रङ्गुना किनारमा भिमदत्तको जनसेना

विहान सबेरै उठेर साथी दिपक र म जोगबुढाको यात्राका लागि तयार थियौं । दैजिबाट जोगबुढासम्मको यात्राका लागि विहान जिप लाग्दो रहेछ । सानो जिप धेरै यात्रुहरु भरिएकाले हामी जिपमा अट्नै सकेनौं । जिप छुटेपछि अन्य यातायातको साधन नभएकाले यात्रा स्थगित हुने चिन्ता बढ्दै थियो । दिपकले साथीहरुसंग अनुरोध गरेर एउटा मुन्द्रे यातायातको व्यवस्था गरेछन् । साथी खटारो मुन्द्रे लिएर आईपुगे । म निकै आशावादी भएँ तर खटारो शल्यक्रिया नगरी यात्राका लागी थप चुनौतीपूर्ण थियो । हामीले गन्थनमन्थन गर्दै खटारोको यन्त्रशालामा शल्यक्रिया गर्यौं र यात्राका लागि तयार भयौं । म भटभटे चालक दिपक मेरो यात्री भएर हामी दैजिबाट चुरेपहाडको जंगलतिर हानियौं । बगरका ढुंगा र खाल्टाखुल्टि बाटोले शरीरमाथि निकै प्रहार गरेको थियो । चुरेका वनकुन्जहरु नियाल्नु र भित्रिमधेसको दृश्यावलोकन मेरो लागि रोचक विषय थियो ।

कहिले तुफानी वेगमा त कहिले मन्दमन्द गतिमा ४ घण्टाको यात्रापछि हामी जोगबुढा इलाकातिर पुग्यौं । दिपकले बेलाबेलामा जोगबुढा त्यस क्षेत्रका बुढापाकाले भनेका कुराहरु बाटोभरि सुनाइरहन्थे । मृत अतितको स्तुतिगान गर्ने र गौरवगाथाको वयान गर्दा हामी सँधै वर्तमानका घाउहरुलाई भुलिरहेका हुन्छौं । जिउँदो यथार्थलाई आत्मसाथ गर्न हिच्किचाउने र मृत अतितको पुजापाठमा आत्मरति लिने हाम्रो संस्कारलाई एउटा गतिलो झापड दिन जिउँदो इतिहासका साक्षीहरु भेट्दै इतिहासको चिहान खोतल्ने मेरो यात्रा थियो यो जोगबुढा यात्रा ।
यात्रामा संकट आउँदा चिहान खोतलेर दृढ प्रतिज्ञा गर्ने माक्र्सवादी दृष्टिबाट अभिप्रेरित थियो । यो यात्रा । भित्रि मधेसको काखमा रंगुनाको किनार छेउसानो जंगल थियो । त्यही जंगलभित्रका भुई छाप्राहरु देख्दा मनमा छुट्टै भावना पैदा हुन्थ्यो । खुसिराम पाख्रिनका गीतका यी पंक्तिहरु सम्झन्थेँ –
“कालो वनको विचैमा वीरहरुको गाउँ
सानासाना झुपडी छैन आमा बाउ
भोका नांगा नानीहरु खेलिरहने ठाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ “
हामीलाई देखेर साना नानीहरु बोल्न लाज मान्दै थिए । त्यहाँ झुपडी वरपर कोही देखिएनन् । हामी अलमल्ल पर्यौँ । दिपकजीले तलघरमा एक व्यक्तिलाई भेटेर सोधेँ – यहाँका बाजे खोइ ? उनले तल वगरतिर देखाए । हामी वगरतिरै लाग्यौं । भित्तातिर जंगल तलतिर रंगुना खोला विचमा केहि गरा खेतहरुसँगै थियो किसान योद्दाको लालझुपडी । अनुहारमा चाउरी परेको, झुस्स दाह्री पालेका बुढा मान्छे झुपडी अगाडी उभिएर हामीलाई नियाँल्दै थिए । ‘हामी त भिमदत्तको सेनालाई भेट्न आएका हौँ’ साथी दिपकले भनेपछि खुसि हुँदै हातमा समातेर भेडाको छाला ओछ्याएर बस्न अनुरोध गरे । दिपकलाई मोबाइल रेकर्ड गर्न लगाएर त्यसपछि हामी गन्थनतिर लाग्यौं ।

वि.स १९९४ सालमा जन्मिएका उनको नाम पूर्णबहादुर रोक्का रहेछ । नागरिकतामा भने उनको नाम दिलबहादुर रोक्का रहेछ । पुर्खाहरु प्युठानबाट डडेल्धुरा पुगेपछि उनी डडेल्धुरातिरै बसोबास गर्न थालेका रहेछन् । २००७ सालमा ब्राम्हदेव नाकामा नुन लिन जाँदा भिमदत्तसँग उनको चिनजान भएको रहेछ । २००७ सालको क्रान्तिले राजनीतिक परिवर्तन भएपनि जनजीवन थप कष्टकर थियो । २००७ सालको कान्तिका पक्षधरभित्रै दिल्ली सम्झौता बिरुद्दको ठूलो असन्तुष्टि थियो । उत्तिवेला भारतीय कांग्रेस पार्टीमा भारतीय सेनाका लप्टनहरु पनि सामेल थिए । नेपालका भिमदत्त त्यसका एकजना कमाण्डर थिए । उनी भारतबाट अंग्रेज हटाउने आन्दोलनमा सरिक बनेका थिए । त्यसपछि उनी राणा विरोधी आन्दोलनमा लागे । दिल्ली सम्झौता देश र जनताको हितविरुद्द रहेको महसुस गरेपछि कांग्रेस छाडेर आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए । तर पूर्णबहादुरलाई राजनीतिका यी सबै नालीवेली थाहा छैन । भिमदत्त गिरफ्तार हुनुको कारण पनि उनले बुझेनन् ।

‘तर भीमदत्त जेलबाट भागेर आएपछि नेता पो भएर आएछन् ’ प्रसन्न मुद्रामा उनले भने । भीमदत्त जस्तो नेता नेपालमा जन्मदैन ।’ उनले थपे । ‘उनी त गरिब दुःखीका लागि मरिहत्ते गर्दथे तर आजका नेताहरुले खै के गर्छन्’ वर्तमान व्यथितिप्रति प्रतिप्रश्न गरे । कन्चनपुर, व्रह्मदेव नाका पश्चिम नेपालको भारतीय प्रमुख नाका थियो । नेपालको राजनीतिक परिवर्तनसंगै काठमाडौंको उपेक्षा र भारतीय अत्याचारले जनताहरु पिल्सिएका थिए । नुन बन्द भएको ३ वर्ष भएको थियो जनताहरुले नुन खान पाएका थिएनन् । गाउँघरमा जाली तमसुकहरुले गरिव किसान पिडित थिए । यो देखेपछि उनीहरु थानाका मुखियालाई बोरामा पोकोपारी जिउंदै महाकालीमा बगाइदिए र जनतालाई नुन बाँडिदिए । नाकाका सबै व्यापारीहरु लखेटेर पसलमा आगो लगाइदिए । त्यसबेलासम्ममा भीमदत्तको छाकमा ५ बोरा चामल खाने फौज बनिसकेको थियो । त्यसो भन्दा उनमा युवाजोस उर्लेको देखिन्थ्यो । सरकारको पैसा कब्जा गरेर ‘तिम्रो खुन खाएका हुन् यिनीहरुले, लौ लैजाउ भन्दै बाँडिदियौं । हातले बाँड्दा धेरैथोरै हुन्छ भन्दै वेल्चाले हालेर दियौं यहि हातले । तर आज आफ्नु यस्तोमा बास छ’ उनमा निराशा देखिन्थ्यो । भिमदत्त एकजना दुरदर्शी नेता थिए । घरबाट श्रीमतीसंग बिदा हुनेबेला भनेको कुरा सम्झदै उनले भने – ‘साउनको महिना घर आए आया न आय तमी रांडी भयौ ’ भन्दै हिंडेका थिए । नभन्दै त्यस्तै भयो ।

उतिबेला भीमदत्तको फौजलाई तालिम दिने प्रशिक्षक भारतीय सेनाका अवकास प्राप्त हवल्दार थिए । उनी पनि धनगढीको लडाईमा भारतीय सेनाद्वारा मारिए । धनगढीको लडाई जितेको भए देश कब्जा हुन्थ्यो । लगातार ३ दिन ३ रात लडियो । त्यहि बेलाको चिनो यहाँ छ लौ हेर्नुस्’ भन्दै टोपी फुकालेर टाउकोको खत देखाए । उनको टाउकोमा धनगढी युद्धको घाउ असरल्ल थियो । उनी भन्दै थिए – ’हाम्रो ३०० को फौजसंग लड्न भारतबाट पनि सेना बोलाएको रहेछ । हाम्रो त लुटेको खजाना न हो कतिबेर थेग्नु, हातहतियार सकियो, कति मरे लेखाजोखा थिएन, बाँचेकाहरु भागे । म त घाइते थिएँ, भाग्न सकिन । साथीहरुले पनि लगेनन् । के गर्नु र ! लासहरुको आडमा अचेतझैँ बसेर बाचँे ।
धनगढीको हारपछि हामी पहाडमा लुक्दैछिप्दै हिड्दै थियौं । डडेल्धुरा कारीगाउँका लालबहादुर बोहोरा प्रहरीका थिए । ‘भिमदत्तको मित उसैले मार्यो नि हजुर हाम्रो भिमदत्तलाई’ उनले अगाडी भने – ‘घरको बारमा बन्दुक ठडाएर हामी खाना खादै थियौं । बासकोईरामा २÷३ गाँस मात्र के खान भ्याएका थिए भिमदत्तले, गोली लाग्यो र उनी ढले । उनको छातीमा ३ वटा गोली लागेको थियो ।

अन्तिम क्षणमा – ‘तेरे लिए अफ्ठ्यारो परे कोही धन्दा नमानेस् भन्दै मलाई ढाडस दिए । मर्नेबेला मेरो खुन बौरनेछ’ भनेका थिए । नेता मार्दा के हेरेर बसेको भन्ने मेरो जिज्ञासामा भने – ‘दुवै पक्षले कायर नगर्ने भन्ने सहमति थियो, त्यहि भएर हामीले हतियारतिर ध्यान दिएनौं। लडाईमा आदेशविना गोली हान्न कहाँ पाइन्छ र ? २००९ सालमा जेलमा परे ७ वर्ष जेल बसियो पछि भिमदत्तका राजवन्दी छोड भन्ने पत्र माथिबाट आयो । जेलबाट रिहा भयौं’ उनले भने ।’ तिमी भिमदत्तको सेना रहेछौ भन्दै एमालेहरुले राजनीतिमालागौ भने तर लागिन । माओवादीहरु त लिन नै आए गइन । जनताको सरकार बनाउँछौँ भन्थे । यस्तो जवरजस्ती गरेर बन्दैन जनताको सरकार भन्दै भागेर जंगलमा रात विताएँ । जनतालाई अँगालो हाल्नुपर्छ अनिमात्र बन्छ जनताको सरकार खै देशमा के पो हुने हुन् के पार्छ जमाना यिनी उल्टा छन्’ अतित सम्झँदै उनले भने।

‘हिजो भिमदत्त नोकरी छाडेर राजनीतिमा होमिए । पार्टीमा लागे । गौरीलाल, रुपसिंहहरुलाई व्रह्मदेव नाकामा रोटी पकाएर खुवाउने मै हुँ, खै कता गए तिनीहरु आउँदैआउंदैनन् । एकपटक अब देशमा निक्कै उथलपुथल हुन्छ । यहाँ शान्ति हुनेवाला छैन’ उनले भने ।
भिमदत्त चलचित्रको विषयमा हामीले जिज्ञासा राख्यौं । खै चलचित्र आएको छ भन्ने सुनेको थिएँ । पैसा भएन हेर्न जान सकिन । यतै ऐलानी जग्गा फाँडेर बसेको छु । राजनीतिमा लागियो, जेल यातना सबै भोगियो । लडाई लडेकै हो, बहुदल आएपछि विहे गरें । वालवच्चा भए, यस्तै छ हजुर ! ‘लौ अब भिमदत्तको एउटा सेना जिउँदै छ भन्ने खबर दिनुहोला काठमाडौंलाई’ भन्दै झुसेदाह्री चाउरीपरेको मुहारमा मलिन मुस्कुराउँदै हामीलाई उनले विदा गरे ।

२०७४ साउन ३० गते ६ : २६ मा प्रकािशत

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!