बारपाक सुलिकोट गाउँपालिका, गोरखाको प्रथम भेला सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका, गोरखाको प्रथम भेला सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गोरखाले बारपाक सुलिकोट गाउँपालिकाको प्रथम गाउँपालिका भेला सम्पन्न गरेको छ । शनिबार बसेको उक्त भेलाले क्षितिज गुरुङको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।

भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कृष्णप्रसाद वाग्ले ‘रुपेश’, अतिथि गोरखा जिल्ला सेक्रेटरी कपिल भट्ट ‘प्रतिक’ रहेका थिए ।

भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रुपेशले अहिलेको दलाल संसदीय व्यवस्थाभित्र विकास, समृद्धि, स्वास्थ्य, शिक्षा, रोजगारको क्षेत्रमा विकासको सपना देख्नु दिवासपना मात्र रहेको बताए । उनले यस व्यवस्था ‘बाहिर खसीको टाउँको झुन्ड्याएर भित्र कुकुरको मासु बेच्ने’ प्रवृत्तिको व्यवस्था रहेको बताए ।

यसैगरी उनले अब दल, नेता चुन्ने भन्दा पनि व्यवस्था नै चुन्नु पर्ने समय आएको बताएका छन् । उनले दलाल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाबीच जनमतसङ्ग्रह गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको बताए ।

नेता रुपेशले नालायक सरकार र दलाल पुँजीवादहरूले राष्ट्रघाती एमसीसी सम्झौता गरी देशलाई विकास तर्फ भन्दा देशका भौतिक संरचना, पुर्वाधार, खानी, खोला जस्ता पुर्वाधारको उपभोग गरी देशलाई रणमैदान बनाउने र अकुत सम्पत्ति आर्जन गरी देशलाई उत्तरसाम्राज्यवादको हातमा सुम्पि देशको अस्तित्व नै समाप्त गर्न लागेको बताए । उनले अब देशमा क्रान्तिकारी युवाहरूको खाँचो रहेको बताउँदै देशलाई कुनै पनि हालमा राष्ट्रघाती एमसीसी सम्झौता पास हुन नदिने र यसका लागि विद्रोह गर्न सम्पूर्ण युवाहरू तयार रहनसमेत अपिल गरेका हुन् ।

उक्त नवनिर्वाचित १३ सदस्यीय गाउँपालिका कमिटीलाई स्वागत तथा बधाई दिँदै नेपाल कम्युनिस्ट पार्टी गोरखा सेक्रेटरी कपिलले राष्ट्रप्रेमी क्रान्तिकारी युवाहरू एक हुनुपर्ने समय आएकोले राष्ट्रघाती कदमका विरुद्ध विद्रोह गर्न तयार रहनसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :