नेकपाले खुल्ला मञ्चमा एमसीसी विरुद्धको जनसभा गर्दै

नेकपाले खुल्ला मञ्चमा एमसीसी विरुद्धको जनसभा गर्दै

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध साेमबार भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्दैछ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित  बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बताइएको छ ।

खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जानकारी दिए । २० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभाका लागि हिजै मञ्च सजाइएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेटसहित जुलुसकाे तयारी गरिरहेको बताइएको छ ।

बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने आयोजकले जनाएको छ । 

एसीसीविरुद्ध देशभर साताव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपाले २८ गतेको जनसभालाई विशेष महत्वका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको कार्यक्रम बनाउने नेता माइला लामाले जनाएका छन् । यो कुनै पार्टी विशेषको कार्यक्रम मात्र नभएर एमसीसीको विरुद्धमा लाग्ने सबै देशभक्त, राष्ट्रप्रेमि र राष्ट्रिय स्वाधिनताकाे पक्षमा लाग्ने स्वाभिमानी नेपाली नागरिकहरुको कार्यक्रम भएकाले सम्पूर्ण देशभक्ति शक्तिहरु र नागरिकहरुलाई उपस्थित हुन नेकपाले अपिल गरेको छ ।

प्रचारप्रसार तथा प्रकाशन विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन‘ले पनि यो कार्यक्रम नेकपाको मात्र नभएर राष्ट्रिय स्वाधिनताको आन्दोलन समेत भएकाले सम्पूर्ण देशभक्ति, राष्ट्रप्रेमि, प्रगतिशील शक्तिहरु र देशको स्वाधिनताकाे रक्षा गर्ने नागरिक र मिडियाकर्मीहरुलाई जनसभामा सहभागि हुन आह्वान गरेका छन् ।

देशमा यतिबेला सत्ता र सरकारमा रहेका केही शासकहरु एमसीसी पास गराउन विभिन्न चलखेल र षड्यन्त्र गरिरहेका छन् भने अर्कोतिर एमसीसी खारेजीको लागि देशभक्ति, राष्ट्रवादी शक्तिहरु, पार्टीहरु, नागरिकहरु सडकमा दिनहुँ आन्दोलित भएका छन् ।

नेकपाले लामो समयदेखि एमसीसी खारेजीका लागि, राष्ट्रिय मुक्तिका लागि र देश र जनताको स्वाधिनताका लागि सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ । एमसीसीकै विरुद्ध साताव्यापी नेकपाले देशव्यापी आन्दोलनको कार्यक्रम अन्तरगत विरोध प्रदर्शन, कोणसभा, एमसीसी सम्झौता पत्र समेत जलाइसकेको छ । नेकपाका सबै जनवर्गीय सङ्गठन, मोर्चाहरू, देशभक्त, राष्ट्रप्रेमी नागरिकहरु एमसीसीविरुद्ध सडकमा आन्दोलित भइरहेको बेला हुन गइरहेको यो जनसभाको विशेष महत्व हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :