एमसीसीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको काठमाडौँमा विशाल जनसभा सम्पन्न

एमसीसी पास भएमा देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुनेछ : विप्लव

एमसीसीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको काठमाडौँमा विशाल जनसभा सम्पन्न

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा विशाल जनसभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् ।

एमसीसीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको खुलामञ्चमा आयोजना गरेको सभामा सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले एमसीसी नेपाली जनता र देशका विरुद्धमा रहेकाले यसको खारेजीका लागि सिङ्गो देश आन्दोलित बनेको बताए ।

विरोधसभाका प्रमुख वक्ता रहेका महासचिव विप्लवले नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर दलालहरूविरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । जनताको व्यवस्था स्थापना गर्न र दलाल सत्ताका विरुद्ध आफू जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उनको भनाइ थियो । नेपाली दलालहरूले आफ्नो निहित स्वार्थका लागि जनताको रगत–पसिना र राज्यको सम्पत्ति लुटेको महासचिव विप्लवले बताए ।

देशको सत्ता दोहन गर्नेहरूले क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेको आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर जनताको आन्दोलनमा अङ्कुश लगाएको विप्लवले बताए । राष्ट्रिय स्वाधीनताको आन्दोलन अगाडि बढाउँदा आफ्नो पार्टीले चरम दमन, झूट्टा मुद्दा र यातनाको सामना गरेको पनि उनले बताए । जनतामा विश्वास गर्ने र जनताको शक्तिमा टेकेर अगाडि बढेको आफ्नो पार्टी राष्ट्रिय स्वाधीनताका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उनले बताए । जनताको तागत र क्रान्तिकारी आन्दोलनले यहाँका दलालहरूलाई परास्त पार्ने उद्घोष गर्दै महासचिव विप्लवले आफ्नो पार्टी जनताको शक्तिमा विश्वास गर्ने प्रस्ट पारे । उनले बन्दुकभन्दा जनता र पत्रकारको क्यामेरा बलियो हुने धारणा पनि राखे ।

नेपालमा एमसीसी सम्झौता जबर्जस्ती लादिएको भन्दै विप्लवले यो देश र जनताको हितविरुद्ध रहेकाले तत्काल खारेज गर्नुपर्ने बताए । उनले जुनसुकै मूल्य चुकाएर पनि एमसीसी खारेज नभएसम्म यसका विरुद्ध आन्दोलन अघि बढाउने बताए । उनले भने, ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ । एमसीसी जनताका विरुद्ध छ । नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानस्तिान र सिरिया बनाउनेछ । जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ ।’

महासचिव विप्लवले देशको माया हुने हरेक नागरिकले एमसीसीका विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि मूल्यमा नेपाली जनतामाथि एमसीसी थोपर्न दिनेछैनौँ ।’

विप्लवले भने, ‘सरकारसँग ३ बुँदे सहमति गरेर हामीले उक्त सहमति इमानदारीपूर्वक पालना गर्याेँ तर राज्यले उक्त सहमति इमानदारीपूर्वक पालना गरेको छैन । अहिलेसम्म हाम्रा साथीहरूका मुद्दाहरू खारेज गरिएको छैन । देशको भविष्य आँखामा सजाएर हिँडेका नेता–कार्यकर्ता र युवाहरूलाई सरकारले दमन गरेको छ । हाम्रो देशका नागरिकलाई जिउँदै महाकाली नदीमा बगाउने शासकहरूका विरुद्ध आन्दोलन गर्दा सरकारले हामीलाई जेलमा लगेर सडाउँछ भने हामी एउटा ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ ।’

उक्त सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यसलाई नेपाली जनताको बलले परास्त गर्नुपर्ने बताए ।

‘अमेरिकी साम्राज्यवादले २१ औँ शताब्दीका नेपाली जनतालाई झुक्याउने कोसिस गर्ने दुस्साहस नगरे हुन्छ’, प्रकाण्डले भने । विदेशीहरूको पाउमा परेर आफ्नो सत्ता र कुर्सीस्वार्थका लागि नेपाली दलाल शासकहरूले देशको स्वाधीनताविरोधी काम गरे उनीहरूलाई नेपाली जनताको आन्दोलनको आँधीबेहरीले खरानी बनाउने उनले बताए । साथै प्रकाण्डले राष्ट्रघाती दलालहरूलाई एकीकृत जनक्रान्तिको आँधीबेहरीले उडाइदिने पनि बताए ।

प्रकाण्डले नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिलाउने व्यवस्था जनमतसङ्ग्रहको चुनावमा आउन सबैलाई आग्रह गरे । उनले राष्ट्रभक्त र देशलाई माया गर्ने सबै शक्तिलाई राष्ट्रियता रक्षाको आन्दोलनमा सहभागी हुन आग्रह पनि गरे । संसदीय चुनाव भए देश झन् बर्बाद हुने भन्दै उनले यो चुनावको औचित्य नभएको बताए । साथै प्रकाण्डले एमसीसी परियोजना खारेज गरेर देशको रक्षामा लाग्न सबैलाई आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसी पारित गर्नुपर्छ भन्नेहरू र यो सम्झौता गर्नेहरू घुच्चुकमा आँखा भएकाहरू भएको बताए । अमेरिकाले नेपालमा एमसीसीमार्फत आफ्नो सैन्य परियोजना लागू गर्न खोजेको भन्दै यो राष्ट्रघाती भएको बताए । ‘अमेरिकाले एमसीसीलाई नेपालको संसद्‌बाट पारित गराई कानुनको रूप दिएर लागू गर्न खोजेको छ, यो नेपालको शान्ति, स्वाधीनता र समृद्धिविरुद्ध छ । नेपालमा बाह्य शक्तिहरूको दबाब बढिरहेको यो एउटा प्रमाण हो’, उनले भने । नेपालमा बेलाबेलामा अवाञ्छित बाह्य प्रभाव वढिरहेको बताए ।

यस्तै सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले यो देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्ने बताए । उनले अमेरिका नेपालको विकास, उन्नति र प्रगतिका लागि नभएर देशको प्राकृतिक स्रोतसाधन लुट्ने उद्देश्यले एमसीसीमार्फत नेपालमा ब्रह्मलुट मच्चाउन आएको बताए । उनले नेपालको हित चाहने हो भने सीधै सहयोग नगरेर किन एमसीसीमार्फत गरेको भनी अमेरिकालाई प्रश्न गरे । नेपाललाई अफगानिस्तान बनाउने र नेपालमा टेकेर चीनलाई घेर्ने उद्देश्यले अमेरिकामा नेपालमा आएको भन्दै उनले एमसीसी पारित भएको खण्डमा नेपाल युद्धभूमिमा परिणत हुने बताए ।

यस्तै नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले नेपालको राजनीतिलाई नयाँ दिशा दिनका लागि सबै क्रान्तिकारी र देशभक्त शक्तिहरू एकजुट भई दलीय राजनीतिभन्दा माथि उठेर देश बचाउन अघि बढ्नुपर्ने बताए । यस्तै उनले सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको ३ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने पनि बताए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी परियोजना देश र जनताको हितमा नभएको बताए । अमेरिकी र नेपाली शासकहरूले यसलाई विशुद्ध विकासको नारा दिए पनि यो आईपीएस परियोजनाअन्तर्गतको अमेरिकी सैन्य रणनीति भएको पनि उनले बताए ।

यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) ले जबसम्म दलाल पुँजीवादी व्यवस्थाको अन्त्य हुँदैन र जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुँदैन, त्यो दिनसम्म नेपालको दलाल पुँजीवादका विरुद्धको आन्दोलन अघि बढिरहने बताए । उनले देशलाई विदेशीहरूको खेलमैदान बनाउन नदिन देशभक्त क्रान्तिकारी शक्तिहरूले बुझ्नु जरुरी भएको बताए ।

यस्तै आईटी आर्मी पार्टीका अध्यक्ष अमर शाहले नेपालका युवाहरूले नै जनताको आफ्नो व्यवस्था स्थापना गर्नको लागि समाजवादी क्रान्ति गर्नुपर्ने बताए । शाहले देशलाई राष्टघाति सम्झौताबाट बचाउनका लागि सवै सचेत नागरिकहरू एक हुनुपर्ने बताए । यदि एमसिसी पारित पारित भएको खण्डमा देशमा आगो बल्ने र सवै सचेत युवाहरू एकजुट भएर आन्दोलनको आधिबेहरी सिर्जना हुने बताए ।

यस्तै हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष सुरेन्द्र भण्डारीले एमसीसीवादीहरू देशद्रोही भएको बताए । एमसीसीलाई देशबाट लखेट्नका लागि संयुक्त आन्दोलन अघि बढाउनु पर्दछ उनले भने । सबै जनता एकजुट भएर आन्दोलित भएको खण्डमा यो पराजित हुनेछ उनको भनाई थियो ।

कार्यक्रमपूर्व काठमाडौँका सुन्धारा, लैनचौर र बबरमहल ३ ठाउँबाट जुलुस निस्किएको थियो । त्रिपुरेश्वरतिरबाट निस्किएको जुलुसको नेतृत्व नेकपा सचिवालय सदस्य सुदर्शनले गरेका थिए भने लैनचौरबाट आएको जुलुसको नेतृत्व सचिवालय सदस्य कञ्चनले गरेका थिए यस्तै बबरमहलतिरबाट निस्कने जुलुसको नेतृत्व सचिवालय सदस्य विषमले गरेका थिए । तीनतिरबाट आएको जुलुस सुन्धारामा मिसिएर खुलामञ्चतिर प्रवेश गरेको मूल जुलुसको नेतृत्व नेकपाका महासचिव विप्लवले गरेका थिए । महासचिव विप्लवले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनले गरेका थिए भने स्वागत मन्तव्य अर्का सचिवालय सदस्य प्रकाण्डले गरेका थिए । कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनाली, क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, आईटी आर्मी पार्टीका अध्यक्ष अमर शाह, हामी नेपाली हाम्रो नेपाल’ पार्टीका अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल पिपुल्स पार्टीका अध्यक्ष दिनेश खनाल, नेकपा माओवादी मातृका यादव समूहका पूर्वउपत्यका इन्चार्ज सुजन यादवलगायतको उपस्थिति थियो । कार्यक्रम काठमाडौँ र आसपासका जिल्लाहरूबाट दस हजारभन्दा बढी मानिसको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :