बाढीले अकल्पनीय जनधनको क्षति

सरकार र व्यवस्थाको लापरवाहीले ठूलो क्षति भयो : प्रकाण्ड, प्रवक्ता – नेकपा
सरकारको चेत खुलेको छ : जनाद्र्धन शर्मा, गृहमन्त्री – नेपाल सरकार 
कोशी बाँधको ढोका नखोलिएकोले समस्या भयो – नेकपा (एमाले)
गरिबलाई सरकारले त हेर्दै हेर्दैन, भगवानले पनि हेर्दा रहेनछन् : देवकुमार सदा, बाढी पीडित, तिलाठी, सप्तरी

रातो खबर संवाददाता / काठमाडौ, साउन ३२ :  विहीवारदेखि देशभरि आएको अविरल वर्षाका कारण मंगलबार साँझसम्म ११५ जनाभन्दा बढी नागरिकको ज्यान गएको छ । मोरङमा मात्र मृतकको संख्या १९ पुगिसकेको छ । वेपत्ता हुनेहरुको संख्या ६० नाघिसेको छ भने ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । यद्यपि सरकारसँग जनधनको क्षतिको प्रारम्भिक तथ्यांकसमेत देखिन्न । नेपालबाट वेपत्ता भएका लासहरू भारतका बगर र खोल्सामा भेटिन थालेका छन् । सोमबार मात्र मोरङका ७ वटा लास भारतमा भेटिएका छन् । विराटनगर महानगरपालिका १ देखि १९ वडा नै डुबानमा परेका छन् । कोशी राजमार्ग पश्चिमका भूभागहरू डुबानमा परेका कारण त्यहाँका बासिन्दाहरूको बजारसँग सम्बन्ध विच्छेद भएको छ । केसलिया र सिगिया खोलाको बाढीले रंगेली, जहादा, रतुवामाई, सोनवर्षालगायतका ठाउँहरू
डुबेका छन् । विरामीको उपचार त के दाहसंस्कार गर्न नपाउँदा शवहरू बाढीको पानीमा त्यत्तिकै बगाउन आफन्तहरू बाध्य भएका छन् । बालीनाली, तरकारी, दूध, माछा व्यववसाय चौपट भएको छ । धारामा पानी आउन छोडेको र विद्युतका खम्बाहरू ढलेका कारण अन्धकार छ । फोन सेवा अवरुद्ध भएको छ । परीक्षा, विद्यालय, यातायात र हवाई मार्गसमेत अवरुद्ध छन् । मोरङमा ३ जना अझै वेपत्ता छन् ।
उता रौतहट पर्रोहा–३ की शर्मिला यादवलाई भारतीय नम्बरको बाहनमा उपचारार्थ गौर लैजाने क्रममा जलमग्न सडकमा अनुमानको भरमा सवारी चलाउँदा वाहन गहिरो नहरमा खस्न गई एकै परिवारका ६ जना र अर्को घटनामा थप ३ जनाको ज्यान गएको छ भने ७ जना वेपत्ता भएको खबर छ ।

रौतहटमा बाढीका कारण ज्यान गुमाउनेको संख्या १३ पुगिसकेको छ । त्यसैगरी सुनसरीका इटहरी, इनरुवा, साहेबगञ्ज, नर्सिङटप्पु, भोक्राहा, हरिनगरलगायतका स्थानमा कोशीको बाढी पसेको छ भने साना खोलाहरू थुनिएका वा बस्तीमा पसेको अवस्था छ ।
बाढीका कारण सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् । उता झापाका भद्रपुर, कचनकबल, गौरादह, झापा नगरपालिका, मेची नगरपालिका, कन्काई, अर्जुनधारा, गौरीगञ्ज, दमक, शिवसताक्षी, हल्दीवारीलगायतका स्थानहरू डुबानमा परेका छन् । झापामा हालसम्म ४ जनाको मृत्यु र ५ जना हराइरहेका छन् । पूर्वी तराईमा बाढीले सबैभन्दा बढी प्रभावित जिल्ला सप्तरी हो । कोशी बाँधको ढोका भारतले नखोलिदिएका कारण कोशीको सतह खतराको विन्दु नाघेर बस्तीमा पसेको हो । जिता र खाँडो नदीले दर्जनौं गाउँ डुबिरहेको बेला सप्तरीमा भारतको ज्यादती अमानवीय र सरकारी लाचारीका कारण कोशीको कहर थपिएको छ ।

बाढीले सदरमुकाम राजविराज, हनुमाननगर, शम्भुनाथ, तिलाठी, कोइलाठी, रुपनी, बौदेबसाइन, कञ्चनपुरलगायतका स्थानहरू डुबानमा परेका छन् । मृतकको दाहसंस्कार गर्ने जग्गासमेत नहुँदा नदीमै दाहसंस्कार गर्नुपर्ने भएको छ । शुक्रबार र शनिवार पूर्वी नेपालमा बढी वर्षा भएको थियो भने आइतबारदेखि पश्चिमतिर बढी वर्षा भएको छ । उता कर्णाली नदीको जलप्रवाह खतराको विन्दुभन्दा माथि पुगेकोले आइतवार स्थानीय प्रशासनले सतर्कताका लागि फोन सन्देश प्रवाह गरेको थियो । त्यसैगरी बबइको बाढीले सयौंको उठीबास भएको छ । आइबार साँझसम्म बर्दियाका एकलाख भन्दा बढी नागरिक प्रभावित भएका छन् । पीडितहरूलाई सरकारी जमिनमा शिविर बनाएर राखिएको छ । उता बाढीले पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलाको पुल भत्किएकोले सो खण्डमा यातायात बन्द छ । दाउन्ने खण्डमा १५ भन्दा बढी स्थानमा पहिरो र सडक भासिंदा शनिवार यातायात अवरुद्ध भएपनि आइतबार अपरान्हपछि एकतर्फी यातायात खुलाइएको थियो । दाउन्ने खण्डको यस मोडको पहिरो पन्छाएर एकतर्फी यातायात खोलेलगत्तै त्यसको केही पर ज्यामिरेमा अर्को पहिरो खस्दा पुनः यातायात अवरुद्ध भएको थियो । त्यसैगरी निजगढ–चन्द्रनिगाहापुर बीचको धन्सार खोलाको पुलमा क्षति पुगेको छ । निजगढ बजार भएर जाने लालबकैया खोलाको पूर्व तर्फको तटबन्ध भत्किएकोले बजार जोखिममा परेको छ । रतुवा खोलाको पुल भत्किएकोले पूर्वतर्फ जाने यात्रुहरू बर्दीबासमा असरल्ल भएका छन् ।

यता शनिवार र आइतबार चितवन, धादिङ, मकवानपुरलगायतका राप्ती र बुढीराप्ती जलाधार क्षेत्रमा आएको बाढीले देशकै पर्यटन व्यवसायमा तेस्रो स्थान ओगट्ने सौराहा डुबानमा परेको छ । नारायणी, रिउ, मोवा, पम्फा, बुढीराप्तीलगायतमा भीषण बाढी आउँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना अझै वेपत्ता छन् । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध छ । सो सडक धराप जस्तै बन्न गएको छ । वर्षात्को कारण राजधानी काठमाडौं र आसपासका क्षेत्रहरूमा पनि धनजनको क्षति हुन पुगेको छ । ललितपुर इकुडोलमा ३ जना घाइते भएका छन् । झरुवारासीस्थित कर्मनाशा खोलाको बाढीले सो क्षेत्र डुबानमा परेको छ । मनोहरा नदीको कटानले आसपासको क्षेत्रमा भयानक त्रास पैदा भएको छ । ललितपुर–३०, कर्मनाशा पुलस्थित नयाँ बस्ती डुबानमा परेको छ । कान्तिलोकपथ अवरुद्ध हुँदा ललितपुरको पहाडी भेग र शहरको सडक सम्पर्क विच्छेद भएको छ । गोदावरी–१२, पुखुशीमा एउटा घर र बिजुलीको खम्बा ढल्दा विद्युत प्रशारण बन्द भएको छ ।
सेना र प्रहरीका व्यारेक तथा चौकी नै प्रभावित भएका छन् ।

स्थानीय प्रशासनले राहत त के क्षतिको एकीन तथ्यांकसमेत लिन सकेको छैन । पूर्वी नेपालमा मात्र २७ हजार ३ सय ६९ घर डुबानमा परेको सरकारी अनुमान छ । जनपथ र सशस्त्र गरी ९ हजार प्रहरी र नेपाली सेना परिचालन गरिएको सरकारको दाबी छ । बाढी पहिरोले पहाडी जनजीवन पनि कम प्रभावित छैन । पश्चिम नेपालको सिमावर्ती भारतीय धारचुलादे खि ५० कि.मी. उत्तरपूर्व मालपा खोलामा आएको बाढीमा पुरिएर २ जना नेपाली मजदुरसहित १७ जनाको ज्यान गएको छ भने २० जना वेपत्ता भएका छन् । भारतको उत्तराञ्चलमा पनि भीषण वर्षा हुँदा बाढी र पहिरोको जोखिम बढेको भारतीय संचारहरुले जनाएका छन् ।

पीडितको उद्दार र राहतमा राजनीतिक दल र सामाजिक संघ संस्थाहरू पनि उत्रिएका छन् । विप्लव नेतृत्वको नेकपाले उद्धार र राहत अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिवार जारी विज्ञप्तिमा सरकारको पूर्व तयारीको अभाव र लाचारीका कारण बढी क्षति भएको आरोप लगाउनुभएको छ । त्यसैगरी नेकपा (एमाले ले आफ्ना जनवर्गीय संगठनलाई राहत र उद्दारमा खटाउँदै सरकारी लाचारी र भारतीय ज्यादतीको कारण कोशीको ढोका समयमा नखोलेकोले सुनसरी, मोरङ, सप्तरीलगायतमा भयावह स्थिति पैदा भएको आरोप लगाएको छ । नेपाली कांग्रेस, संघीय समाजवादी फोरमलगायतका दलहरू पनि राहत र उद्धारमा खटिएका छन् । गृहमन्त्री जनाद्र्धन शर्माले ‘सरकारको बल्ल चेत खुलेको’ लाचार अभिव्यक्ति सार्वजनिक गरेका छन् । मौसम तथा जलवायु विज्ञानका वैज्ञानिकहरूले सोमबारदेखि वर्षा कम हुने र मौसममा सुधार आउने भविष्यवाणी गरेका छन् । सोमबार पूर्वमा कम वर्षा भएको छ । “सोमबारदेखि मनसुन कम हुँदै गएर केही दिनमै मौसममा सुधार हुनेछ” वरिष्ठ मौसमविद् किरण पौडेलले बताएका छन् ।

गृहमन्त्रालय अन्तर्गतको दैवी प्रकोप उद्धार समिति मार्फत् एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्नसक्ने सरकारी निर्णयपछि राष्ट्रिय– अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आक्रोशित भएका छन् । सरकारको सो कदमको नियत र आशय जे भएपनि त्यसलाई सकारात्मक रुपमा हेरिएको छ । संघ संस्थाहरूले रकम उपलब्ध गराउँदा प्रम राहत कोषको खातामा उपलब्ध गराउनु पर्नेछ । पूर्व सूचना उपलब्ध गराउने प्रणालीको अभाव, राहत तथा उद्दारको तयारी, खतरा सन्देश प्रवाह गर्ने प्रणालीको अभाव र भारतले जलप्रवाहको नियमित तथा प्राकृतिक बहाव अवरोध गर्दा नेपालमा अनावश्यक क्षति हुन गएको छ । नेपालको संसदीय व्यवस्थाले भारतीय हेपाहा प्रवृत्तिको प्रतिवाद गर्न र नागरिकको जनधनको रक्षार्थ तयारी गर्ला भन्ने अपेक्षा गर्नु नै मनोगत छ । जसको लागि बलियो जनपक्षीय व्यवस्थाको खाँचो छ । अन्यथा यस्ता घटना भविष्यमा अझै भयावह हुने निश्चित छ ।

२०७४ साउन ३२ गते ८ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!