“एकचोटी देश जनमतसङ्ग्रहमा जाने हो भने अवश्य हामीले जित्छौँ ।” : महासचिव विप्लव

“एकचोटी देश जनमतसङ्ग्रहमा जाने हो भने अवश्य हामीले जित्छौँ ।” : महासचिव विप्लव

मकवानपुर : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । मकवानपुर जिल्लाको मनहरी–३, सुकौरामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्यता थियो भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आस्था, असल र मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको आतिथ्यता रहेको थियो ।

बैठकमा अनेम सङ्घ क्रान्तिकारीका सम्पूर्ण केन्द्रीय सदस्यहरूले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए । रिपोर्टिङका क्रममा उठेका विविध विषयवस्तु र प्रश्नहरूको समीक्षात्मक जवाफ दिँदै बैठकका प्रमुख अतिथि विप्लवले आफ्ना सन्तानका पहिलो शिक्षकको रूपमा स्थापित, सिङ्गो घरव्यवहारका सञ्चालक हरेक महिला वर्गको समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका रहने बताए । महिलाहरू आफ्ना दर्दनाक समस्या बोकी जतासुकै भौतारिएता पनि त्यसको समाधान केवल नेपाल कम्युनिस्ट पार्टी र यसले लक्षित गरेको व्यवस्था वैज्ञानिक समाजवादमा मात्र हुने बताए । पुँजीवादी व्यवस्थाका कारण गाउँघर, समाज र राष्ट्रमा अन्याय, अत्याचार र उत्पीडनमा परेका महिलाहरूको नेतृत्व गर्दै दलाल संसदीय व्यवस्था उपर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका निमित्त क्रान्तिकारी दृष्टिकोण समात्नुनै बाहिरका अन्य महिलाहरूको तुलनामा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएका महिलाहरूको गुणात्मक अन्तर रहेको बताए । हिजोका दिनदेखि नै असफल हुँदै आएको पुँजीवादी व्यवस्थाले जनता र देशको निकास गर्न सकिँदैन । एकाध दलाल पुँजीवादी व्यक्तित्वहरू बाहेक हरेक युवा, विद्यार्थी, महिला, किसान, मजदुर, कर्मचारी, बुद्धिजीवी कोही पनि सन्तुष्ट नभएको र यसको विकल्प खोजिरहेको बताए । त्यसैले एकचोटी देश जनमतसङ्ग्रहमा जाने हो भने अवश्य हामीले जित्छौँ अर्थात् वैज्ञानिक समाजवादको पक्षमा अधिक मत आउँछ र नेपाल कम्युनिस्ट पार्टीको जीत हुन्छ । यही जनमत तयार गर्नका लागि नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरू व्यापक रुपमा जनताको घरदैलोमा पुगि जनताले बुझ्न कठिन विषयवस्तुलाई स्पष्ट पार्नुपर्ने बताए ।

त्यस्तै वैज्ञानिक समाजवाद स्थापना गर्न, त्यसको रक्षा गर्न, त्यसलाई टिकाउन र साम्यवाद प्राप्तिको एकमात्र मार्ग बनाउन आवश्यक राज्य व्यवस्थाको आधार उत्पादन प्रणाली मजबुद बनाउन वैज्ञानिक समाजवादी अर्थशास्त्रको सिद्धान्तमा टेकेर उत्पादन कार्यमा जोड दिनुपर्ने बताए । त्यस्तै महासचिव विप्लवले एकदिन जरूर क्रान्ति सफल हुन्छ, जनमतसङ्ग्रह मार्फत अथवा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना हुन्छ भन्ने कुरामा कुनै शंका उपशंका नगरी दृढ विश्वासका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्न अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई अनुरोधसमेत गरेका छन् ।

सुकौरामा बसेको बैठकले वैज्ञानिक समाजवादी व्यवस्थामा महिलाहरूको अधिकारका विषयहरूमा छलफल गरि निष्कर्ष निकालेको छ । साथै जाँड/रक्सी, जुवातास, लागुऔषध, वेश्यावृत्ति तथा महिला हिंसा र बलात्कारविरुद्ध सङ्घर्ष गर्ने, राष्ट्रिय सम्मेलनले पास गरेका नाराहरू वालिङ्ग गर्ने विषय सम्बन्धि निर्णय गरेको छ । यसरी भाद्र १६ गते सङ्गठनका केन्द्रीय अध्यक्ष बन्धु चन्दको अध्यक्षतामा सुरु भएको अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ भाद्र १७ गते समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :