घण्टाकर्ण पर्वको मिथक र यथार्थ

अनिल शर्मा (विरही) नेकपा पोलिट ब्युरो सदस्य तथा प्रकाशन विभाग इन्चार्ज

हरेक वर्षजस्तै यस वर्ष पनि नेवार समुदायले काठमाडौँ, ललितपुर, भक्तपुरसहित नेवार बहुल क्षेत्रमा साँझपख गथामुग (घण्टाकर्ण पर्व मनाएका छन् । नेवार समुदायले गथामुगलाई समाजमा दुःख दिने पात्रका रूपमा चित्रण गर्दै दोबाटो चौबाटोमा लगी जलाएर यो पर्व मनाउने गर्दछन् । सर्वसाधारणले गथामुगलाई पिचासको संज्ञा दिन्छन् । गथामुगलाई बच्चाहरू मारेर खाने राक्षसका रूपमा चिनिन्छ ।

परालको गथामुग आकृति जलाएर त्यसको खरानीको टीका बच्चाहरूलाई लगाइदिने र राख नाघ्न लगाउने गरिन्छ । त्यसो गर्दा बालबालिकाको डर हराउने, रुन्चे घट्ने नेपाल रोग (कुपोषण) हट्ने जनविश्वास छ । गथामुग नामको कथित राक्षस स्त्रीलिङ्गी हो कि पुलिङ्गी ? त्यसमा एकरूपता देखिन्न । भक्तपुरमा नारी आकृतिको गथामुग पनि मनाउने चलन भने घट्दै गएको संस्कृतिविद्हरू बताउँछन् । भक्तपुर २, ब्यासीमा पुलिङ्गी र स्त्रीलिङ्गी दुईटै गथामुगलाई एकसाथ जलाउने गरिन्छ । ‘पहिले भक्तपुरका धेरै स्थानमा पुलिङ्गी र स्त्रीलिङ्गी गथामुगसँगसँगै बनाएर दोबोटो चौबाटोमा दहन गरिन्थ्यो । तर अहिले भक्तपुर नपा २ ब्यासीमा मात्रै यसले निरन्तरता पाउँदै आएको छ । “गथामुगलाई बस्तीबाट पर दोबाटो चौबाटोतिर सेलाउन लग्दै गर्दा अनेकौँ अश्लील गाली गलौजसमेत गरिन्छ”, संस्कृतिविद् ओमप्रसाद धौभडेल भन्छन् ।

घण्टाकर्ण पर्व

आजभोलि संस्कृतिविद्हरूले गथामुगबारे फरक धारणा राख्न थालेका छन् । यसलाई भैरव र अन्य देवताको प्रतीकका रूपमा हेर्न थालिएको छ । संस्कृतिविद् धौभडेलले घण्टाकर्णको भौतिकवादी व्याख्या गर्न खोजेका छन् । उनले गथामुग अन्य देवीदेवताको नाम सुन्न नचाहने नास्तिक, सुनलाई भन्दा फलामलाई महत्व दिने व्यक्ति र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र’ भनेका छन् । “विशेषगरी देवीदेवताको नाम सुन्नुपर्ला भनी हरहमेसा आफ्ना कानमा ठूलठूला घण्टा झुन्ड्याइराख्ने भएर उनको नाम घण्टाकर्ण भएको हो”, धौभडेलको भनाइ छ । घण्टाकर्णको इतिहास काठमाडौँमा शासन गरेका गोपालवंशी कालको पौराणिक कथा मानिन्छ । नेपाल संवत् ७९२ मा नेपालभाषाको गीतमा छ्वाली (गहुँको नल) को घण्टाकर्ण बनाएर दहन गरेको उल्लेख छ । नेपाल संवत् ८१८ मा भक्तपुर तलेजुस्थित मालतीचोकमा भेटिएको शिलापत्र पनि गथेमुगको प्रसङ्ग उल्लेख छ ।

घण्टाकर्णलाई राक्षस नभएको र एकजना जनपक्षीय तथा भौतिकवादी भएको स्पष्ट धारणा राख्ने विद्वान् भने शशी शेरचन (सोनाम साथी) हुन् । उनको नेतृत्वमा प्रकाशित पर्चामा धर्म र राजाका विरुद्ध उनले विद्रोह गरे । धर्म, ईश्वर, स्वर्ग नभएको र राजा जनविरोधी भएको उनको धारणा थियो । उनी कर्ममा विश्वास गर्थे र मानवसेवा नै धर्म ठान्थे । त्यसैले धार्मिक वचन सुन्न नपरोस् भनेर मन्दिरको बाटो हिँड्दा घण्टा बजाएर हिँड्ने गर्थे । त्यसको प्रभाव जनतामा पर्न थालेपछि तत्कालीन शासकहरूले उनको हत्या गरे । त्यसपछि उनको विद्रुपीकरण सुरु गरियो । राक्षसको रूपमा पर्व मनाउन थालियो । ‘नेपाले रोग’ भनेर चिनिने कुपोषणका कारण हुने ‘रुन्चे रोग’ लाई समेत यसैसँग जोड्ने चलन धेरैपछि आएको हो । हिन्दु बहुल क्षेत्रमा रावणलाई विदू्रपीकण गरेझैँ नेपाल खाल्डोमा घण्टाकर्णको विदू्रपीकरण गरियो । त्यसप्रकारको जनविरोधी र झूठो सन्दर्भलाई विद्वान् सोनाम साथीले उल्टाउनुभयो ।

२०४८ सालमा नेकपा (एकताकेन्द्र, नेकपा (एमाले सहितको सर्वदलीय बैठक थियो । साउनको महिनामा संयुक्त आन्दोलन चलिरहेको थियो । नेपाली कांग्रेसलाई घण्टाकर्णका रूपमा चित्रण गर्नुपर्ने प्रस्ताव नेकपा (एमाले बाट हुनासाथ तत्कालीन नेकपा (एकताकेन्द्रं का तर्फबाट वार्तामा सहभागी सोनाम साथीले घण्टाकर्ण राक्षस नभएको धारणा राखे । मुख हेराहेर भयो, नेकपा (एमाले का नेता कृष्णगोपाल श्रेष्ठले “हामी पनि घण्टाकर्णलाई कहाँ राक्षस मान्छौँ र ? जनताले राक्षसका रूपमा मनाउने भएको हुनाले आन्दोलनमा उपयोग गरौँ भनेको हो”, हतारहतार भनेका थिए ।

विचार आगोको फिलिङ्गो हो जुन बाहिर आउनासाथ भौतिक शक्तिमा परिणत हुन्छ । घण्टाकर्णका विषयमा शासक वर्गद्वारा हजारौँ वर्षदेखि संस्कारका रूपमा स्थापित गरिएको घण्टाकर्णको वास्तविकता प्रकट भएको छ । यसप्रकारको अध्ययनले श्रमिक वर्गलाई विगतको बलिदानलाई वर्तमानका प्रतिरोध आन्दोलनसँग जोड्न ठूलो भूमिका निर्वाह गर्छन् । हामी पनि गथामुग (घण्टाकर्ण पर्वका विषयमा आगामी वर्षदेखि नयाँ ढङ्गले सोच्ने कि ?

 

२०७४ साउन ३० गते ६ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!