दोरम्बा र बलिदान – सम्पादकीय

यो साता तत्कालीन शाहीसत्ताले मच्चाएको कुख्यात दोरम्बा हत्याकाण्डको स्मृति दिवस हो । रामेछाप जिल्लाको पश्चिमी भूगोलमा पर्ने दोरम्बा डाँडाकटेरीको उच्च पहाडी भूभागमा २०६० साल साउन ३२ गते शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएका शाही अमेरिकी सेनाका जल्लादहरूले सरकार–माओवादीबीच दाङको हापुरेमा संविधानसभालाई केन्द्र बनाएर भइरहेको वार्ता भंग गर्ने उद्देश्यले निहत्था माओवादी नेताकार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले नृशंश हत्या गरेका थिए । शाहीसत्ता र तिनका मतियारका रूपमा रहेका कांग्रेस–एमाले संविधानसभाको चुनाव चाहँदैनथे । उनीहरू संविधानसभाको चुनाव भएमा शाहीसत्तासँगै प्रतिक्रियावादी संसदीय व्यवस्था ढलेर जनसत्ता स्थापना हुने भन्दै त्यसका विरुद्ध थिए । जनगणतन्त्र नेपाल निर्माण गर्ने लक्ष्य राखेर महान् जनयुद्धमा लामबद्ध भएका माओवादी नेता, कार्यकर्ता र क्रान्तिकारी जनताले संसद्वादीहरूलाई राजतन्त्रका विपक्षमा मोर्चा बनाउने कार्यक्रमसहित पुँजीवादी नारा ल्याएको थियो संविधानसभाको चुनावको तर शाहीसत्ता, अमेरिकीलगायत विश्वका प्रतिक्रियावादी सत्ता र शासकहरू नेपाली जनताको हातमा न्यूनतम शक्ति पनि हस्तान्तरण भएको सहन सक्तैनथे । परिणामतः दुवै सत्ताका सेना आफ्नो क्याम्पबाट पाँच किलोमिटर टाढा नजाने सर्त उल्लंघन गर्दै रातारात जिल्ला सदरमुकाम मन्थलीबाट बीसौँ कोस टाढा दोरम्बा पुगेर क्रान्तिकारीहरूको नृशंश हत्या ग¥यो र वार्ता भंग गरायो । तत्कालीन शाही अमेरिकी सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा पुष्प, प्रदीप दोङ रक्तिम, अम्बिका दाहाल ललिका, संगीता, हर्कबहादुर तामाङ यथार्थ, रवि चौहान समीर, उमा कार्की सहारा, श्याम तामाङ इन्क्लाब, पदमराज गिरी असल, विष्णुमाया थापामगर बिमा, ठूलोराम तामाङ छोक्पा, सानोराम तामाङ तारा, लक्ष्मण तामाङ छाया, जमिन, सोम, विमला, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर विवेक, चतुर्मान थामी समर, उषासहित २१ जना क्रान्तिकारी नेता, कार्यकर्ता र माओवादी शुभेच्छुकहरूको बीभत्स हत्या ग¥यो । सोही घटनापछि दुईपक्षीय वार्ता भंग भएर माओवादी पुनः जनयुद्धमा गयो भने शाही अमेरिकी सेना राजतन्त्र लम्ब्याउने खेलमा लागेर पुनः युद्ध थोपर्न पुग्यो । दोरम्बा हत्याकाण्ड नेपालमा संविधानसभाको चुनावबाट राजतन्त्रको अन्त्य गर्ने वैधानिक बाटोको समेत विरुद्ध थियो । साम्राज्यवाद र उसका दलाल तथा मतियार हरूले माओवादी जनयुद्धलाई दमनबाटै सिध्याउन रचेको गम्भीर प्रपञ्च थियो । यो कुरा हत्याकाण्डमा सुराकीको काम गर्ने रेलीमाई तामाङ, भीमबहादुर तामाङलगायतले जनकारबाहीमा पर्नुअघि पार्टीको जनअदालतमा दिएको बयानबाट पनि प्रमाणित भएको छ । तर उक्त हत्याकाण्डका मतियार शाही अमेरिकी मेजर राममणि र कांग्रेसको डिकबहादुर तामाङहरू अझै पनि खुलेआम जनविरोधी हर्कत गर्दै हिँडेका छन् ।

जनताको आशा छ, एकीकृत जनक्रान्तिले जनयुद्धकालमा सामूहिक हत्याकाण्ड मच्चाउने राममणि र तिनका आदेशकर्ता तथा योजना निर्माताहरूलाई जनकारबाही गर्नेछ । जनगणतन्त्र नेपाल स्थापना गरेर समजवाद र साम्यवादसम्म पुग्ने सपना देख्दै आरम्भ गरिएको महान् जनयुद्धका क्रममा नेपाल आमाका दसौँ हजार सुन्दर छोराछोरीले बलिदान गरे । हजारौँ अंगभंग र बेपत्ता भए । हजारौँ घरबार र परिवारविहीन भए तर त्यत्रो त्याग र बलिदान गरेर आएको पार्टीको मूल नेतृत्व भनिएको प्रचण्ड–बाबुराम समूहले दलाली र गद्दारीको बाटो रोज्दै जनता, पार्टीनेता र कार्यकर्ताको बलिदानीमाथि धोका दिए र दुस्मनसामु आत्मसमर्पण गरे । आज प्रचण्ड, बाबुराम, ज्ञानेन्द्र शाह र हिजो क्रान्तिकारीको टाउकाको मोल तोक्ने शेरबहादुर देउवाहरू एउटै क्याम्पमा पुगेका छन् र मरणोन्मुख दलाल संसद्वादलाई ब्युँताउन विश्वप्रतिक्रियावादसँग भिक मागिरहेका छन् तर जनताको प्रतिरोधी चेतना नेकपा र एकीकृत जनक्रान्तिमा केन्द्रीकृत र ध्रुवीकृत हुँदै गएको छ । प्रचण्ड–बाबुराम समूह दलाल र गद्दार बनेपछि महान् जनयुद्धमा जनताले त्याग, शौर्य र बलिदान गरेर निर्माण गरेका जनसत्ता, जनसेना, हतियार, जनसरकार सबै विघटन गरिएको छ भने नेकपाले फेरि एकीकृत जनक्रान्तिको माध्यमबाट देश र सर्वहारा, श्रमिक, उत्पीडित वर्ग र देशको मुक्तिका लागि हिजो प्रचण्ड–बाबुराम समूहले विघटन गरेर प्रतिक्रियावादी वर्गसामु बुझाएको जनताको सत्ता नयाँ शिराबाट ब्युँताउँदै, निर्माण गर्दै एकीकृत जनक्रान्ति अघि बढाइरहेको अवस्था छ । महान् जनयुद्धले निर्माण गरेका जनताका नयाँ पर्वहरू (नयाँ वर्ष फागुन १, बेथान वीरता दिवस, अनेकोट सांस्कृतिक प्रतिरोध दिवस, रामवृक्ष स्मृति दिवस, वासु स्मृति दिवस, दोरम्बा हत्याकाण्ड स्मृति दिवस, फागुन १४–२१ सहिद सप्ताह, बेपत्ता योद्धा दिवस, इच्छुक स्मृति दिवसलगायत) प्रचण्ड–बाबुराम समूहले बिर्सिएको मात्र छैन, प्रायश्चितको शैलीमा भ्रष्टीकरण गर्दै गएको छ । अब जनताले त्याग, शौर्य र बलिदानबाट निर्माण गरेका यी दिवस र पर्वहरूलाई नयाँ उचाइमा उठाउने, एकीकृत जनक्रान्तिका क्रममा यी दिवसबाट शक्ति आर्जन गर्ने र जनताको मुक्ति नभएसम्म यसबाट प्रेरणा लिइरहने प्रण नेकपाले गरेको छ । दलाल संसद्वादी सरकारले जनताका हत्याराहरूलाई कारबाही गर्नु त परैको कुरा, झन् प्रोत्साहित गरेर फुली थपिरहेको छ । इच्छुक र दोरम्बाका योद्धाहरूका हत्याराहरूलाई दलाल सत्ताले फेरि क्रान्तिकारीहरूविरुद्ध दुरुपयोग गरिरहेको छ । प्रचण्ड समूहले तिनै देउवाहरूका मतियार बनेर क्रान्तिकारीहरूमाथि दमन गर्ने र सिध्याउने हिजैको बासी शैली अपनाइरहेको छ । इतिहास सहज बाटोबाट हिँडेको छैन । यो नौनी र कपासझैँ नरम पनि हुँदैन । दलाल सत्ताको अन्त्यका लागि हिजो जनताले प्राणको बाजी लगाएर बलिदानको बाटो राजेको कुरा प्रचण्ड समूहले पूरै नभुलेको हुनसक्छ । जनयुद्ध आरम्भ गर्दा लखन थापा, चिनियाँकाजी, भीमदत्त पन्त, झापा विद्रोहका सहिददेखि आजाद र २०४६ सालको आन्दोलनका सहिदहरूसम्मको त्याग, शौर्य र बलिदानबाट ऊर्जा थपिएको थियो । यो दलाल सत्ताको अन्त्य र यसको चिहानमा जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि दोरम्बा, बेथान, अनेकोटलगायत सबै मोर्चाका महान् सहिदहरूको शौर्यबाट शक्ति आर्जन गर्दै तिनीहरूको उच्च सम्मान गर्नुपर्छ । महान् दार्शनिक माक्र्सले भन्नुभएजस्तै वर्गसङ्घर्ष अघि बढाउन र सर्वहारावर्गको विजयका लागि हामीले चिहान खोतलेर सहिदका कंकाल निकाल्न पनि पछि पर्नु हुँदैन । हामीलाई दोरम्बाको बलिदानले सिकाएको पाठ हो यो ।
स्राते : रातो खबर साप्ताहिक

२०७४ साउन ३० गते १ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!