भारतीय हस्तक्षेपविरुद्ध मोरङको सलकपुरमा विरोध प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध मोरङको सलकपुरमा विरोध प्रदर्शन

मोरङ : नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन र अखिल क्रान्तिकारी मोरङको संयुक्त आयोजनामा भारतीय हस्तक्षेपविरुद्ध मोरङको सलकपुरमा विरोध प्रदर्शन सम्पन्न भएको छ । प्रदर्शनमा नेपाली सीमाक्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरुद्धमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा युवा सङ्गठन नेपालका युवा नेताले भारतीय शासकहरूले नेपालको स्वाधिनता, अखण्डता र भारतीय हस्तक्षेपविरुद्ध निर्मम सङ्घर्ष र प्रतिरोध गर्ने बताए । उनले नेपालको दलाल संसदीय व्यवस्थाका दलाल मतियार र नाईकेहरूले भारतको दादागिरी हेरेर मात्र बस्ने र विदेशीको गुलाम भएर बस्ने बाहेक केही काम नभएको बताए । नेपालको सिमा क्षेत्रमा देखिएका समस्या र नेपालमाथि गरेको अतिक्रमणलाई देशव्यापी सङ्घर्षमा लाने बताएका थिए ।

युवा सङ्गठन नेपाल मोरङका अध्यक्ष आकाशको नेतृत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मोरङ जिल्ला मजदुर संयोजक भानु प्रदेशीले गरेका थिए । मोरङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य निर्मल, जिल्ला पार्टी सेक्रेटरी नरेश, युवा सङ्गठनका अध्यक्ष आकाश, मोरङ्ग विद्यार्थी संयोजक आकाश र सबै जबसका नेता कार्यकर्ता, बुद्धिजीवी, पत्रकारहरू र सर्वसाधारण समेतको उपस्थिति रहेको थियो ।

सलकपुर बजारक्षेत्रमा वैज्ञानिक समाजवाद जिन्दावाद !, भारतीय हस्तक्षेप बन्द गर !!, एमसीसी सम्झौता खारेज गर !, जयसिंह धामीलाई न्याय दे !! लगायत नाराहरू गुञ्जिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :