प्रहरी हिरासतमा ५८ दिन

वैशाख २१ गते बर्दिया, गुलरिया नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घ कार्यालयबाट बर्दिया इन्चार्ज देवकला अधिकार ीसहित १३ जनालाई प्रहरी निरीक्षक हेमबहादुर शाही नेतृत्वको प्रहरीले गिरफ्तार ग¥यो । वैशाख १९ गते सुर्खेतमा भेरी ब्यूरोको बैठक बसी २० गते सुर्खेतबाट ब्यूरो इञ्चार्ज खुमा सुवेदी र म कोहलपुर आयांै । बाँकेका साथीहरूसँग ‘संवेदनशील छ मिलाएर बैठक बस्नु पर्छ’ भनेको थिएँ । बाँकेमा शिक्षक सहिद ढाकाराम पाठकको घरमा गइयो । त्यहाँ दुइभाइ छुट्टिएका रहेछन् । यता आमा रुने अर्काेतिर बुहारी कविता रुने, छुट्टाछुट्टै सासु बुहारीसँग बसेर छलफल गरियो । मेडमसँग राती अली अबेरसँग दुःख–सुःखका कुराकानी, पार्टी र क्रान्तिको बारेमा छलफल पनि भयो । सायद सुत्ने बेला १ बजिसकेको थियो । बिहान उठी चिया पिएर बर्दिया जान लाग्दा मेडमले भोकभोकै हिडेर रोग बढेको थाह छैन भनेर गाली गर्दै दुध रोटी अचार जबरजस्ती खान कर गरेपछि म नास्ता खाएर ब्यूरो इञ्चार्ज खुमा सुवेदीलाई त्यही छोडेर बर्दिया हिँडे ।

बर्दिया उद्योग बाणिज्य सङ्घको सभाकक्षमा बैठक राखिएको थियो । मलाई गंगाले बैठकस्थल पु¥याएर फर्किइन् । म दायाँ बाँया कतै नलागी सिधै कार्यक्रम स्थलमा पुगें । यता ३ दिन पहिलादेखि हामीलाई जहाँ भेटे पनि गिरफ्तार गर्ने भन्ने खबर जिल्ला प्रशासन कार्यालयमा आएको रहेछ । बिहान गुलरियामा साथीहरू जमघट भएको, सबै प्रशासनले हेरिराखेको रहेछ । उद्योग वाणिज्य सङ्घको हल अगाडि वंगलामुखी उ.मा.वि.मा म्यादी प्रहरी राखेको रहेछ । त्यो पनि मलाई थाह भएन । बैठक कक्ष बाहिर गुप्तचरका २ जना जवानहरू आएका रहेछन् । हामीहरू जम्मा हुँदै थियौ । उनीहरूले १० जना जम्मा भए भन्दै ३५ जनासम्मको माथि सूचना गरेछन् । अरुबेला पनि अनुसन्धानका जवानहरू आउथे । उनीहरूलाई पठाएर बस्ने गरिन्थ्यो । साथीहरू जम्मा हुँदै थिए, नआएका साथीहरूलाई फोन गर्दै बोलाएँ । कसैको फोन लागेन, हाम्रो बीचमा रातोखबर पत्रिका, पार्टी केन्द्रले निकालेको वार्षिक क्यालेण्डर, केन्द्रीय कार्यालयबाट आएको २ हजार पर्चा वितरण गर्नु थियो । लगभग बहुमत साथी जुटेपछि म बाहिर आएर गुप्तचर समूहका जवानहरूलाई एकछिन तल जानुस् हामी बस्छौ ल भनें, उनीहरू हुन्छ भनी हिंडे । बाहरिबाट भने प्रहरीले पत्रिकाको मुठो, क्यालेन्डरको पेटी, पर्चाको पेटी आएको सबै निगरानी गरिरहेका रहेछन् । एकाएक हाम्रो बैठक कक्षमा प्रहरी निरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा प्रहरीहरू आए मैले माइन्युट र केन्द्रको सर्कुलुर झोला भित्र राखे । मैले हत्तपत्त अनिल दाईलाई फोन गरे दाई हामीलाई प्रहीले बिना पुर्जी गिरफ्तार गर्यो, कती जना पर्यौँ थाह छैन भने । बाँकेवाट साथीहरूको फोन आयो मैले खुमाजीलाई भन्दिनु हामी गिरफ्तार भयौँ भनेर ।

हामीसँग सामान केही छैन साँझसम्म छोड्छ जस्तै लागेको थियो किनभने हाम्रो जिल्लाको चुनाव पनि धेरै पछि थियो नजरअन्दाज गर्नु हाम्रो कमजोरी भयो । दिनभरी मलाई महिला सेलमा राखेको थियो तर मेरो फोन चाडै नै प्रहरीले खोसी हाल्यो । अरु १२ जना साथीहरूलाई ल्याउने वित्तिकै हिरासतमा राखेको रहेछ । साँझ सात बजे मलाई पनि हिरासतमा राख्यो । जिल्ला सचिवलगायतका साथीहरू बाहिर भएको र कार्यालयकै ४÷४ जना साथीहरू बाहिरै भएकोले अलि हल्का सास फेरें । अब चुनाव सर्दैछ हामीलाई पञ्चायती कालरात्री भन्दा कुनै फरक भएन, संकटकालको झ–झल्को छचल्कियो । राति नौ बजे डक्टरी गर्ने भनेर सबैलाई हत्कडी लगायो, मेरो हातमा पनि हत्कडी लगायो, पीडाको अनुभूति भयो । हामीलाई हतकडी लगाउन पाइँदैन, हामी हतकडी लगाएर कहीँ कतै जाँदैनौ, हामी राजबन्दी हौँ भन्यौँ । महिला प्रहरीहरूले नियमै यस्तै छ मेडम के गरौँ भन्दै थिए । मलाई घिसारेर बोकेर लगे मात्रै हतकडी लगाएर एक कदम पनि अगाडी बढ्दिन भनेँ र हामी सबैले त्यही अठोट कस्यौँ । एकछिन झडप होला जस्तो भयो । पछि महिलालाई हत्कडी नलगा भन्ने माथिबाट आदेश आयो भनेर महिला प्रहरीले हतकडी खोल्न थाल्दा मैले हत्तपत्त हातबाट हतकडी थुतेर फालिदिएँ ।

भोलिपल्ट हामीहरूलाई सार्वजनिक अपराधको मुद्दाको अनुसन्धान गर्ने भनेर पक्राउ पुर्जी थमाउन थाल्यो । हामीले प्रतिकार गर्यौँ । हामीले त्यस्तो के अपराध गरेका छौँ र ? सार्वजनिक अपराध पुष्टि गर नत्र भने सामान्य सोधपुछ भनेर पक्राउ पुर्जी देउ भन्यौँ । के हाम्रो पर्चा, पत्रिका क्यालेन्डर राज्य विरुद्धको अपराध भयो निर्लज्ज भएर लोकतन्त्र गणतन्त्रको खिल्ली उडाउने बाहेक केही भएन । त्यो दिन त्यसै बित्यो । दोश्रो दिनबाट भेटघाट शुरु भयो । मेरो घरबाट बिस्तारा र अन्य सामान झुलसहित लिएर भाइ–बुहारी आए । तपाईंहरू बर्दी लगाएको प्रहरी हो हामी पनि बिना बर्दीका सिपाही हौँ, तपार्इंहरू माथिको आदेश भनेर गिरफ्तार गर्ने सत्य थाहा पाएर पनि सत्य भन्न डराउने तर हामी भने साँचो झुटोसँग स्पष्ट वक्ता हौँ । पारदर्शी ढँगले जे हो त्यही भन्ने तपाईं हामीमा यही फरक छ । हामी आगो तपार्इंहरू खुकुरीको धार भने पछि एस.पी. र निरिक्षकले हामीलाई तपार्इंहरू आजै पुर्जी लिने भए लिनुस् नत्र भने सांगठनिक अपराधको मुद्दा लगाउँछौँ भन्दै धम्क्याए । केही समय राम्रै छलफल भयो । वकिलसँग परामर्स गर्छु भनेँ र हुन्छ भनी मुद्दा फाँटमा आएर प्रहरी कन्ट्रोल कै फोनबाट वकिल धर्मराज अधिकारी लाई फोन गरें । आवश्यक परामर्श भयो । त्यसपछि हामीहरूले पक्राउ पुर्जीमा हस्ताक्षर ग¥यौँ ।
म विगत ९ वर्षदेखि निरन्तर औषधी सेवन गरिरेकी थिएँ । लखनउदेखि औषधी मगाउनु पथ्र्यो । औषधी खाइरहेँ, अरु विरामी भनेँ म परिन । तर पनि दिनको ६ पटक औषधी खानुपर्ने । औषधी खानेबेला औषधी मगाउँदा हवल्दारले साप भन्दै हिरासत व्यवस्थापनलाई जानकारी गराउनु पथ्र्यो । माथि–माथि सोध्नुपथ्र्याे उनीहरूलाई हैरानी भएछ । त्यसपछि मेरो औषधी भित्रै राख्न थाले ।

हामीले हिरासत भित्र पनि अरु बन्दीहरूसँग एकीकृत जनक्रान्ती कै बारेमा छलफल गथ्र्यौ । हाम्रो पार्टीको नीति कार्यक्रम दलाल पुँजीवादी राज्यसत्ताको विरुद्धमा धावा बोल्नुपर्ने तथ्य कारणहरूको बारेमा बन्दीहरूसँग छलफल हुने थियो भने १÷१ हप्तामा हिरासत क्वाटर गार्ड कमान्डर हवल्दार सहित जवानहरू फेरिन्थे । तलदेखि माथिसम्मकाले कुन दिन जागिर खाइयो, छोरा छोरीहरूलाई त यस्तो जागिर नलगाउने भन्ने गर्थे । अझ क्वाटर गार्डमा बस्ने त कोही पनि मन पराउँदैनथे । उता म कन्ट्रोल रुममा खाना खान जाँदा बिहान बेलुकी १÷१ घण्टा बाहिर बस्थेँ । कहिलेकाँही पढ्न मन लागेन भनेँ दिनभरी पनि बाहिर बस्थेँ । बच्चाको आमा महिला प्रहरीको ड्युटी प¥यो भने बच्चालाई दुध खुवाउन जान पर्ने हुन्थ्यो, २ बजे भित्र जान्थें, बाहिर बस्दा हामी तलदेखि माथिसम्म छलफल गथ्र्यांै, सबैजना पोजिटिभ नै हुन्थे तर गाह्रो छ मेडम, सम्भव छ र ? भन्ने गर्थे । हिरासत भित्र र बाहिर आउने मुद्दाको प्रकृति हेरी हामी पनि छलफल गथ्र्यांै, यो ठीक यो बेठीक भन्ने गथ्र्यौं ।

jail

रातो खबर पत्रिका हामी हिरासतमा परेदेखि आउन छोड्यो । सबै पत्रिकाहरू पत्रिका पठाउने भाइको कोठामा थन्किएका रहेछन् । जिल्ला बाहिर बसेका साथीहरूले मिलाउन सकेनन् । तर बाहिरका राष्ट्रिय दैनिक जिल्लाका लोकल पत्रिका, नियमित अध्ययन गथ्र्यौ भने किताबहरू क. विप्लवका रचनाहरू एकीकृत जनक्रान्ती लगायत माक्र्सवादी किताबहरू सबै पढ्न दिइएको थियो । जिल्लाको सि.डि.ओ. र एस.पी. अलि वुझ्ने भएकाले पनि हामीले राजवन्दीको व्यवहार पायौँ । तलदेखि माथिसम्मका प्रहरी जवानहरूसँग अन्तरघुलन, छलफल, बहस गर्ने मौका पनि पाइयो । शिक्षक संगठनमा काम गर्दा छलफल चल्दा गुणराज लोहनी, लालबहादुर बि.सी.सरले – ‘देवकलालाई एक दिनभर टी.भी., पत्रपत्रिका, फोन र कोही साथी पनि नदिई राखिदिने हो भने यहाँभन्दा बढी ठूलो सजाय केही हुँदैन’ भन्ने गरेको याद आयो । तर पनि ५८ दिन एक्लै काटियो । भेट्न आउने सबैका आफन्तजनहरू, वकिल, पत्रकार, मानवअधिकारकर्मीहरू, अरु पार्टीका नेताहरू, अधिकतम्, जनताहरू हुन्थे भनेँ हामीले कमाएको मान्छे नै हो । मान्छे चिन्ने अवसर पनि पायौँ । भेट्न आउने जनताले माया गरेर कसैले पैसा, कसैले फलफूलदेखि उसिनेको मकै, भुटेको मकै, तरुलसम्म सबै खानेकुरा लिएर आउने गर्थे । ५८ दिनसम्म बस्दा १०–१२ दिनको नास्ता मात्र किने हुँला मैले ।
१० वर्षसम्म संसदीय व्यवस्थाका विरुद्ध जनयुद्धमा पार्टी, सेना, मोर्चा पाल्यो । हामी १३ जनाको मात्र कुरा भएन, त्यसको परिणाम प्रचण्ड बाबुरामले वर्गघात गरे, राष्ट्रघात गरे, जनघात गरे । जनताले उपहार ३ वटा घात पाए । संसदीय व्यवस्थाका विरुद्ध पोखिएको हाम्रो रगतको आहाल सुक्न नपाउँदै २० वर्षपछि फेरि चरणबद्ध गरेर संसदीय व्यवस्थाको पुनर्ताजगी गर्दैछन् । यसका विरुद्ध जनताले धावा बोल्दा यिनीहरूले हामीलाई ५८ दिन हिरासतमा सडाए । हामीले देखेको सपना, जनताको सपना हो, शहिदको सपना पुरा गर्ने हो । शहिदको रगतको आहालमा डुबेर संसदीय व्यवस्थाको बिजारोपण गरेपनि एकीकृत जनक्रान्तिको कार्यदिशाले त्यसलाई किनारा लाउँदैछ, लगाउने छ । नेपालमा क्रान्ति सम्भव छ, हुन्छ, हाम्रो पार्टीले गर्छ भन्ने पुनः विश्वासका साथ अगाडि बढ्दैछाँै ।

बाहिर पार्टीले के, कसो गरेको छ केही अत्तो– पत्तो नै थिएन । शुरुमै ब्युरो इन्चार्ज खुमा सुवेदीले २ जना साथी भेट्न पठाउनु भएको थियो त्यो भन्दा पार्टीको खबर केही भएन । बरु प्रहरीहरूले नै आज गाडी जलाए, यता बम राखे, क. नविनको कोठामा खानतलासी गरे भन्ने सूचना दिन्थे । मैले जिल्लाका सदस्यहरू र मुख्य मुख्यलाई भेट्न नआउन भनेको थिए । तर साथीहरूले च्यानल जोड्न जानेनन् । पार्टीले बाहिर के गरेछ भन्ने हामीहरूलाई थाहा भएन । भित्र हामीले के गरेका छाँै भन्ने कुरा बाहिर खबर त पठाउथ्यौँ, तर खबर पाए पाए नपाएको थाहा भएन ।

२८ औँ दिनको दिन प्रहरीहरूले भाईहरूको हातको हतकडी खोलेजस्तो गरे र १५–२० जनाले १ जनालाई समातेर ४ कदम अगाडि जाने बित्तिकै पुनः हतकडी लगाए । साथीहरूको घरको समस्याले पिरोलिरहेको थियो । कसैको घरमा खाने चामल छैन, कसैको घरको छाना हावाहुरीले उडाएको खबर थियो । ५ जना संस्थामा काम गर्ने साथीहरूको जागिर जाँदै थियो । वर्षभरी खाने खेतीपातीको मौसममा बिनाकसुर साथीहरू पुनः हिरासतमा पर्दा रिसले म थरथर काम्न थाले असई हिरा मेडमले तपाईंको किन हात कामिरहेको छ भन्नुभयो । साथीहरूको घरको पीडाले भनँे । धन्य हो सरकार, १३ जनालाई ३०० प्रहरीले सिधै गाडीमा राखेर हस्पिटल पु¥याएर डक्टरी गरेको औपचारिकता निभाएर मलाई पहिला भ्यानमा राखेर ल्याइयो । पछि साथीहरूलाई वान टन गाडीमा राखेर ल्याएछन् । भाईहरू गाडीबाट नझरेपछि तानातान भएछ, इन्सपेक्टर हेम शाहीको हातको कुहिनाले क. शक्तिको पेटमा लागेको थियो ।
एक दिन ६ नबज्दै सी.डी.ओ. विष्णुबहादुर थापालाई हाजिर गराए । हामीहरूले आफ्नो समस्या राख्यौँ । सी.डी.ओ. र एस.पी. निरिह भएर तपाईंहरू अन्यायमा परेको थाह छ, के गरौँ, माथिको आदेश भनेर निरिहता प्रकट गरे । त्यसपछि साथीहरूको निःशुल्क उपचार गर्ने, घरमा फोन गर्न दिने, हामीहरूले होटलबाट मासु मगाएर खाने गरेका थियौँ, मासु ल्याउन होटलमा महँगो पर्छ, भित्रै पकाइदिन्छु भन्ने सल्लाह पनि भयो, सङ्घ संस्थामा काम गर्ने साथीहरूको सम्बन्धित कार्यालयमा फोन गरी समितिका मान्छेहरूलाई जिल्ला प्रहरी कार्यालयमा बैठक बस्ने व्यवस्था मिलाईदिने आर्थिक सालतमामी बेला हिसाब किताब मिलाउन दिने सहमति भयो ।

छोरा सरोज आचार्य पोखराको गण्डकी आवासीय मा.वि.मा कक्षा ४ देखि १० सम्म पढ्थ्यो । क्रान्तिको बीचबाट जन्मेको छोरा दुःख गरी हुर्काएँ । एस.ई.ई. दिने बेला पनि पोखरा जान पाइन । होस्टेलबाट निकाल्ने बेला पनि जान पाईन, घरमा आउँदा लिनजान पनि पाएको थिइन । ११ र १२ कक्षाका लागि ब्रिज कोर्स गर्न काठमाडौँ पठाउँदा पनि आफू जान पाइनँ । पछि गिरफ्तार परेँ । छोराको पीडाले सताउन थाल्यो । बीचबीचमा फोन गर्न मिलाएको थिएँ तर माथिबाट सिधै भन्यो भने फोन गर्न पाइने, तल भन्दै जाँदा एस.पी.सम्म पुग्ने कुरा दुर्लभ नै हो । फोन गर्ने बेला हाकिमहरू नभए झगडै गर्नुपर्ने हुन्थ्यो । मैले क्रान्तिको बीचबाट जन्मेको छोरालाई यो राष्ट्रको सवल र सक्षम बनाउनु छ । मैले पहिले नै भरत सरलाई भनेको थिएँ । कक्षा १० को नतिजा आउने बित्तिकै मलाई खबर गर्नुहोला सर, म भित्र बन्द पर्खालमा छु, तपाई बाहिर हुनुहुन्छ भनेको थिएँ र असार नौ गते छोराको जन्मदिनको दिन मैले पहिला शुभकामना दिन पाउनुपर्छ भनेको थिएँ ।

खाना खाने बेला आज छुट्ने दिन मेरो फोन दिनुस सर भने, मोबाईल आयो, मैले विशेष क. युद्धलाई फोन गरें, कहाँ हुनुहुन्छ भनेर, युद्धले राजापुर जाँदैछु भन्नुभयो । तपाईं तुरुन्तै फर्कनुस् हामी छुट्दैछौँ भने, युद्धले होइन सी.डी.ओ.ले भोली छोड्दैछ भनेर भन्नुभयो, मैले आजै छोड्दैछ भने क. सङ्घर्षशील र क. श्यामलाई फोन गरे पछि होइन यसरी फोन गर्न भएन भनेर मेरो फोन भित्र लगियो । त्यत्ति खबर गर्न पाएपछी मलाई पुग्यो भनें, जिल्ला प्रशासन कार्यालय जाँदा त सबैलाई चुनाव लागेको कार्यालयमा डिल्ली सर मात्रै हुनुहुदोरहेछ । प्रशासन कै विनय र डिल्ली सरले बयान सकिएपछि हामी समयमै छुट्यांै, बाहिर आएर पत्रकार सम्मेलन गरियो, छुट्ने साथीहरूले क.विशेष अभिनन्दन गर्नुभयो ।

बाहिर हाम्रो पार्टी संगठनदेखि आत्तिएर चुर भएका माओवादी केन्द्रका साथीहरूले बहिष्कार गर्न पर्छ भनेर सी.डी.ओ. र एस.पी.सँग मिलेर देवकला टिमसहित भित्र बसी भनेछन् । संसदीय पार्टीहरूले भन्दा नबुझेका घरपरिवारले बेइज्जती भयो खै त विप्लवको शक्ति आजसम्म पनि छुटाउन सकेनन् भन्ने गर्दा रहेछन्, बाहिर त्यस्तो भएपछि मलाई आएर कोहीले आक्रोश पनि पोखे । तपाईं नेताहरूलाई के भयो र ? हाम्रो घरपरिवार बिग्रियो, केटाकेटीको बिजोग भयो भनेर रुने कराउने गरे पहिला पहिला आउँदा, पछी हिरासत भित्रैबाट घरपरिवारलाई सम्झाएपछि हामी र हाम्रो पार्टी जनताको अधिकारको लागि लडेको हो, यो समाजको दलाल राज्यसत्ता फेर्न बदल्न लडेको हो । हाम्रो गाउँठाउँमा हुने समाजका विकृति, विसंगतिका विरुद्धमा लडेको हो । जनयुद्ध लड्दाखेरी १० वर्षमा देशका १६ हजार मान्छेहरूले ज्यान गुमाए, तर प्रचण्ड, बाबुरामले धोका दिए । सङ्घर्ष गर्दा कठिनाई र समस्याहरू त सामना गर्न तयार हुनुपर्छ, हामी हाम्रो व्यक्तिगत स्वार्थका लागि हैन । दलाल संसदीय प्रतिकृयावादी राज्यसत्तालाई परास्त गर्न हामी एकजुट हुनुपर्छ, भनेर सम्झाएपछि अर्काे पटक भेट्न आउँदा अलि खुशीको अनुहार लिएर नआत्तिनु, हामी बाहिर सङ्घर्ष गरिरहेकै छौँ, सान्त्वना दिन थाल्नुभयो । मलाई गर्व लाग्थ्यो, मेरो बुबाले राजनीति सिकाएर आफूले कठोर सङ्घर्ष गरेर बसेको संकटकालमा दिनको ३ पटक मेरो ठूलो भाई होमनाथ अधिकारीलाई चौकी हाजिर हुनुपर्ने, कान्छोभाईलाई सुर्खेतमा आर्मीले १ हप्ता चरम यातना दिएर छोडेको, घरबाट २ जना शहिद भएको, आमाले वर्ग सङ्घर्षबाट धेरै ज्ञान प्राप्त गर्नुभएको छ । त्यही प्रेरणाबाट आफूलाई अगाडी बढाउने मौका पनि पाएको छु ।

 

२०७४ साउन ३१ गते ७ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :