चिनियाँ उच्च नेता काठमाडौंमा

काठमाडौं / साउन ३० : चिनियाँ कम्युनिस्ट पार्टीका पिविएम तथा उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्च स्तरीय टोली तीन दिने औपचारिक भ्रमणका लागि सोमबार साँझ काठमाडौं उत्रने भएको छ । पाकिस्तानको स्वतन्त्रता दिवसबाट फर्केर सो टोली सिधै काठमाडौं हानिएको हो । चिनियाँ राष्ट्रपति सी चिङफिङ यसवर्ष पनि नेपाल भ्रमणमा नआउने पक्का भएपछि राष्ट्रपतिको दुतका रुपमा वाङकोे नेपाल भ्रमण भएको हो ।

डोक्लम क्षेत्रमा चीन र भारतका बीचमा तनाव भैरहेको समयमा उच्चस्तरीय चिनियाँ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलबार वसन्तपुर दरबार पुननिर्माणको सिलन्यास चीनका उपप्रधानमन्त्री वाङले गर्नेछन् । चिनियाँ अनुदानमा ९ तले वसन्तपुर दरबारको पुननिर्माण हुँदैछ । नेपालीे अधिकारीहरुसँगको भेटमा वाङ २०७२ चैतमा भएको पारवहन तथा अन्य सम्झौतामा केन्द्रीत हुनेछन् । वाङको अर्को विषय उल्लेख नभएपनि चीन–भारत डोक्लम विवाद वाङको अर्को विषय हुनेछ ।

सन् २०१८ सम्ममा चीन–भारत युद्ध हुनसक्ने आँकलन भैरहेकोे बेला चीनले सम्भावित युद्धकोे विषयमा विश्व जनमत निर्माण गरिरहेको देखिन्छ । तेस्रो तर औपचारिक छलफलको दोस्रो विषय ‘एक पाटो, एक बाटो’ हुनेछ । चीनले नेपालका लागि थप लगानी तथा अनुदान सहयोगको घोषणासमेत गर्नेछ । बुधबार वाङले नेपालका राष्ट्रपति र प्रधाननमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । विभिन्न दलका नेताहरुसँग भेटघाट सकेपछि बुधबारै चिनियाँ टोली स्वदेश फर्किनेछ । २९ सदस्यीय चिनियाँ टोलीमा दुई जना उपप्रधानमन्त्री, एक जना सहायक मन्त्री, दक्षिण एशियाली महाशाखा प्रमुख, क्षेत्रीय रणनीतिक मामिलाका प्रमुख, सुरुक्षा मामिला प्रुमुख र दुतावासका कर्मचारी रहने छन् । यो ५ वर्ष यताकै चीनको उच्चस्तरीय भ्रमण हो ।

२०६६ सालमा तत्कालिन प्रम माधवकुमार नेपालको चीन भ्रमणपछि त्यही स्तरको चीन–नेपाल आपसी भ्रमण भएको छैन । सन् २०१२ मा तत्कालिन चिनियाँ प्रम वेन जियाबाओ शार्क शिखर सम्मेलनको अवसरमा ५ घण्टे नेपाल भ्रमण गरेर फर्किएका थिए । २०५३ (सन् १९९६) यता चीनका कुनै पनि राष्ट्रपति नेपाल भ्रमणमा नआउनुलाई नेपालकोे कुटनीतिक असफलतामा रुपमा हेरिएको छ । सुरक्षा र राजनीतिक मामिलामा मात्र होइन आर्थिक क्षेत्रमा पनि चिनियाँ लगाानी र चासो निकै बढेको छ । चीनको बढ्दो लगानी र मैत्रीपूर्ण व्यवहारका कारण नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको अनुभव सर्वत्र गरिएको छ । यो भ्रमणले चीन–नेपाल सम्बन्ध अझ सुदृढ हुने अनुमान छ ।

२०७४ साउन ३० गते ३ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :