उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी होइनन् : शितल

उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी होइनन् : शितल

घोराही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शितलले उत्पीडित वर्गको पक्षधरता नभएका पार्टी कम्युनिस्ट पार्टी नहुने बताएका छन् । नेकपा दाङ घोराही उप–महानगर र बङ्गलाचुलीको संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शितलले उत्पीडित वर्गको पक्षधरता र दलाल पुँजीपति वर्गको पक्ष धरताको आधारमा कम्युनिस्ट पार्टी छुट्याउनु पर्ने समेत बताए । ‘यो संसदीय व्यवस्था भनेको पुँजीवादी व्यवस्था हो, उनले भने‘ दलाल पुँजीवादी अर्थ प्रणाली भएका पार्टीहरू कम्युनिस्ट होइनन् र संसदीय व्यवस्थामा जाने अनि कम्युनिस्ट पार्टीको नाम राख्ने ठिक भएन् । कम्युनिस्टको दृष्टिकोण राष्ट्रवादी हुनुपर्ने हो, तर नाममात्रका कम्युनिस्टहरू राष्ट्रघाती भए ।’

लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका राष्ट्रघाती सम्झौता गरि सत्ता टिकाउन खोज्ने यो संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने पार्टीको स्पष्ट उद्देश्य रहेको स्पष्ट धारणा राखे । वैज्ञानिक समाजवादले प्रत्यक्ष चुनावबाट राष्ट्रको प्रमुख कार्यकारी चुन्ने र पैसाबाट चुनाव लड्ने परिपाटीलाई अन्त्य गर्ने र समाजवादमा सुन्दर समाज निर्माण गर्ने उनले बताए ।

हामीले वर्ग सङ्घर्षको कुरा उठाउँदा, भ्रष्टचारीलाई कालोमोसो दल्दा, सरकारलाई कर नतिर्ने एनसेललाई कारवाही गर्दा संसदीय दलाल पुँजीवादीहरू डराएर पार्टीलाई दमन गरेर सिध्याउने उद्देश्यले प्रतिबन्ध लगाइयो । तर, प्रतिबन्धको बीचमा पनि पार्टी झनै सशक्त भएको देखेर सरकारले पार्टीको तीनबुँदे सहमति हुवहु लागू गरि सम्झौता गरिएको उनले प्रष्ट पारे ।

प्रमुख अतिथि शितलका अनुसार संसदीय व्यवस्थाभित्र नामधारी कम्युनिस्ट, काङ्ग्रेस, राजावादी लगायत अरू पार्टीहरू पनि छियाछियाको अवस्थामा रहेका छन् । सरकारसँग गरेको तीनबुँदे सहमतिमा धेरैको टिकाटिप्पणी, सङ्काउपसङ्काहरू आइरहेको त्यसमा जो कोही अलमलमा नपर्न र सरकारसँग भएको सम्झौताले क्रान्तिलाई सफल तुल्याउने उनले बताए । नेपालको व्यवस्था कस्तो बनाउने भन्ने बारेमा जनतालाई अधिकार दिनुपर्ने समेत उनले बताए । प्रगतिशील संयुक्त सरकारमा जाने र त्यसबाट जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद व्यवस्था स्थापना गर्ने उनको भनाई थियो ।

पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य लिएर अगाडि बढेको हुनाले यो दलाल संसदीय व्यवस्थामा वैज्ञानिक समाजवाद ठिक कि संसदीय व्यवस्था भन्नेमा जनमतसङ्ग्रह भए पार्टीले सहज जित हासिल गर्ने पनि उनले बताए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा दाङ विशेष कमिटीका सेक्रेटरी सुन्दरले संसदीय व्यवस्था भनेको केही सिमित व्यक्तिका लागि मात्र भएको बताए । नेपालमा अहिले १३ जना व्यक्तिको लागि संसदीय व्यवस्था चलिरहेको समेत उनले बताए । गाउँ, सडक र शहरमा सङ्घर्ष गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत अगाडि बढ्ने र संसदीय व्यवस्थालाई ध्वस्त पारी वैज्ञानिक समाजवाद स्थापना गर्ने विषयमा जनतासँग आफूहरूले स्पष्ट राख्नुपर्ने उनको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा दाङ विशेष कमिटीका सदस्य विक्रमले पार्टीको मुख्य उद्देश्य भनेको वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने भएको बताए । पार्टीको कुरा लिएर जनतामाझ जाँदा विभिन्न चुनौतीहरू आइपर्ने भएकाहुँदा ती चुनौतीहरूलाई पार्टीका लिडरहरूले सहजै पार गर्नका लागि लिडरहरू मानसिक रुपमा तयार भएर जानुपर्ने बताए । त्यस्तै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । पार्टी भित्रका सम्पूर्ण सदस्यहरू वैज्ञानिक समाजवादको बारेमा स्पष्ट हुनुुपर्ने उनले बताए । पार्टीले सञ्चालन गर्न लागेको अभियानको मुख्य उद्देश्य भनेको एक सुदृढ सङ्गठन निर्माण गर्ने र नमूना गाउँ बनाउने रहेको समेत उनले बताए । जनतामा नेता फर्काउने पार्टीको योजना भएकाले सबैजना संगठनमा एकतावद्ध भएर जनसम्बन्ध विस्तारका लागि अभियानमा जोडिनुपर्ने र पार्टीको आस्था र विचारलाई जनतामाझ स्पष्ट रुपमा राख्नुपर्ने उनको भनाई थियो ।

नेकपा घोराही उप–महानगर तथा बङ्गलाचुली गाउँपालिकाको संयुक्त आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भएको हो ।

नेकपा दाङ घोराही उप–महानगरपालिका इन्चार्ज तिलक योगीको अध्यक्षता एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा दाङ विशेष कमिटीका सेक्रेटरी सुन्दर, विशेष कमिटीका सदस्य बिक्रम, नेकपा दाङ जिल्लाका सेक्रेटरी प्रदीप, पार्टीका सल्लाहकार निमबहादुर घर्ती र मधुसूदन गिरी, बङ्गलाचुली गाउँपालिकाका इन्चार्ज भिमबहादुर राना, घोराही उप–महानगरपालिका, बङ्गलाचुलीका वडाका इन्चार्ज, सेक्रेटरी, पार्टीका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य मोतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पार्टीका सदस्य अनिल केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :