जनपत्रकार संगठन नेपाल रामेछापको भेला सम्पन्न, अध्यक्षमा बोहोरा

जनपत्रकार संगठन नेपाल रामेछापको भेला सम्पन्न, अध्यक्षमा बोहोरा

काठमाडौँः जनपत्रकार संगठन नेपाल रामेछापको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बद्री बाेहोराको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।संगठनको उपाध्यक्षमा दिक्षा ढुङ्गेल निर्वाचित भएकी छन् भने सचिवमा एसके शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा बबिता शाही, सुनिल उर्कुटी, रोशन बस्नेत, सजन कार्की, राम सुनार, सृजना उर्कुटी निर्वाचित भएका छन् । भेलाले थप २ जना पछि मनोनित गर्ने भएको छ ।

भेलालाई सम्बोधन गर्दै भेलाका प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपाल सम्मेलन आयोजक समितिका केन्दीय सदस्य शोभराज बरालले पत्रकारले सधैँभरी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘अरु पत्रकार संगठन र हामीमा यही फरक छ । हामी जनपक्षीय पत्रकार होऊँ । हामीले जनताको आवाज उठाउँछौँ, श्रमिक, निमुख र गरिबको आवाज उठाउँछौँ । हाम्री वर्गिय दृष्टिकोण राख्दै जनताको समस्याहरुको उठान गछौँ । जनजीविकाको सवाल उठाउँछौँ ।’ भेलालाई सम्बोधन गर्दै बरालले भने, ‘अरु संगठनहरु स्वार्थ हेर्छन्, कर्मचारीको सरुवा बढुवाका लागि पत्रकारिता गरेको नाटक गर्छन् । आफ्नो पेट पाल्नका लागि पत्रकारिता गर्छन् । त्यसैले हामी सधैँका लागि प्रतिपक्ष हौँ । सच्चा पत्रकारहरुको संस्थामा तपाईहरु लामबद्ध हुनुहोस् ।’

भेलालाई सम्बोधन गर्दै पत्रकार महासंघ रामेछाप जिल्ला शाखाका अध्यक्ष बद्री नयाँघरेले पत्रकारका कारण प्रतिगमनकारी सत्ता ढलेको भन्दै यसमा जनपत्रकारहरुको ठूलो हात रहेको बताए । ‘विप्लव नेतृत्वको नेकपालाई अनायासै केपी ओली सरकारले प्रतिबन्ध लगायो । हामी घोर विरोध गरेका थियौँ ।’ उनले भने, ‘आगामी दिनमा पनि गाह्रो साह्रो पर्दा पत्रकार महासंघ जनपत्रकारकै पक्षमा छ ।’

भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी रामेछापका सेक्रेटरी इन्द्रले पत्रकारिताले जनजीविकाका सवालहरु उठाउनु पर्नेमा अहिले अर्कै भइरहेको बताए । ‘आफ्ना मान्छेको गुनगान गाएको छ । उसकै पछि लागेको छ । त्यसमा कहाँ पत्रकारिताको मर्मले काम गर्यो ।’ उनले भने, ‘एउटा भ्रष्टाचार भयो भनेर समाचार लेख्ने आँट गर्दैन् । भरे बुझ्दा त उसले पनि भ्रष्टाचार गरेको हुँदो रहेछ । पहिलै सेटिङमा काम हुने रहेछ ।’

उनले पत्रकारिता खाडी मुलुकमा गएका श्रमिकको पक्षमा हुनु पर्ने, खान नपाएको गरिब र निमुखाको पक्षमा हुनपर्ने भएपनि यहाँ त आफ्नो पेट पाल्नका लागि पत्रकारिता भइरहेको बताए । उनले जनपत्रकार संगठन यसबाट टाढै रहनुपर्ने सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :