झापामा अराजक समूहद्वारा हस्तक्षेप, प्रतिरोध गर्ने नेकपाको चेतावनी

झापामा अराजक समूहद्वारा हस्तक्षेप, प्रतिरोध गर्ने नेकपाको चेतावनी

झापा : सुकुम्बासी समस्या र समाधानका बिषयमा छलफल गर्न सुकुम्बासी बस्ती पुगेका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि दमकका एक वडाध्यक्षले कार्यक्रममा हस्तक्षेप गरेका छन् ।

असोज १ गते दमक नगरपालिका वडा नम्बर ५ स्थित जलदेवि टोलमा रहेका सुकुम्बासीहरूसँग छलफल गर्दै गर्दा वडाध्यक्ष इन्द्र गुरूङ र आफूलाई एमाले निकट नेता बताउने अम्बिका खनालले अराजनीतिक ढङ्गबाट गुण्डागर्दी शैलीमा पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको भन्दै नेकपाले शनिबार चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।

नगर इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टीले बिगतदेखि नै दलाल पुँजीवादी संसदीय व्यवस्थाको विरुद्धमा सङ्घर्ष गरिरहेको कुरा आम जनसमुदायमा जगजाहेर नै छ ।”

जारी विज्ञप्तिमार्फत पार्टीको घोषित कार्यक्रम अनुसार पार्टीका नेता कार्यकर्ताहरू जनताको माँझमा गएर दलाल भ्रष्टाचारी र माफियाहरूको हातमा रहेको दलाल सरकारको भण्डाफोर गर्दै जनतामा सचेतना कार्यक्रम लिएर जाँदै गर्दा पार्टीको कार्यक्रममाथि हस्तक्षेप भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै जनताको हित विपरीत कसैले भ्रम सिर्जना गर्ने र पार्टीको नीति तथा कार्यक्रममा कसैले हस्तक्षेप गर्छ भने त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

उक्त घटनामा संलग्न ब्यक्तिहरू जनताको प्रतिरोध पछि भागेको र आगामी दिनहरूमा पार्टीको नेता कार्यकर्ता तथा जनतामा सम्भावित दुर्घटना हुन आए संलग्न ब्यक्तिहरू नै जवाफदेही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । यदि पुनः कार्यक्रममा हस्तक्षेप गर्ने प्रयत्न गरेमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्नेसमेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :