नेपाली युवाले श्रम होइन, सीप बेच्न तयार हुनुपर्छ : कञ्चन

मध्यपूर्व मोर्चाको प्रथम सम्मेलन आयोजक समिति गठन

नेपाली युवाले श्रम होइन, सीप बेच्न तयार हुनुपर्छ : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग इन्चार्ज कञ्चनको प्रमुख आतिथ्यमा भदौ ११ गते (२७ अगस्त, २०२१) नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वको भेलाले प्रथम सम्मेलन आयोजक समिति गठन गरेको छ । जुम भर्चुअलमार्फत कतार मोर्चा सल्लाहकार समिति संयोजक रमेश गिरीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन बहराइन मोर्चाका महासचिव मीनराज नाथले गरेका थिए ।

भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कञ्चन, राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, पार्टी केन्द्रीय सदस्य तथा जनसमाज भारतका अध्यक्ष आजाद सेन, विदेश विभाग सचिव खगेन्द्र केसी, युरोप मोर्चा अध्यक्ष विष्णु भुजेललगायत विश्वभरिका मोर्चा प्रतिनिधिले भेला सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

सहिदहरूको सम्मानमा मुठी उठाएर मौनधारण गरी सुरु गरिएको कार्यक्रममा कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत बजाइएको थियो । प्रमुख अतिथि कञ्चनले कसैको आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर देखाउन सुझाव दिएका थिए । नेता कञ्चनले १७ सदस्यीय नवगठित समिति घोषणा गर्दै समितिलाई बधाई तथा शुभकामना दिएका थिए । मन्तव्यकै क्रममा प्रमुख अतिथि कञ्चनले अब विश्वबजारमा नेपाली युवाहरूले श्रम होइन, सीप बेच्न तयार रहनुपर्ने बताएका थिए ।

पार्टी केन्द्रीय सदस्य तथा जनसमाज भारतका अध्यक्ष आजाद सेनले मध्यपूर्व मोर्चालाई मजदुरका मुद्दामा केन्द्रित रहेर अगाडि बढ्न र नेपालमा एकीकृत जनक्रान्तिको वातावरण तयार गर्दै अगाडि बढ्न सुझाव दिएका थिए ।

तीनजना सदस्य पछि थप्ने गरी बनाइएको मध्यपूर्व मोर्चाको १७ सदस्यीय कार्यसमितिमा संयोजक रमेश गिरी र सदस्यहरुमा भीम केरुङ बहराइन, मीनराज नाथ बहराइन, धनञ्जय जोशी बहराइन, रमेश गिरी बहराइन, रेशम पौडेल कतार, श्रीकृष्ण भट्टराई कतार, जयकिशोर पोद्दार कतार, रविन पुन कतार, युवराज कार्की साउदी, टीकाराम ओली साउदी, विपीन शर्मा साउदी, मनोज काउचा यूएई, धीरज न्यौपाने यूएई रहेका छन् ।

समितिका निर्वाचित सदस्यहरूले सङ्गठनको गरिमा, भैपरी आउँदा उद्धारमा सहयोग गर्नुका साथै देशभित्रै युवाहरूलाई रोजगारयुक्त बनाउन लागिपर्ने बताएका थिए ।

नेपाली मजदुरहरूका पक्षमा निरन्तर सङ्घर्ष गर्ने प्रतिबद्धतासहित पार्टी अनुशासनलाई फलामे किल्ला मानेर आन्तरिक छलफलबाट नै व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष रमेश गिरीले भेला समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :