एमसीसीको विरोधमा नेपाली दूतावास, ब्रसेल्समा मोर्चाले ज्ञापनपत्र बुझायो

काठमाडौँ : आम नेपाली जनताले खारेज गरेको राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीको विरोधमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले नेपाली दूतावास, ब्रसेल्समा आज ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले संसदबाट एमसीसी पारित गर्ने षडयन्त्र गर्दै राष्ट्रघात र नेपाली जनताको वाक स्वतन्त्रतामाथि अंकुश लगाउने धम्की दिएपछि विश्वभरका देशभक्त र क्रान्तिकारीहरु आन्दोलित भएका छन् ।

नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङको नेतृत्वमा नेपाली दूतावास, ब्रसेल्स पुगेको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, -`एमसीसी कुनै एक सामान्य अमेरिकी परियोजना नभएर यो अमेरिकी सैन्य रणनीति इन्डोप्यासिफिक स्ट्रयाटेजीको एक अभिन्न अंग हो । यसले नेपालको सार्वभौम सत्ता माथि हस्तक्षेप गर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिमाथि प्रभाव पार्दै नेपाललाई द्धन्दमा फसाउने हुनाले यो परियोजनाको खारेजी अनिवार्य भएको छ । यो परियोजना लगानीको हिसाबले सानो भएपनि अमेरिकाले नेपालको संसदबाट नै पारित गराउनु पर्ने, त्यस अभियानलाई प्रभाव पार्ने उद्धेश्यले परियोजना पुर्वाधारकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणले पनि परियोजनालाई अमेरिकाले दिइरहेको महत्वको बारेमा बुझ्न सकिने उल्लेख गरेको छ । नेपाली जनताको न्यायिक आवाजलाई दमन गर्ने उद्देश्यका साथ मिति २०७८/०५/ १८ गते गृह मन्त्रालयबाट जारी गरिएको उक्त विज्ञप्तीप्रति संगठनको ध्यानाकर्षण भएको र नेपाली जनताको संघर्षबाट प्राप्त लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ ।`

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलले नेपाली जनताले खारेज गरेको र भोलि देशलाई गम्भीर द्वन्दमा फसाउने षड्यन्त्र भएको परियोजनालाई नेपालका नेताहरुले संसदबाटै वैधता दिनु खोज्नु लज्जाको विषय भएको बताए । देशमा एमसीसी विरुद्ध आन्दोलन र संघर्ष चलेको छ । देशको सार्वभौम सत्तामाथि हस्तक्षेप हुनथाले पछि प्रवासी नेपालीहरुले पनि सशक्त आवाज उठाउनु पर्ने बेला भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्