डकी ब्युरोको प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज सन्तोष बुढामगरले पार्टीको आगामी कार्ययोजना र समसामयिक विषयमा प्रशिक्षण दिनुभएको छ । कार्यक्रममा गण्डक ब्युरो इन्चार्ज आस्था, दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विकलगायतको उपस्थिति रहेको थियो । यस अघि पनि पूर्वी कमाण्ड अन्तर्गत पूर्वी ताम्सालिङ्ग, पश्चिम ताम्सालिङ्ग, नारायणी ब्युरो र पश्चिमी कमाण्डमा लुम्बिनी ब्युरोको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् ।

२०७४ साउन ३२ गते १२ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :