कार्यदिशा र समाजवादी सत्ताको विकास : विप्लव

biplav
नेत्रविक्रम चन्द (विप्लव) नेकपा (माओवादी) महासचिव

१) भूमिका
‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप विकास गर्नु आवश्यक हुन्छ ।’
– लेनिन
लेनिनको उल्लिखित संश्लेषणलाई आत्मसात गर्दै यतिबेला मालेमावादी कम्युनिस्टहरूले दुईवटा अन्तरविरोध वा प्रश्नहरूको समाधान दिनुपर्ने भएको छ ः पहिलो, उत्तरसाम्राज्यवादमा विकास भएको पुँजीवादी राज्यसत्तालाई हल गर्ने र दोस्रो, बीसौँ सदीमा कम्युनिस्टहरूले बेहोर्नुपरेको समाजवादी सत्ता असफलताको समाधान दिने । यी दुई अन्तरविरोधले हामीलाई दुई विषयमा केन्द्रित गराएको छ ः पहिलो, उत्तरसाम्राज्यवाद र यसको संरक्षणमा बाँचेको दलाल पुँजीवादलाई समाधान गर्ने क्रान्तिकारी राजनीतिक कार्यदिशाको सवाल र दोस्रो, वैज्ञानिक समाजवादी सत्तालाई सफलतापूर्वक सञ्चालन गर्ने विचार र प्रणालीको सवाल । यी दुई सवालमा समाधान खोज्ने विषय सारतः मालेमाको विकाससँग नै सम्बन्धित विषय हुन् । तसर्थ हाम्रो निष्कर्ष छ ः मालेमालाई दह्रोसँग पकड्दै त्यसको थप विकास गर्नु आजको ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।
२) कार्यदिशा विकासको सन्दर्भ
उत्तरसाम्राज्यवादलाई हल गर्ने कार्यदिशाको विकास निकै जरुरी बन्न पुगेको छ । विगतमा पुँजीवादलाई परास्त गर्दा कम्युनिस्टहरूले प्रयोग गरेका दुईवटा कार्यदिशाको अनुभव हामीसँग छन् ः रुसमा लेनिनले प्रयोग गरेका जनविद्रोहको कार्यदिशा र माओले चीनमा प्रयोग गरेको जनयुद्धका कार्यदिशा । तीबाहेक क्युबाली क्रान्ति, भियतनाम तथा कोरियाका क्रान्तिहरू पनि आफ्नो ठाउँमा सफल कार्यदिशा हुन् तर ती कार्यदिशाहरू रुस र चीनका विशेषताभित्र नै समाहित छन् । लेनिनले रुसमा क्रान्ति गर्दा पुँजीवाद साम्राज्यवादमा विकास हुँदै थियो ।

पुँजीवादका केन्द्रहरू सहर थिए र श्रमिक वर्ग मजदुर थियो । श्रमिक वर्गभित्र किसान पनि पथ्र्यो परन्तु शोषणको केन्द्रमा मजदुर वर्ग र सहरहरू अगाडि थिए । सङ्घर्ष पनि मालिक र मजदुर वर्गका बीचमा थियो । सत्ता सञ्चालनमा मालिक वर्ग प्रत्यक्ष रूपले संलग्न थियो । मजदुरहरू ठूलो सङ्ख्यामा कारखानामा काम गर्थे । लेनिनले कारखानालाई ‘ब्यारेक’ पनि भन्नुभएको थियो । त्यसैले लेनिनले क्रान्तिको कार्यदिशा निर्माण गर्दा पुँजीवादभित्रको मजदुर वर्गलाई निर्णायक र किसान वर्गलाई सहयोगी वर्ग बनाएर जनविद्रोहको कार्यदिशा निर्माण गर्नुभयो । यसको सफल प्रयोगले रुसमा क्रान्ति सम्पन्न भयो । माओले चीनमा क्रान्ति गर्दा विश्वको मूल प्रवृत्ति पुँजीवादी हुँदाहुँदै पनि सामन्तवादी एवम् अर्धसामन्तवादी आर्थिक तथा राजनीतिक व्यवस्थाहरू पनि थिए ।

चीन त्यस्तै एक उत्पीडित देश थियो । चीन श्रमिक वर्गका रूपमा मजदुर भए पनि मुख्य श्रमिक शक्ति किसान थियो । चीनमा मुख्य सङ्घर्ष किसान र सामन्तहरूका बीचमा थियो । किसान वर्गको केन्द्र गाउँ थियो । त्यसैले क्रान्तिको कार्यदिशा गाउँबाट सत्ता निर्माण गर्दै सहरलाई जित्ने कार्यदिशा वैज्ञानिक हुन्थ्यो । माओले त्यही विचारको विकास गर्दै जनयुद्धको कार्यदिशा प्रयोग गर्नुभयो र चीनमा क्रान्ति सफल गर्नुभयो ।आज हामी जुन विश्वमा छौँ र क्रान्तिको परिकल्पना गरिरहेकाछौँ यो निकै बदलिएको छ ।

आजको विश्व लेनिन र माओल संश्लेषण गरेको साम्राज्यवादी विश्वमा छैन, निकै फरक ठाउँमा छ । उत्तरसाम्राज्यवादको विकासले विश्वको आर्थिक, राजनीतिक,सांस्कृतिक, प्राविधिक आदि क्षेत्रमा निकै नयाँ विशेषताहरूका जन्म दिएको छ । यो वस्तुस्थितिमा क्रान्तिको कार्यदिशा नयाँ भएर मात्र उत्तरसाम्राज्यवाद र दलाल पुँजीवादलाई परास्त गर्न सम्भव छ भन्ने हाम्रो ठम्याइ छ । वस्तुस्थिति नयाँ भइसक्ने त्यसलाई बदल्ने कार्यदिशा पुरानै भइरहँदा वस्तु र चेतना अलगथलग हुन पुग्छन् र क्रान्ति मनोगत समस्याको मारमा पर्छ ।

नयाँ वस्तुस्थितिमा पुरानै कार्यकदिशालाई जोड दिनु भनेको विद्युतीय यन्त्रको समस्या हल गर्न वाष्पइन्जिनको प्राविधिक ज्ञान प्रयोग गर्नुजस्तो हुन्छ । माओको भाषामा यसलाई ‘जुत्ताअनुसार खुट्टा काट्ने’ सिद्धान्त भनिन्छ । हामीले उत्तरसाम्राज्यवादविरुद्ध नयाँ कार्यदिशा विकासको आवश्यकताबारे सोचिरहँदा उत्तरसाम्राज्यवादका नयाँ आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक विशेषताहरूबारे उल्लेख गर्न आवश्यक छ ।
३) उत्तरसाम्राज्यवादमा विकास भएका

२० औँ सदीको अन्त्यदेखि उत्तरसाम्राज्यवादको विकास हुन पुगेको छ । यसको अर्थ हो– उत्तरसाम्राज्यवादलेआर्थिक, राजनीतिक, सांस्कृतिक सम्बन्धहरूलाई बदलेको छ । आपूmअनुकूलका नयाँ सम्बन्धहरू विकास गरेको छ ।
हामीले नयाँ विचार र कार्यदिशा विकासको महत्वलाई पकड्न उत्तरसाम्राज्यवादले विकास गरेका आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक आदि क्षेत्रमा नयाँ हेरफेर र सम्बन्धहरूलाई बुझ्न आवश्यक छ जो निम्नानुसार रहेका छन् ः
क) नयाँ अर्थ सम्बन्धको विकास
ख) नयाँ राजनीतिक सम्बन्धको विकास
ग) विज्ञान र प्रविधिको उच्च विकास
घ) सैन्य शक्तिको विकास
ङ) नयाँ समाजको विकास
च) नयाँ वर्गको विकास
छ) नयाँ संस्कृतिको विकास
ज) उच्च सूचना प्रविधिको विकास
क) नयाँ अर्थसम्बन्धको विकास
उत्तरसाम्राज्यवादको विकासले अर्थसम्बन्धमा नयाँ विशेषताहरूको जन्म दिएको छ । ती विशेषताहरू पुँजीवादी, साम्राज्यवादी र सामन्तवादी व्यवस्थाका विशेषताहरूभन्दा फरक छन् जो निम्नानुसार रहेका छन् ः
१) निगम पुँजीको विकास
२) भूमण्डलीक्रित एवम् गतिशील चरित्र
३) समन्वयकारी रूपको प्रयोग
४) श्रम र स्रोतमाथिको नियन्त्रण
५) उपभोगवादी बजारको विकास
१) निगम पुँजीको विकास
निगम पुँजीको विकास ८० को दशकबाट अगाडि आएको हो । यो साम्राज्यवादको नयाँ अर्थनीतिसँग जोडिएको छ । विगतका नीतिहरूले काम नचलेपछि वा अपूर्ण बन्न पुगेपछि पुँजीपति वर्गले आफ्नो आर्थिक ाधिकारलाई बलियो पार्न र चारैतिर फैलाउन निगम पुँजीको विकास गरेको हो । निगम पुँजीको मूल चरित्र भनेको एउटै डालोभित्रबाट एकीकृत योजनाद्वारा सम्पूर्ण क्षेत्रलाई नियन्त्रण गर्ने रहेको छ । यसले एकै ठाउँबाट पुँजीको उत्पादन, विनिमय र वितरणलाई परिचालन गर्छ ।

चाहे कारखानाहरू होस्, चाहे बैङ्क होस्, चाहे बजार, चाहे विज्ञापन, सूचनामाध्यम (रेडियो, टीभी, पत्रिका, अनलाइन आदि) चाहे कार्यकारी सरकार, कर्मचारी, पार्टीहरूलाई नै होस्, सबैलाई सञ्चालन गर्छ । पछिल्लो समयमा अमेरिकाको ओबामा सरकार र भारतको मोदी सरकारको निर्माण र सञ्चालन पनि निगम पुँजीवादले गरिरहेको विश्लेषण गरिएको छ । मोदीको चुनाव र विजयलाई त खुलेआम अम्बानी ग्रुपसँग जोडेर गरिएको छ । निगम पुँजीको चरित्रलाई हेर्दा यसलाई भोको अजिङ्गरसँग तुलना गर्न सकिन्छ जसले अगाडि परेका सबै जीवलाई आहारा बनाउँछ ।

२) भूमण्डलीकृत र गतिशील चरित्र

उत्तरसाम्राज्यवादी पुँजीको अर्को विशेषता यसको भूमण्डलीकृत एवम् गतिशील चरित्र हो । यो यति तीव्र गतिमा क्रियाशील छ कि कुनै पनि समय कुनै पनि स्थानमा सजिलै पुग्नसक्ने र फर्किनसक्ने गरी यसको परिचालन गरिरहेको छ । फाइदा हुन्छ विश्वको कुनै पनि कुनामा पुग्छ भने फाइदा नहुने स्थितिमा सुविधा सम्पन्न सहरहरूबाट पनि पछि फर्किन पुग्छ । उदाहरणका लागि अमेरिकामा तयार गरिने बैङ्क, आईएमईका संरचना फाइदा हुने स्थितिमा नेपालको हुम्लामा पनि अर्को दिन आइपुग्छ, फाइदा हुने छैन भने काठमाडौँमा पनि नरहन सक्छ । मुनाफा नै यसको मुख्य विशेषता हो ।

३) समन्वयकारी रूपको प्रयोग

उत्तरसाम्राज्यवादले विकास गरेको पुँजीको अर्को रूप समन्वयकारी चरित्र हो । यो रूप प्रयोगमा ल्याउनुका पछाडि समाजवादी अर्थनीतिको प्रभाव देखापर्छ । मुनाफा एक्लै कुम्ल्याउँदा वर्गसङ्घर्ष तीखो बन्ने अनुभवबाट सिक्दै मुनाफाको सानो हिस्सालाई श्रमिक वर्गको सुविधामा प्रयोग गर्ने विधिका रूपमा यसलाई प्रयोग गरिएको छ । यसलाई उनीहरूले लोककल्याणकारी नाम दिने गरेका छन् । यसको उद्देश्य मुनाफा पनि होस्, सङ्घर्ष पनि नहोस् भन्ने रहेको देखिन्छ । केही उद्योगहरूमा त श्रमिक वर्गलाईसमेत सेयर बाँडी सामूहिक स्वामित्वको नारा दिएर श्रमिक वर्गमाथिको शोषणलाई वैधानिक रूपले पूरा गरेको पाइन्छ । परन्तु यो समन्वयकारी रूपको प्रयोग सार पनि पुँजीपति वर्गले मुनाफा कुम्ल्याइरहने सँग रहेको छ । क्रमशः…
स्रोत ः जनक्रान्ति–२

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!