आज दोरम्बा हत्याकाण्डको स्मृतिसभा

रातो खबर संवाददाता / काठमाडौ, साउन ३२ : आज साउन ३२ गते १५ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइँदैछ । २०६० साल साउन ३२ गते रामेछाप, दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बिमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ, रवि चौहान (समीर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ, जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर)सहित २१ जनाको बर्बरतापूर्वक हत्या गरेको थियो । महान् जनयुद्धको अभीष्ट पूरा गर्ने लक्ष्यका साथ उहाँहरूले अन्तिम समयसम्म आफूहरू बलिदान दिएर पनि जनयुद्धलाई धोका नदिने निष्कर्षमा पुग्नुभयो । उहाँहरू हाम्रा आदर्श हुनुहुन्छ । जीवनको भिक मागेको भए उहाँहरूले व्यक्तिगत जीवन बाँच्न पाउने सम्भावना थियो तर उहाँहरूले वर्गसंघर्षका सामु त्यसलाई त्यागिदिनुभयो र महान् बन्नुभयो ।

यो साता तत्कालीन शाहीसत्ताले मच्चाएको कुख्यात दोरम्बा हत्याकाण्डको स्मृति दिवस हो । रामेछाप जिल्लाको पश्चिमी भूगोलमा पर्ने दोरम्बा डाँडाकटेरीको उच्च पहाडी भूभागमा २०६० साल साउन ३२ गते शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएको शाही सेनाका जल्लादहरूले सरकार–माओवादीबीच दाङको हापुरेमा संविधानसभालाई केन्द्र बनाएर भइरहेको वार्ता भंग गर्ने उद्देश्यले निहत्था माओवादी नेताकार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले नृशंश हत्या गरेका थिए ।  आज मन्थलीमा हुने सहिद स्मृतिसभा नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’ को प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ ।

२०७४ साउन ३२ गते ६ ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :